सुगर दीर्घ रोग होइन, स्वस्थ जीवनशैली अपनाए औषधि छोड्न मिल्छ

    सुगर बिरामीले सधैंभरी औषधि खाइरहनु पर्दैन। सुगर देखिनसाथ जीवनशैलीमा ध्यान दिएमा औषधि बन्द गर्न मिल्छ।

    हामी चिकित्सकको काम औषधि दिने हो। तर औषधि घटाउने वा बन्द गराउने इच्छा जबसम्म तपाईँको हुँदैन तबसम्म कुनै पनि सुगरको औषधिले काम गर्न गाह्रो हुन्छ।

    डाइभिटिज भनेको दिर्घकालीन र बढिरहने रोग भनेर बुझेका थियौं। यो कुरा गलत हो। डाइभिटिजलाई हामीले जरैदेखि निको पार्न सक्छौ। यदि डाइभिटिज भएको थाहा हुने बित्तिकै तपाईले आफ्नो जीवन शैलीमा ध्यान दिनुभयो भने यो जरैदेखि निको हुन्छ। औषधि सुरू गरेको भए बन्द समेत गरेका उदाहरण छन्।

    सुगर भनेको आफूले निम्त्याउने रोग हो। तपाईँले जीवनशैलीमा ध्यान दिनुभयो भने यो रोग लाग्नबाटै बच्न सक्नुहुन्छ। रोग लागिहाल्यो भने अनुशासित जीवनशैली भएमा औषधि बन्द गर्न मिल्छ।

    जीवनशैली व्यवस्थित बनाउन सबैभन्दा पहिलो कुरा खाना हो। खाना नखाई कोही पनि बाँच्न सक्दैन। तर खानाले नै दुर्घटना निम्त्याउँछ। त्यसैले अनुशासित भएर खाना खानुपर्छ।

    जमिनमा उब्जिएको होस या रूखमा फलेको सबै खान मिल्छ। मान्छेले फ्याक्ट्रीमा बनाएको खाना सकेसम्म नखाएको राम्रो हुन्छ।

    सबैभन्दा ठूलो कमजोरी चामल हो। सकेसम्म चामल नखाएको राम्रो । तर खानैपर्छ भने सय देखि १ सय ५० ग्राम खान सकिन्छ। भातको सट्टा दाल, सुपले पेट भर्न सकिन्छ।

    आलु खान सकिन्छ। आलु तारेर खायो भने मात्रै हानिकारक हुन्छ। हप्ताको एक पटक रातो मासु र तीन-चार पटक सेतो मासु खान सकिन्छ। मासु आफैंमा चिल्लो भएकाले चिल्लो नराखि खानुपर्छ।

    जती गुलियो भए पनि फलफूल खान मिल्छ। तर यसो भन्दैमा एकै पटक ४-५ वटा आँप खान हुँदैन। बेलुका फापर तथा कोदोको रोटी खान सकिन्छ।

    काम गर्नेको हकमा भने खानेकुरा फरक पर्छ। किनकि, शारीरिक रूपमा धेरै खट्नेहरूले त्यही अनुसारको खाना खानुपर्छ।

    खाना, व्यायाम र तनावले सुगर हुने हो। खानपिनमा ध्यान नदिने, व्यायाम नगर्ने, अत्यधिक तनाव लिनेलाई डाइभिटिज देखिन्छ। गर्भको अवस्थामा निस्किने हर्मोनको कारणले समेत डाइभिटिज हुन्छ।

    ५० प्रतिशतमा सुगर भएको थाहा हुँदैन। वजन घट्ने, घाउ नसुक्ने, पेट दुख्ने, टाउको दुख्ने, अचानक प्रेसर बढ्ने लगायतका समस्या लिएर आउनेलाई सुगर देखिएको हुन्छ। शरीर दुप्लाउँदै जाने, मुख सुक्ने, पिसाव धेरै लाग्ने पनि हुन्छ।

    खानाको साथै व्यायाम गर्न जरूरी छ। जुनुसुकै समयमा व्यायाम गर्दा हुन्छ। ३० देखि ४५ मिनेट व्यायाम गर्नुपर्छ। व्यायाम गर्दा मुटुको धड्कन बढ्नुपर्छ। त्यस्तो गरेमा मात्रै शरीरको बोसो पग्लिन्छ। जे गरे पनि ३० देखि ४५ मिनेट व्यायाम गरे पुग्छ भने पाँच दिनसम्म व्यायाम गर्दा हुन्छ।

    ३०-४० वर्ष उमेर भएकालाई त म सकेसम्म औषधि चलाउँदिनँ। जीवनशैली परिवर्तन गर्‍यो भने निको हुन्छ। तर मैले किने बार्ने भन्न थाल्नुभयो भने सुगर दुई महिनामै दोब्बर हुन्छ।

    वंशाणुगत कारणले सुगर लाग्छ। तर आफ्नो जीवनशैलीमा ध्यान दिइयो भने २०-३० वर्षमा देखिने सुगर ६०-७० वर्षमा देखिनसक्छ। तर मलाई सुगर लागिहाल्छ भनेर हेलचक्रयाई गर्नुभयो भने बेलैमा लाग्न सक्छ। त्यसैले जीवनशैली महत्वपूर्ण पक्ष हो।

    जीवनशैली अनुशासित भयो भने वंशानुगत कारण भए पनि सुगर नहुन सक्छ अथवा भयो भने पनि धेरै पछि हुन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *