यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई

काठमाडौँ, २६ पुस । आगामी माघ ५ गतेदेखि मलेसियामा हुने यू–१९ महिला विश्वकप खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ । उनीहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा नेपाल क्रिकेट संघ(क्यान)ले बिदाई गरेको हो । खेलाडीहरू भोलि त्यसतर्फ प्रस्थान गर्नेछन् ।

शुक्रबार काठमाडौँमा आयोजित महिला यू–१९ क्रिकेट टोलीलाई बिदाईको क्रममा मन्त्री चौधरीले जित्छु भन्ने विश्वासका साथ खेल खेल्न आग्रह गर्दै नेपालको राम्रो छाप छाडेर आउने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘विश्वकपमा नेपालको एउटा राम्रो छाप छोडेर आउनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ । त्यसमा पनि तपाईहरुको प्रतिभा अगाडि बढाइ राख्नुभएको छ । नडराइकन जानु, राम्रो खेल्न सक्छु, जित्न सक्छु भन्ने सोचका साथ जानु ।’

यसका साथै उहाँले वर्तमान समयमा विद्यालय स्तरमा क्रिकेटको बढी लोकप्रियता बढेको भन्दै प्रत्येक जिल्लामा १० वटा तालिम सेन्टर खोल्ने प्रयासमा सबै लाग्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रत्येक जिल्लामा १० वटा तालिम सेन्टर खोल्न सक्यो भने प्याब्सन, सरकार, मन्त्रालयले त्यसमा सहयोग गर्न सक्यो भने धेरै खेलाडी उत्पादन हुन सक्छ । विद्यालय स्तरमा अझ खेलको धेरै सम्भावना छ । त्यसकारण विद्यालयमा खेल सञ्चालन गर्नका लागि क्यानलाई आग्रह गर्न चाहन्छु ।’

सोही क्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्काले पहिलो खेल भएको हुँदा आरामले क्षमता अनुसारको खेल खेल्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *