बारा, १२ माघ । बारा प्रहरीले धार्मिक स्थलमा उच्छृखलता प्रदर्शन गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित विश्व प्रसिद गढीमाई मन्दिरमा आएका दर्शनार्थीलाई अमर्यादित क्रियाकलाप गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सो घटनामा संलग्नलाई पक्राउ गरिएको पुष्टि गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको बृन्दावन नगरपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय एजाज अन्सारी, महागढीमाई नगरपालिका वडा नम्बर १ बस्ने १९ वर्षीय अरमान अन्सारी र ३६ वर्षीय विधा सागर पटेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाका अनुसार सिसिटिभी फुटेजको आधारमा पहिचान गरी तीनै जनालाई पक्राउ गरिएको हो ।
विश्व प्रसिद गढीमाई मन्दिरमा पञ्च वर्षीय मेला चलिरहेको अवस्थामा मन्दिरका दर्शनार्थीले चढाउन ल्याएका परेवा लुट्ने, मन्दिरको घन्टी, पंखा, त्रिशुल, सिसि क्यामरा, दान पेटिका र गढीमाई मन्दिरको विवाह मण्डप समेत तोडफोड गरी क्षति पुर्याउने कार्यमा संलग्न रहेको उहाँले जानकारी दिनुभयो ।
प्रहरीलाई समेत डयुटीमा बाधा पारी उच्छृङ्खल क्रियाकलाप गरेको सूचनाका आधारमा सो घटनामा संलग्न भएका व्यक्तिहरुलाई पहिचान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेका तीनैजनालाई प्रहरी हिरासतमा राखी घटनाको थप अनुसन्धान भइरहेको बारा प्रहरीले जानकारी दिएको छ ।