दाङ, १२ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अगाडि बढाउनका लागि लगातार प्रयास गरिरहेको बताउनुभएको छ ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमनपछि आयोजित कार्यक्रममा उहाँले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासका लागि बजेटको व्यवस्था, भवनका लागि बजेटको व्यवस्था, एमबिबिएसको लागि कक्षा सञ्चालन गर्ने प्रक्रियाको बारेमा प्रतिवद्धता गरी सबै व्यवस्था गरेका बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकालाई अगाडि बढाउन हामी लगातार प्रयास गरिरहेका छौँ । यसको स्थापना कालमा ऐन निमार्णको समयमा पनि हामीले प्रतिष्ठानसम्बन्धी ऐन बनाउन जोड दियौँ । यो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासका लागि बजेटको व्यवस्था, भवनका लागि बजेटको व्यवस्था, एमबिबिएसको लागि कक्षा सञ्चालन गर्ने प्रक्रियाको बारेमा प्रतिवद्धता गरी सबै व्यवस्था गरेका छौँ । झण्डै ३० करोड बजेटको व्यवस्था गर्यौँ । हाम्रो तर्फबाट यो प्रतिष्ठानको चौतर्फी विकासका लागि निरन्तर प्रयास भइरहेको छ ।’
यसको साथै उहाँले प्रतिष्ठानमा माओवादीको नेतृत्वमा थप ४ सय बेडहरु थप्ने प्रक्रिया सुरु भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो नेतृत्वमा थप ४ सय ओटा बेडहरु थप्ने प्रक्रिया सुरु भएको हो । अब चार सय बेड थपिँदा यहाँ साढे ७ सय बेड भएपछि मात्र अहिलेको यो बिरामीको चापलाई सम्बोधन गर्न सकिन्छ भने महसुस गरेको छु । यसको विकासका लागि म सदन र सरकारमा यो विषयलाई गम्भीर रुपमा उठाउँछु ।’