पछिल्लो समय विश्वभर नै मुटुरोगीको संख्या बढेको छ । नेपालमा पनि पछिल्लो समय मुटुरोगको समस्या बढ्दै गएको छ । मधुमेह, उच्च रक्तचाप र मोटोपनको समस्या बढ्दा मुटुरोगबाट पीडित हुनेको संख्या पनि बढेको विज्ञहरु बताउँछन् ।
यस्तोमा नेपालमा मुटुसम्बन्धी के कस्ता समस्या बढी देखिएको छ ? कुन उमेर समूह मुटुरोगको जोखिममा छन् ? लगायतका विषयमा कार्डियो भास्कुलर सर्जन डा. सञ्जीतकुमार शाहसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानी :
नेपालमा मुटुसम्बन्धी के कस्ता समस्या बढी देखिएको छ ?
नेपालमा मुटुसम्बन्धी समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । विशेषगरी हृदयघात, मुटुको भल्ब र नसामा समस्या बढी देखिएको छ ।
मुटुको समस्याको मूल जड के हो ?
मुटुको समस्याको मूल जड भनेको हाम्रो खानपान र जीवनशैली नै हो । आजभोलि हामीले खाने खानेकुरा एकदमै धेरै अशुद्ध भइरहेको छ । जंकफुड र प्याकिङ खाना खाने बानीको पनि विकास भइरहेको नै छ । मान्छेहरूलाई धेरै आराम चाहिएको छ । व्यायाम गर्ने बानी छैन, जसले गर्दा मुटुरोग बढ्दै गइरहेको छ । मुटुरोग लाग्नबाट कसरी बच्ने भन्ने जनचेतनाको कमी पनि यसको मूल जड हो ।
दैनिक कम्तीमा एक घण्टा हिंड्नु मुटुको स्वास्थ्यको लागि राम्रो हो भनिन्छ । तर समतल बाटोमा एक घण्टा हिंड्नु र उकालो बाटोमा एक घण्टा हिंड्नु एउटै कुरा होइन भनेर पनि सिकाउनुपर्छ ।
उच्च रक्तचाप, मधुमेह र मोटोपन जस्तो समस्या भएका व्यक्तिमा मुटुरोगको समस्या देखिने सम्भावना बढी हुन्छ । किनभने कुनै व्यक्तिलाई उच्च रक्तचाप छ उसले त्यसलाई नियन्त्रण गर्न सकेन भने त्यसले मुटुको नसाहरुमा गएर ब्लकेज गर्छ र रक्तसञ्चारमा असर गरेर मुटुलाई दबाब दिएर मुटुरोग लाग्ने सम्भावना हुन्छ ।
खानपान, जीवनशैली र दूषित वातावरणले मुटुको रोग लाग्छ भन्ने हो ?
हो, मुटुरोगको प्रमुख कारण नै अस्वस्थकर खानपान, जीवनशैली र दूषित वातावरण हो । हाम्रो खाने तेलदेखि हरेक कुरामा मिसावट छ । दूषित वातावरणले फोक्सोमा असर गर्छ र त्यसले गर्दा पनि मुटुमा समस्या निम्तिन सक्छ । फोक्सो खराब भयो भने नसाहरु साह्रो हुन थाल्छन् र त्यो अवस्थामा मुटुले बेस्सरी पम्प गर्नुपर्ने हुन्छ । जसले मुटुको काम बढ्छ र मुटुमा परिवर्तन आउँछ, यसबाट हृदयघातको समस्या पनि हुनसक्छ ।
कस्तो खानपान र जीवनशैलीले मुटुमा समस्या ल्याउँछ ?
बजारमा पाइने रेडिमेड खाना, लामो समयदेखि प्याकेटमा प्याक गरिएको खानेकुरा, मसालेदार खानेकुरा र मःम पिज्जा जस्ता जंकफुडको कारण मुटुमा समस्या ल्याउँछ । जीवनशैलीको कुरा गर्ने हो भने धेरै जना अहिले अफिसमा बसेर काम गर्छन् । केही समय फुर्सद भयो भने खाटमा पल्टिहाल्ने बानी हुन्छ । व्यायाम गर्ने, हिंडडुल गर्ने बानी हराउँदै गएको छ । तर त्यस्तो गर्नु गलत हो । व्यायाम नगर्ने, शुद्ध र घरमा बनेको खाना नखाने पसलको प्याक गरिएको खाना बढी खाने व्यक्ति मोटोपनको सिकार हुन्छन्, यसका कारण मुटुको समस्या पनि देखा पर्छ ।
मलाई त अब आउने पुस्ताको पो चिन्ता लाग्छ । अहिलेको बालबालिकालाई जंकफुडको बानी बसेको छ । अहिले हाम्रो पुस्तामा नै मुटुरोगीको संख्या बढेको छ भने अबको १० देखि १५ वर्षमा के होला भन्ने चिन्ता लाग्छ ।
चुरोट, मदिरा जस्ता कुराले मुटुमा के कस्तो समस्या ल्याउँछ ?
