जाडोमा निमोनियाः बेवास्ता गरे खतरनाक हुनसक्छ

    निमोनियाको कारण बर्षेनी धेरै बालबालिकाको मृत्यु हुने गर्छ । बुढाबुढी, रोगीहरुका निम्ति समेत निमोनिया निकै जोखिमपूर्ण मानिन्छ । जाडोको मौसममा, धूँवाधुलोमा, दम वा खोकी लागेको अवस्थामा निमोनिया हुने खतरा हुन्छ । कतिपय अवस्थामा नियमोनियाले ज्यान लान सक्छ ।

    बर्षेनी लाखौंको मृत्यु

    निमोनियाबाट मृत्यु हुनेमा वार्षेनी लाखौको मृत्यु हुन्छ । त्यसमा धेरैजसो पाँच बर्षभन्दा कम उमेरका हुन्छन् । साथै ६० वा सो भन्दा बढी उमेरका बुढाबुढी यहि रोगको कारण मर्ने गरेका छन् ।

    अमेरिका जस्तो विकसित देशमा पनि वाषिर्क ५० हजारको ज्यान लिइरहेको यो रोगबाट हाम्रो देशमा वाषिर्क कति जाना मारिन्छन् भन्ने ठोस तथ्यांक छैन । यद्यपी निमोनियाको कारण बर्षेनी हजारौंको मृत्यु हुने कुरामा शंका छैन ।

    विश्वको परिपेक्ष्यमा निमोनिया रोगबाट वाषिर्क ४५ करोड मानिसहरू संक्रमित हुने गरेका छन् । संक्रमित हुने मध्येका ४० लाख व्यक्तिहरू यहि रोगको कारण ज्यान गुमाउन बाध्य छन् ।

    के हो निमोनिया

    फोक्सोको तन्तुहरू संक्रमितभई फोक्सोमा देखा परेको प्रदाहत्मक स्थितिलाई चिकित्सकीय भाषामा निमोनिया भनिन्छ ।

    निमोनियाको संक्रमण रोग जाडो मौसममा बढी हुने गर्दछ । समयमै पहिचान गरेर यथोचित उपचार हुन नसके ज्यानै पनि जान सक्छ । फोक्सोको तन्तुहरूमा ब्याक्टेरिया, भाईरस, फङ्गस -ढुसीको) वा परिजिविहरूले आक्रमण गरिदिदाँ फोक्सो संक्रमित भई देखा परेको प्रदाहत्मक रोगावश्यालाई चिकित्सकिय भाषामा निमोनिया भनिन्छ । अधिकांश स्थितिमा निमोनिया हुदाँ फोक्सोको क्रियात्मक इकाई आल्वियोलाई -फोक्सोको तन्तु र रक्तकेसिका बिच प्राण वायुको आदान प्रदानहुने थैली) संक्रमित हुने गर्दछ ।

    स्वस्थ्य अवश्थामा हावा भरिएका यि आल्वियोलाईहरू संक्रमण पश्चात पानी र कफ जमेर सुन्निन थाल्छ । तत्काल चिकित्सकिय व्यवस्था हुन नसके निमोनिया फोक्सोको अधिकांश हिस्सामा फैलियर फोक्सोले काम गर्न नसक्ने अवस्थामा आउँछ र व्यक्तिको मृत्यु हुन्छ ।

    किन हुन्छ ?

    निमोनियाको मुख्य कारण भनेको व्याक्टेरिया, भाइरस, ढुसी, माईकोप्लास्म वा परजीविहरुको संक्रमण हो । किटाणुहरूको अलावा छातीको चोटपटक, फोक्सोको घाउ तिव्र रसायनहरुको धुवा, आत्मघाती प्रतिरक्षा प्रणाली र औषधीहरुको एलर्जीका कारणले पनि निमोनिया हुनसक्छ ।

    कुन अवस्थामा बढी जोखिम ?

