काठमाडौँ, १५ माघ । नेकपा (एमाले)को अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने बताउनुभएको छ ।
मंगलबार एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले सरकारले ढलिहाल्छ भन्ने भ्रमपूर्ण अभिव्यक्तिहरु आइरहेको भन्दै उहाँले ०८४ को चुनावसम्म अहिलेकै सरकार जाने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, दिनैपिच्छे सरकार ढल्छ, बेलुका वा साँझसम्ममा ढल्छ ढल्छ, राति नै ढल्छ । भोलि नै ढलेन भने पर्सिलाई सार्ने गरिन्छ । तर, ०८४ को निर्वाचनपछि सरकार ढल्छ । ०८४ को निर्वाचनमा परिणाम आएपछि कसरी जान्छ भन्ने कुरा त्यहीबेला थाहा हुन्छ । सरकार मंसिरमा ढल्छ, भनेको मान्छेहरुले अस्ति गएको मंसिर बुझेछन् । ०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ । त्यो भन्दा अगाडि ढल्दैन ।’
यस्तै, उहाँले आफ्नो श्रीमतीको नाममा स्वीस बैंकमा पैसा राखेको भनेर झुटो प्रचारप्रसार भइरहेकोमा आपत्ति जनाउनुभयो ।
उहाँले भन्नुभयो,‘मैले टिकटकमा हेर्दै थिए । एउटा मानिसले बोलेको रहेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमतीको नाममा ४१ करोड रुपैयाँ स्वीस बैंकमा जम्मा गरेको छ भनेर आफैँले आश्चर्य मान्नुपर्छ ।’
त्यस्तै, उहाँले सरकारले ल्याएका अध्यादेशमार्फत् बन्ने कानुन देश विकासमा सहयोगी बन्ने बताउँदै अध्यादेशबाट देशभित्र बसेर केही गर्छु भन्ने युवाहरू धेरै खुसी भएको बताउनुभयो ।