चुरोट र मदिराले नसाको धमनीका भित्तालाई साह्रो बनाउँछ । जसले गर्दा मुटुमा प्रेसर पर्छ र मुटुले छिटोछिटो काम गर्न थाल्छ । यसबाट नसा झन् साह्रो हुने वा ब्लक नै पनि हुनसक्छ ।
मदिराको सेवनपछि त्यो शरीरमा गएर बोसो बनेर जम्छ र मोटोपन बढाउँछ । मोटोपन बढ्दै जाँदा बोसो धेरै जम्यो भने त्यसले पनि मुटुमा समस्या ल्याउन सक्छ ।
कुन उमेर समूह मुटुरोगको जोखिममा छन् ?
नेपालको सन्दर्भमा ३० देखि ५० वर्ष उमेर समूहमा मुटुरोगको जोखिम बढी छ । किनकि अहिले नेपालका ३० देखि ५० वर्ष उमेर समूहका मानिसहरू कुनै न कुनै रुपमा जंकफुड खान्छन् । धुम्रपान र मद्यपान गर्नेहरूको संख्या पनि बढेको छ ।
अन्य देशको तथ्यांक हेर्ने हो भने चाहिं ५५ वर्ष भन्दा माथिको उमेर समूह मुटुरोगको जोखिममा छ ।
मुटुरोगको मूल जटिलता के हो ?
मुटुले राम्ररी काम गर्न छोड्यो भने प्रेसर एकदमै बढ्छ । त्यसकै कारण मिर्गौला, आँखा र मस्तिष्कमा धेरै दबाब पैदा गर्छ र त्यसलाई बिगार्न सक्ने सम्भावना बढ्छ । मुटुमा रगत जम्यो र मुटुले पम्प गर्दा त्यो त्यहाँबाट उछिट्टिएर मस्तिष्कमा पुग्यो भने रक्तसञ्चार रोकिएर मस्तिष्कघात हुनसक्छ । त्यो मिर्गौलामा पुग्यो भने मिर्गौलालाई पनि बिगार्छ । त्यसैले मुटुरोगको उपचार समयमा नै गर्नुपर्छ ।
प्रतीकात्मक तस्वीर
मुटुमा के कस्ता जन्मजात समस्या हुन्छ ? यसको उपचार के हुन्छ ?
जन्मजात मुटुको समस्या देखिनुको मुख्य कारण त वंशाणुगत नै हो । अर्को यदि गर्भवती महिलाले बच्चालाई असर गर्ने कुनै औषधिको सेवन गरेको छ भने पनि जन्मजात मुटुको समस्या देखिन्छ । जन्मजात देखिने मुटुको समस्याको कुरा गर्ने हो भने चाहिं मुटुमा प्वाल हुने समस्या, मुटुको संरचनात्मक त्रुटि जस्ता समस्या बढी देखिन्छ ।
बच्चाहरूमा जन्मजात हुने मुटुरोगको उपचार गर्ने धेरै नयाँ नयाँ प्रविधि छन् । उदाहरणको लागि मुटुमा चारवटा कोठा हुनुपर्नेमा जन्मिंदा तीनवटा मात्र कोठा छ भने त्यसमा शल्यक्रिया गरेर नयाँ कोठा बनाउन सकिन्छ । त्यस्तै मुटुसम्बन्धी समस्याको पनि शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ ।
उच्च रक्तचापले मुटुमा कस्तो समस्या निम्त्याउँछ ?
उच्च रक्तचापले मुटुलाई धेरै काम गर्ने वा काम गरेको नपुग्ने बनाउँछ । मुटुले धेरै काम गर्दा मुटुलाई दबाब भएर पनि खराबी हुने भयो, मुटुले काम गरेको पुगेन भने पनि समस्या हुने भयो । जसले गर्दा पनि मुटुरोग लाग्नुमा उच्च रक्तचापलाई कारक मानिन्छ । मुटुको समस्यामध्ये हृदयघात हुने कारणमा उच्च रक्तचाप बढी मात्रामा पर्छ ।
उच्च रक्तचाप र मधुमेह जस्ता समस्या भएका व्यक्तिमा मुटुरोगको समस्या देखिने सम्भावना बढी हुन्छ ?
उच्च रक्तचाप, मधुमेह र मोटोपन जस्तो समस्या भएका व्यक्तिमा मुटुरोगको समस्या देखिने सम्भावना बढी हुन्छ । किनभने कुनै व्यक्तिलाई उच्च रक्तचाप छ उसले त्यसलाई नियन्त्रण गर्न सकेन भने त्यसले मुटुको नसाहरुमा गएर ब्लकेज गर्छ र रक्तसञ्चारमा असर गरेर मुटुलाई दबाब दिएर मुटुरोग लाग्ने सम्भावना हुन्छ । मधुमेह र मोटोपनको कारणले पनि मुटुको चलमा समस्या देखिने र हृदयघात हुने सम्भावना हुन्छ ।
मुटुको के कस्ता रोगको उपचार सम्भव छ ?