    १) जाडो र वर्षाको मौसम

    २) धुवा, धुलो फोहोरमैला र प्रदुषित वातावरण ।

    ३) दाउरा, गुईठा जस्ता बायोमास जलाइने नेपाली चुलो

    ४) धुम्रपान र मध्यपान ।

    ५) दम, पुरानो खोकी र क्यान्सर जस्ता फोक्सोको रोग ।

    ६) कमजोर प्रतिरक्षा प्रणाली ।

    ७) मृगौला एवं कलेजोको गम्भिर रोगहरू ।

    ८) ठेउला दादुरा र लहरे खोकी जस्ता रोगको प्रकोप ।

    ९) टि.बी., एच.आई.भी., एड्स, मधुमेह, क्यान्सर र मुटुको रोग

    १०) ग्याष्ट्रिकको औषधीको दीर्घकालिन सेवन

    ११) ५ वर्ष भन्दा मुनि र ६० वर्ष भन्दा माथिको उमेर

    कसरी थाहा पाउने ?

    निमोनिया हुँदा तिब्र ज्वरो आउने, चिसोको महसुस हुने, छाती दुख्ने, थकानको महसुस हुने, खोकी लाग्ने, खोक्दा हरियो वा खैरो रंगको खकार आउने र कहिले काहि खकारमा रगत पनि देखिने गर्दछ ।

    फोक्सोको संक्रमण भएकाले श्वास प्रश्वासमा समस्या, गहिरो श्वास लिन खोज्दा छातीमा सोला हान्ने श्वासको दर र हृदय गती बढ्ने आदि लक्ष्ण पनि देखा पर्दछ ।

    उपरोक्त लक्षणका साथै थकान महसुस हुने, जोर्नीहरू दुख्ने, ओठ कलेटी पर्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने वा उल्टी हुने रक्तचाप घट्ने, टाउको दुख्ने, मन परिवर्तन भइरहने र मानसिक क्षमत घट्ने र होस हराउने जस्ता लक्षण पनि देखा पर्दछ ।

    निमोनियाको वर्गीकरण

    निमोनियालाई वर्गीकरण गर्ने आधारहरू धेरै छन् । संक्रमण गर्ने किटाणुहरुको आधारमा निमोनियालाई
    – व्याक्टेरियाले हुने निमोनिया
    – भाइरसले हुने निमोनिया
    – ढुसी ले हुने निमोनिया
    – माइकोप्लास्मले हुने निमोनिया
    – परजीविले हुने निमोनिया गरेर ५ प्रकारमा वर्गिकरण गरिएको छ ।

    यसैगरि निमोनिया सल्किने स्थानको आधारमानिमोनियालाईः

    – अस्पतालबाट फैलने निमोनिया यो निमोनिया अस्पतालमा भर्ना भएका विरामी वा उसले प्रयोग गरेको ब्याक्तिगत वा चिकित्सकीय सामाग्री प्रयोग गर्दा वा सल्किने अस्पतालको वातावरण प्रयोग गर्दा सर्दछ ।

    – समुदायबाट फैलने निमोनिया समुदायबाट सल्किने निमोनिया भन्नाले अस्पताल भन्दा बाहिरको वातावरणमा भएका किटाणुहरुको संक्रमणले गर्दा लाग्ने निमोनिया हो ।

    निमोनिया सल्किने तरिकाको आधारमा पनि निमोनियालाई दुई समूहमा वर्गिकृत गरिएको छ ।

    एस्पिरेसन निमोनिया: थुक खकार निल्दा वा खानेकुरा र पेय पदार्थ सर्किएर फोक्सो तिर पस्दा हुने निमोनियालाई एस्पिरेसन निमोनियाभनिन्छ ।

    भेन्टिलेटर जनितनिमोनिया: भेन्टिलटर प्रयोग गर्दा सल्किने निमोनियालाई भेन्टिलेटर जनित निमोनिया भनिन्छ ।

    निमोनियाले फोक्सोमा पारेको प्रभावको आधारमा
    लोवार निमोनिया
    ब्रोंको निमोनिया
    इन्ट्रस्टेसियल निमोनिया गरेर तीन समुहमा वर्गिकृत गरिएको छ

    के छ त उपचार ?

