के हो दाँत स्केलिङ, के यसले दाँत कमजोर बनाउँछ ?

    हाम्रो समाजमा अझै पनि मेसिनले दाँत सफा (स्केलिङ) गर्‍यो भने दाँत झन् हल्लिन्छ, सिरिङ सिरिङ हुन्छ र कमजोर हुन्छ भनेको सुनिन्छ। तर के साँच्चै यो कुरा सहि हो त ?

    के हो स्केलिङ ?

    हरेकपटक हामीले खाना खाईसकेपछि दाँतमा एक प्रकारको लेउ जम्मा हुन्छ। जसमा दाँत, गिजा र दाँतको नसालाई असर गर्ने कीटाणुहरु हुनछन्। उक्त लेउलाई दन्तलेउ भनिन्छ।

    यदि नियमित रुपमा दाँत सफा गरिएन अथवा सहि तरिकाले दाँत माझिएन भने त्यहि दन्तलेउ नै बढ्दै जान्छ र ढुङगा जस्तै कडा हुन्छ। त्यसलाई दन्तपत्थर भनिन्छ।

    मेसिनको सहायताले दन्तलेउ, दन्तपत्थर र दाँतको बाहिरी सतहमा भएका दाग सफा गर्ने प्रक्रियालाई स्केलिङ भनिन्छ। मुखमा रहेको फोहोरको संख्याको आधारमा एकदेखि तीन पटकसम्म स्केलिङ गराउनुपर्ने हुनसक्छ।

    स्केलिङ गरिसकेपछि सुरुको १–२ हप्ता दाँत सिरिङ सिरिङ हुनसक्छ। तर यो बिस्तारै आफैं ठीक भएर जान्छ। दाँतमा भएको सबै दन्तपत्थर निस्किने भएकोले मानिसहरुलाई दाँत हल्लिएको जस्तो महसुस हुनसक्छ तर स्केलिङ गर्नाले दाँत झन् हल्लिने र कमजोर बनाउने भन्ने चाहिँ हुँदैन।

    दाँतमा किरा लाग्नाले, दाँतले गिजा छोड्नाले र अरु विभिन्न कारणले गर्दा पनि दाँत सिरिङ सिरिङ गर्न सक्छ। यसैले स्केलिङ गरेको केही हप्तापछि पनि सिरिङ सिरिङ हुने क्रम रोकिएन भने सम्बन्धित चिकित्सककोमा गई दाँत जाँच गराउनुपर्छ।

    स्केलिङ गर्नाले दाँत सफा र चम्किलो मात्र नभएर दाँत, गिजा र दाँतको हड्डी बलियो र स्वस्थ पनि हुन्छ। दाँतमा हुने समस्या जस्तै ब्रस गर्दा रगत आउने, सास गन्हाउने र दाँत हल्लिने पनि कम हुन्छ। त्यसैले हरेक ६ महिनामा दाँत जाँच गराउनुपर्छ र दन्त चिकित्सकको सल्लाह अनुसार १ वर्षमा एक चोटि स्केलिङ गराउनुपर्छ।

    स्केलिङपछि के गर्ने र के नगर्ने ?

    एक हप्तासम्म धेरै तातो र चिसो खानेकुरा नखाने।

    दाँतको बाहिरी सतहमा दाग बस्ने खानेकुरा जस्तै कफि, चिया र अरु सुर्तीजन्य पद्धार्थहरु खान कम गर्ने।

    दन्त चिकित्सिकको सल्लाह अनुसार कुल्ला गर्ने औषधिको प्रयोग गर्ने। साथसाथै मनतातो पानीमा नुन हालेर दिनको २–३ पटक कुल्ला गर्ने।

    नरम ब्रसले दिनको २ पटक सहि तरिकाले दाँत माझ्ने।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *