काठमाडौँ, १२ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई निराशाको खाडलबाट बाहिर निकाल्ने प्रयत्न गरिरहँदा राम्रो भएको देख्न नचाहनेहरु प्रशस्तै रहेको बताउनुभएको छ ।
शनिबार राष्ट्रिय कार्यकर्ता भेला २०८१ मा बोल्नुहुँदै उहाँले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकार चलाएर राम्रो काम गरिरहेको समयमा राम्रो भएको देख्न नचाहने, सधैँभरि अस्थिरतामा रमाउन खोज्नेहरुको कमी नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जतिबेला मुलुक निराशाको खाडलबाट बाहिर निकल्ने प्रयत्न गरिरहेको छ । मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्ने जमर्को भइरहेको छ र नेपालका उद्योगी व्यवसायीहरु अब नेपालमा नै केही हुन्छ कि भनेर आशा प्रकट गरिरहेको अवस्था छ । यही सन्दर्भलाई ध्यानमा राखेर पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका राम्रो काम देख्न नचाहने सधैँभरि अस्थिरतामा रमाउन खोज्ने, नेपाललाई अस्थिरताको दलदलमा फसाइरहन चाहने प्रवृत्तिका व्यक्तिहरु फेरि एकपटक सलबलाएर एमाले र त्यसको नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी एवम् आक्रमण गरिरहेका छन् ।’
साथै उहाँले नेकपा (एमाले)को नेतृत्वले सरकारले जनतामा आशा जगाएको बताउनुभयो । उहाँले सरकारले जनतामा आशा सञ्चारित गरेको र विकास र निर्माणका कामहरुले तीव्रता पाइरहेको बताउनुभयो ।