    निमोनियाको प्ररंभिक निदान विधि भनेको लक्षण र चिन्हहरूको विश्लेषण एवं क्लिनिकल परीक्षण हो । उच्च ज्वरो आएको, खोकी लागेको, खोक्दा खकार आउने, छाती दुख्ने, श्वासको गति बढेको, चिसो महसुस भएको एवं छाती भारी भएको थकाई लाग्ने, १ सय २० प्रतिमिनेट भन्दा उच्च नाडीगति, ३० प्रतिमिनेट भन्दा उच्च श्वासगति र कमजोर मानसिकता विकसित हुँदै गइरहेको भए निमोनियाको आसङ्का गरि तुरुन्त चिकित्सक कहाँ पुगिहाल्नु पर्दछ ।

    रोगको किटान यकिन गर्नका लागि भने रक्तकोषहरुको गणना, सेरम इलेक्ट्रोलाइटको मापन, सी. रिएक्टिभ प्रोटिनको मापन, पल्स अक्सिमेट्री, कलेजो र मृगौलाको कार्य परीक्षण, छातीको एक्स रे वा सी.टी. स्क्यान खकारको जाँच ब्रोङ्कोसकोपी र कहिलेकाही प्लूरल ˆलूईडको परीक्षण पनि गर्नु पर्ने हुन सक्छ ।

    निमोनियाको उपचार

    निमोनिया संक्रामक रोग भएकोले उपचार गर्दा रोगको कारण, संक्रामक किटाणुको प्रकृति, रोगको गम्भिरता र लक्षण एवं चिन्हहरूको विश्लेषणको आधारमा उपचार अगाडि बढाईन्छ ।

    निमोनिया ब्याक्टेरियाहरुको संक्रमणले लागेको भए एब्टिवाइटिक्स औषधिहरू चलाईन्छ साथै ज्वरो, खोकी र नातागतको पनि छुट्टै औषधि दिईन्छ । ब्याक्टेरियाको संक्रमणले हुने न्यूमानिया भाइरसको संक्रमणले हुने निमोनियाभन्दा चाडै ठिक हुन्छ तर रोग ठिकभए पनि औषधिको पुरै कोर्स पुरा गर्नुपर्छ बिचमा छोड्नु हुदैन । बिचैमा औषधि छोडिदिदा रोगका किटाणुहरूपुरै मरिसकेका हुदैनन् । साथै यी किटाणुले औषधिप्रति प्रतिरोध क्षमता पनि विकास गरि सकेका हुन्छन् । यसो हुँदा रोग फेरि बल्झिन्छ र ज्यादा भयावह बनेर प्रकट हुन्छ । साथै फेरि उपचार गर्दा एण्टिबाइटिकले पनि कामगर्दैन ।

    न्यूमानिया भाइरसहरूको कारणले भएको भए एण्टिभाइरल औषधिहरूद्धारा उपचार अगाडि बढाउनु पर्ने हुन्छ । भाइरल निमोनिया ब्याक्टेरिलनिमोनियाभन्दा लामो समय लिएर ठिक हुन्छ । भाइरल निमोनियामा ज्वरो, खोकी, थकान आदि भए यथोचित औषधिहरू पनि दिनु पर्ने हुन्छ ।

    निमोनिया भएको पाइएमा सकभर अस्पताल भर्ना भएरै उपचार गराएको राम्रो हो । त्यसमापनि रोगी ५ वर्ष भन्दा कम उमेरका बालबालिका वा ६० वर्ष माथिका जेष्ठ नागरिक भए अस्पताल भर्ना गर्न आवश्यक हुन्छ । बयस्कमा पनि श्वासको गति १ मिनेटमा ३० पटक भन्दा माथिगएमा, नाडीको गति १२० पटक प्रतिमिनेट भन्दामाथिगएमा रक्तचाप घट्न थाले र शिथिलता बढ्दै गएमा अस्पताल भर्ना गर्नुपर्ने हुन्छ ।

    निमोनियाको उपचार गर्दा मुख्य रुपमा रोग उत्पन्न गराउने किटाणुको पहिचान गरेर त्यस विरुद्ध औषधि चलाईन्छ । यो रोगको लक्षणको रुपमा देखा परेको ज्वरो, खोकी नातागत आदिलाई पनि यथोचित औषधि दिएर समन गर्ने प्रयास गरिन्छ । औषधिको कोर्स सामान्यतया १० देखि १५ दिनको हुन्छ । औषधि लिए पश्चात केहीदिन मै आरामभए जस्तो भएपनि औषधि पुरा कोर्स खानु पर्दछ ।

