काठमाडौँ, १३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिलेको राजनीति जनतातिर नभएर विदेश र मालिकहरुतिर फर्किएको बताउनुभएको छ ।
आइतबार काठमाडौँमा आयोजित नेकपा धुवीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले मुठ्ठीभरको स्वार्थमा राज्यको नेतृत्व गर्ने राजनीतिज्ञहरु डुल्दा नेपालको गणतन्त्र जनताको बन्न नसक्दा थुप्रै समस्याहरु खेप्न परेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘देशमा सबैभन्दा ठुलो समस्या अहिले राजनीतिमा देखा परेको छ । राजनीति जनतातिर फर्किएन । राजनीतिक आन्दोलनको संघर्षको बेलासम्म जनतासम्म फर्कियो तर निर्माणको बेला, जनतालाई साथै लिएर यात्रा गर्ने बेला वा देश विकास गर्ने बेला राजनीति जनतातिर होइन विदेशतिर फर्कियो । मालिकतिर फर्कियो । मुठ्ठीभरको स्वार्थमा राज्यको नेतृत्व गर्ने राजनीतिज्ञहरु डुले । नेपालको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेन । त्यसैले आजका थुप्रै समस्याहरु खेप्न परेको छ ।’
त्यस्तै, उहाँले नेपालका मध्यमवर्ग, वुद्धिजीवी र व्यवसायी आफ्ना मित्र रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले नेपाली जनताको मन छामेका छौँ । नेपालका मध्यमवर्ग, वुद्धिजीवी र व्यवसायी हाम्रा मित्र हुन् । नेपालले विदेशबाट चामल बेसाएर खाने होइन, गरिब देशलाई सहयोग गर्ने चाहना छ । नेपालका हरेक व्यवसायीलाई विश्वस्त पार्न चाहन्छौँ, प्रतिबन्ध पनि झेल्यौँ ।’
त्यस्तै, उहाँले अहिले आफ्नो पार्टीका कोही पनि नेता कार्यकर्तालाई घरमा खाना खाने समस्या नरहेको दाबी समेत गर्नुभयो ।
साथै उहाँले विदेशबाट चामल आयात गर्नुपर्ने अवस्थालाई हटाएर गरिब देशलाई सहयोग गर्ने चाहनाले भोलि (सोमबार) काठमाडौँको बुढानीलकण्ठमा व्यापारिक केन्द्र खोल्न लागिएको पनि जानकारी गराउनुभयो ।