नेपालमा मुटुरोगको सबै उपचार त सम्भव छैन । तर धेरै समस्याको भने समाधान छ । विश्वका अन्य देशमा मुटु प्रत्यारोपण पनि गरिन्छ । हाम्रोमा भने मुटु प्रत्यारोपणको सुविधा हाललाई छैन । मुटुको भल्ब बिग्रिएको र मुटुमा ब्लकेज भएको छ भने त्यसको उपचार भने सम्भव छ । मुटुको भल्ब फेर्न र मुटुमा भएको ब्लकेज हटाउने जस्ता उपचार सम्भव छ ।
सरकारले मुटुरोगको उपचारमा धेरै सहुलियत पनि दिएको छ । १४ वर्ष भन्दामुनि र ६५ वर्ष भन्दामाथिको वृद्धवृद्धालाई सम्पूर्ण उपचार निःशुल्क व्यवस्था गरिदिएको छ । मुटुको भल्ब फेर्नुपर्यो भने निःशुल्क भल्बको पनि व्यवस्था गरेको छ । त्यसैले मुटुको उपचारमा त्यति धेरै समस्या छैन ।
मुटुको रोग लाग्नै नदिन के गर्ने ?
हरेक व्यक्तिले आफ्नो मुटु कस्तो अवस्थामा छ भनेर कम्तीमा वर्षमा एकपटक मुटुको अवस्था जाँच गर्नपर्छ । हामीले आफ्नो खानपान र जीवनशैली सुधार्नुपर्छ ।
नियमित व्यायाम गर्ने, बाहिरको खाना कम खाने, नुन, चिल्लो र चिनी कम खाने, तनाव नलिने, चुरोट नखाने र मोटोपन नियन्त्रणमा राख्ने काम आफैंले गर्न सकियो भने धेरै हदसम्म युवा उमेरमै हुने मुटुरोगबाट बच्न सकिन्छ ।
रिस, ग्लानि, आवेग, डर, क्रोध जस्ता भावनात्मक स्थितिले मुटुमा कुनै समस्या ल्याउँछ ?
रिस, ग्लानि, आवेग, डर र क्रोध जस्ता भावनात्मक स्थितिले मुटुमा असर गरिरहेको हुन्छ । भावनाहरूले रगतमा र नसामा ‘क्याटाकोलामाइन’ भन्ने हर्मोन उत्पादन गर्छ । यो हर्मोनले हाम्रो दुःख र सुखलाई छुट्याउँछ, डर, रिस, आवेगमा मुटुको चाल बढ्छ । जसरी असन्तुलित मानसिक स्थितिले शरीरको अन्य अंगलाई असर गर्छ, त्यसरी नै मुटुलाई पनि असर गर्छ ।
भावनासँग मुटुको कस्तो सम्बन्ध हुन्छ ?
मन भनेको के हो हामी कसैले देखेका त छैनौं । तैपनि मनको चित्रण गर्दा मुटु भनेर धेरैको दिमागमा आउँछ । त्यो भनेको हाम्रो भावना हो । जति बेलासम्म हाम्रो जीवन रहन्छ त्यति बेलासम्म हाम्रो मुटु धड्किइरहन्छ । कहिलेकाहीं मस्तिष्क पनि सुत्छ । तर मन सधैं चल अवस्थामा हुन्छ । हाम्रो भावना जबसम्म रहन्छ तबसम्म मुटु चल्छ ।
मन र मुटुको कुनै नाता छ ?
मन र मुटुको केही न केही नाता त अवश्य छ । किनकि मुटुको अप्रेसन गर्दा मैले केही बिरामीको मुटु हातमा लिएको हुन्छु । त्यो बेला हातमा लिएको मुटुले केही भनिरहेको छ जस्तो लाग्छ मलाई यो मेरो मनले महसुस गरेको कुरा हो । बिरामी मान्छेको मुटुले मलाई छिटो निको पार्देऊ भनेको जस्तो लाग्छ । मेरो मन र त्यो बिरामीको मन र मुटुको कुनै नाता जोडिए जस्तो लाग्छ । यो भावनात्मक अदृश्य कुरा हो ।
हाम्रो मनको स्थितिले मुटुमा कुनै प्रभाव पार्छ ?
मनको स्थितिले पनि मुटुमा प्रभाव पर्छ । हर्षमा हुनुहुन्छ भने मुटुले पनि आनन्द अनुभव गरेर शान्त हुन्छ आफ्नै गतिमा धड्किन्छ । तर मनमा एकदमै त्रास छ भने छिटो छिटो धड्किन्छ । त्यसैले मनको स्थितिले मुटुको चाललाई धेरै प्रभाव पर्छ ।