    यो रोगका रोगीले उपचार अवधिभर आरामगर्ने र शारिरीक र मानसिक रुपमा पूर्ण रिल्याक्स रहनु पर्छ । कफज्यादा बढेमा नेबुलाइजरको प्रयोग गरेर निकाल्नु पर्ने पनि हुन्छ । खानामा हल्काफुल्का सुपाच्य भोजन लिनुपर्ने हुन्छ । झोलिलो खानेकुराले पनि यो रोग समन गर्न मद्धत गर्दछ । तसर्थ तरकारीको रस, दालको झोल, ताजा जुस एवं तरकारीको सुप, मह पानी, नरिवलको पानी आदिको सेवन पनि पनि यो रोगको लागि हितकर छ । पानीको बाफ लीदाँ पनि श्वास मार्गलाई ओसिलो बनाई श्वास फेर्ने सजिलो बनाउँदछ ।

    कसलाई बढी खतरा

    यथोचित र बेलैमाउपचार गर्न सके निमोनियाले त्यति बिगार गर्देन तर बेलैमा सहि उपचार सुरु नहुँदा रोगका किटाणुहरू रगतमा फैलिएर सेप्टिसिमियाको अवश्था आउनसक्छ र ज्यान पनि जान सक्छ । यसै गरी फोक्सोको धेरै स्थानमा पानी जम्दा प्रयाप्त अक्सिजन नपुगेर पनि मान्छे मर्न सक्छ ।

    यदि रोगी पाँचवर्ष मुनिको बालकहो वा ६० वर्षको माथिको जेष्ठ नागरिक हो वा प्रतिरक्षा प्रणाली कमजोर भएको, मृगौला, कलेजो मुटुरोगी र क्यान्सरको रोगी, स्टेरोइड थेरापी लिइरहेको, एच.आइ.भी. बाट संक्रमित भएको, वा ठूलो चोटपटक लागेको मान्छे हो भने उनिहरूमा यो रोग ज्यानमारा पनि हुन सक्छ ।

    रोकथामको उपायहरू

    १. यो रोगबाट बच्ने उपाय भनेको किटाणुहरुको संक्रमणबाट बच्नु हो । खासगरी रुघा खोकी लाग्दा केहीदिनमा रुघा खोकी ठिक नभए डाक्टरलाई देखाई हाल्नु पर्छ ।

    २. ठेउला, दादुरा जनै खटिरो वा फ्लुको संक्रमण भएको ब्यक्तिलाई तुरुन्त निमोनिया हुन सक्छ तसर्थ यस्ता रोगलाई ख्याल-ख्यालमा नलिऔ ।

    ३. संक्रमित ब्यक्तिलाई भेट्दा वा सम्पर्कमा आउदा विशेष सावधानि अपनाऔँ । उनिहरूसँग खास दुरी बनाएर बसौँ । रुँघा खोकी लागेकाहरूसँग हात मिलाउने, अंकमाल गर्ने, नजिक बस्ने वा चुम्बन गर्ने नगरौँ ।

    ४. आफूलाई रुघा खोकी वा फ्लु भएको छ भने यो निमोनियाको कारणले पनिहुन सक्छ । यस्तो अवस्थामा खोक्दा वा हाच्छिउ गर्दा रुमाल वा टिस्यु पेपरको प्रयोग गरौँ ।

    ५. निमोनियाको संक्रमण अस्पतालबाट पनि फैलिने गर्दछ । अत: आवश्यक नपरेको अवस्थामा अस्पताल नजाऔँ । गएपनि संक्रमित रोगीभएका वार्डतिर नजाऔँ ।

    ६. रोगीलाई स्याहार्ने चिकित्साकर्मी हेरचाहगर्ने नर्स वा विरामी कुरुवाले विशेष सावधानी अपनाऔँ ।

