हरेक वर्ष विश्वभर १४ नोभेम्बरका दिन विश्व मधुमेह दिवस मनाउने गरिन्छ । नेपालमा पनि मधुमेह रोग सम्बन्धी जनचेतना जगाउन यो दिवस मनाउँदै आइएको छ । सरल भाषामा भन्नुपर्दा मानिसको शरीरको रगतमा चाहिनेभन्दा बढी चिनी जम्मा भएमा मधुमेह भएको मानिन्छ ।
बिरामीको रगतमा चिनी बढ्दा शरीरमा भने यसको मात्रा कम हुन जान्छ । जसले गर्दा आलस्य हुने, दुब्लाउँदै जाने जस्ता समस्या देखा पर्छन । रगतमा गएर चिनी थुप्रिदा इन्सुलिनको कमीले गर्दा अन्य अंगहरुमा भने यसको अभाव हुन जान्छ ।
हामीले खाएको खाना शरीरभित्र गएर चिनी अर्थात ग्लुकोजकाे रुपमा परिवर्तन हुन्छ । यो हाम्रो शरीरको मुख्य शक्तिको स्रोत पनि हो । ग्लुकोजलाई हाम्रो शरीरको हरेक अंगमा पुराउने काम इन्सुलिनले गर्छ । इन्सुलिन प्यान्क्रियाज ग्रन्थीले उत्पादन गर्छ । तर कहिलेकाहीं यो ग्रन्थीमा विभिन्न कारणले समस्या देखिन सक्छ ।
यो अवस्थामा पर्याप्त मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन वा शरीरमा बोसो बढी हुनेहरुमा इन्सुलिनले बढी मात्रामा काम गरे पनि अंगभित्र प्रयाप्त मात्रामा चिनी जाँदैन । हामीलाई चाहिने ग्लुकोज शरीरका हरेक अंगमा प्रवेश गर्न नसकी रगतमै थुप्रिएर बस्न थाल्छ । यसो हुँदा शक्तिको रुपमा प्रयोग गर्नुपर्ने ग्लुकोज प्रयोग हुन सक्दैन । यो अवस्थामा रगतमा ग्लुकोजको मात्रा अत्यधिक बढेको हुन्छ भने शरीरमा ग्लुकोज नपुगेर शरीर कमजोर हुँदै जान्छ ।
मधुमेहकाे जोखिममा को पर्छन् ?
बढी मोटोपना भएका व्यक्ति, शारीरिक व्यायाम नगर्ने व्यक्ति, बढी जंकफुड खाने तथा बढी तनाव लिने व्यक्तिमा मधुमेहको जोखिम हुने गर्छ । तर कहिलेकाहीं वंशाणुगत रुपमा पनि यो रोग आउन सक्छ ।
यो रोग धेरै जसो भने हाम्रै आनीबानी, जीवनशैलीसँग सम्बन्धित रोग हो । त्यसैले सानो उमेरदेखि नै स्वस्थ जीवनशैली अपनाएमा मधुमेह हुने सम्भावना कम हुन्छ ।
यो रोगले अन्य रोगहरु पनि सँगसँगै ल्याउन सक्ने सम्भावना हुँदा रोग लाग्नै नदिनतर्फ बढी चनाखो हुनुपर्छ । अर्को कुरा औषधि खाएर मात्र सुगर नियन्त्रण हुँदैन् । यसमा खानपान, जीवनशैली र व्यायामको पनि त्यत्तिकै भूमिका हुन्छ । बिरामीले मैले औषधि खाएकै त छु भनेर व्यायाम नगर्ने, मनपरी खानेकुरा खाने गरेमा यो रोग कहिल्यै नियन्त्रण हुँदैन । यसैगरी जीवनशैली मात्र परिवर्तन गरेर मधुमेह नियन्त्रण गर्छु भनेर औषधि खान छोड्दा पनि यसले झन जटिलता ल्याउन सक्छ । यसैगरी खानपान बारेकै छु मात्र पनि भनेर हुँदैन । यसमा ४ खम्बालाई सँगसँगै अपनाउनै पर्छ । ती ४ खम्बा भनेका यसप्रकार छन्।
खम्बा १. नियमित डाक्टरको सल्लाहमा औषधिको सेवन गर्ने।
खम्बा २. नियमित शारीरिक व्यायाम गर्ने ।
खम्बा ३. डाइटिसियनको सल्लाह बमोजिम खानपान मिलाउने
खम्बा ४. तनाव नलिने
माथि उल्लेखित ४ खम्बाको मधुमेह नियन्त्रण गर्न २५ \२५ प्रतिशत भूमिका हुने गर्छ । एउटा मात्र पनि फलो गरिएन भने यो नियन्त्रणमा समस्या हुनसक्छ । त्यसैले स्वस्थकर खानेकुरा शारीरिक व्यायाम, औषधिको मात्रा एकदम ठीक तरिकाले सन्तुलित राख्ने र तनाव नलिने हो भने धेरै हदसम्म मधुमेह रोगलाई नियन्त्रणमा राखी यसबाट हुनसक्ने जटिलताबाट बच्न सकिन्छ । यसका साथै आफूलाई मधुमेह छ छैन थाहा पाउनका लागि ६ \६ महिनामा आफनो सुगर जाँच गरेमा सुरुकै अवस्थामा वा प्रि डाइबेटिज अवस्थामै पत्ता लाग्छ र यसको उपचार पनि सहज हुनेगर्छ ।