    ७. मौसम बदलिदा पथपहरेजमा विशेष ध्यान दिऔँ । चिसो, धुवाधुलो र प्रदुषणबाट बचौँ । विशेष गरी चिसोमा बालबालिका र बृद्ध बद्धाको विशेष ख्याल राखौँ । बच्चालाई रुँघा खोकी र कफको समस्या भए स्कुल पनि जान नदिऔँ । प्रदुषित ठाउँमा जानै परे गुणस्तरीय मास्क लगाएर मात्र जाने गरौँ ।

    ८. धुमपान आफु पनि नगरौँ अरुलाई पनि गर्न नदिऔँ । विशेषतः स-साना बालबालिका भएको ठाउँमा धुम्रपान गर्दैनगरौ । काठ दाउरा गुइठा जस्ता बायोमास ईन्धन प्रयोग गरी खाना पकाउँदा धुँवा बाहिर जाने सुधारिएको चुल्हो प्रयोग गर्ने गरौ ।

    ९. निमोनियाबाट बच्न खोप -न्यूमोकोकल कन्जुगेट भ्याक्सिन पनि उपलब्ध छ । हुनत विश्व स्वास्थ्य संगठनले आˆनो नियमित खोप कार्यक्रममा यो खोपलाई सुचिकृत गरेको छैन तथापि जोखिम वर्गमा परेकाले यो खोप लगाएको राम्रो हो ।

    २ वर्ष भन्दा कम उमेरका बच्चा र ६५ वर्ष भन्दा ज्यादा उमेरका बृद्ध बृद्धालाई निमोनियाको खोप दिनु राम्रो हो २ वर्ष भन्दा माथिका बच्चालाई विशेष परिस्थितीमा मात्र यो खोप दिऔँ ।

    १०. रुघामर्कीलाई हल्का नलिऔँ किनकि निमोनियाको प्रारम्भिक लक्षण नै रुघामर्की हो । अधिकांश आमाबुबाहरू बच्चालाई निमोनिया भैसक्दा पनि रुघामर्की लागेको ठानेरै बसि रहन्छन् ।

    यदि रुघामर्की ४-५ दिनभित्र ठिक नभए अचानक तिब्र ज्वरो आए, श्वासको गति अचानक बढे, नाडी गति बढे, बच्चाले दुधपिउन छाडे, खान मन नगरे, शरिर लल्याक-लुलुक भए ओठ कलेटी परे वा हातखुट्टा र ओठ निलो हुन थाले तुरुन्त अस्पताल लगिहालौ ।

    ११ . चिसोबाट बचाऔ । बच्चालाई चिसोबाट बचाउन प्रशस्त लुगा लगाएर न्यानो पारेर राख्नुपर्छ ।

    १२. बच्चाको सर सफाईमाविशेष ध्यानदिऔ । बच्चा सुताउने कोठा, खेलौना एवं लुगाफाटो आदिको सरसफाईमा विशेष ध्यान दिऔँ ।

    १३. खाना खुवाउदा वा दुध पिलाउँदा सर्किन्छ कि भनेर विशेष ध्यानदिऔँ । खाना सर्किहाल्यो भने निमोनिया हुन्छ कि भनेर सचेत बनौ ।

    १४. बाहिरबाट आएर एक्कासीबच्चा लाई समातिनहालौ । हाम्रो संस्कृतिमा बाहिरबाट आएर बच्चा छुनु भन्दा पहिले आगो छुने चलनथियो । यो अत्यन्त बैज्ञानिक रिती थियो । अब आगो छुईरहन सम्भव नभए पनि ७० प्रतिशत अल्कोहल सोल्यूसनले हात धोएर मात्र बच्चालाई छुने गरौ ।

    १५.नियोनिया संक्रमित ब्यक्तिसँग बच्चालाई टाढै राखौँ ।

    १६. निमोनियाको शंखालाग्ने वित्तिकै तुरुन्त डाक्टर कहाँ पुगिहालौं ।

    १७. निमोनियाको औषधि सेवनगर्न थाले पछि कोर्स पुरा गरेपछि मात्र छाडौं ।

    १८. बालबालिकालाई आमाको दुध पिलाऔं । आमाको दुधमा बच्चालाई चाहिने पोषकतत्वहरू र रोग प्रतिरोधक तत्वहरू हुन्छन ।

    लेखक भरतपुर-१ वागीश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *