कलेजोमा बोसो जमे के गर्ने ?

मानिसको कलेजोमा अत्यधिक बोसो जम्ने समस्यालाई आधुनिक चिकित्सा विज्ञानको भाषामा फ्याट्टी लिभर (स्टियोटोसिस्) भनिन्छ । यसलाई आयुर्वेदमा वसीय यकृत् भनिन्छ ।

कलेजो मानव शरीरको क्रियात्मक गतिविधिको महत्वपूर्ण अंग हो । स्वस्थ कलेजोविना सहज जीवन सम्भव हुन मुस्किल हुन्छ । त्यसकारण हामीले हाम्रो कलेजोलाई सुरक्षा दिइरहनुपर्छ, त्यसको स्वास्थ्यप्रति सजग रहनुपर्छ ।

फ्याट्टी लिभरको समस्या हिजोआज धेरैलाई हुने गरेको पाइएको छ । लिभरमा थोरै मात्रामा मात्र बोसो जम्नुले स्वास्थ्यमा खासै समस्या ल्याउँदैन । तर जब कलेजोमा अत्यधिक बोसो जम्छ, त्यसपछि स्वास्थ्यमा समस्या देखिन थाल्छ । फ्याट्टी लिभरले कहिलेकाहीँ कलेजोलाई घाइते बनाउँछ भने कहिलेकाहीँ कलेजोलाई नै फेल गरिदिन्छ ।

चिकित्सा विज्ञानको हिसाबले लिभरमा बोसो जम्नुको कारणलाई मदिराजन्य वसीय यकृत् (अल्कोहलिक फ्याट्टी लिभर) र अमदिराजन्य वसीय यकृत् (ननअल्कोहलिक फ्याट्टी लिभर) भनेर अध्ययन गरिन्छ ।अत्यधिक मदिरा वा मदिराजन्य पदार्थहरुको सेवनले गर्दा कलेजोमा बोसो जम्छ भने त्यसलाई अल्कोहलिक फ्याट्टी लिभर भनिन्छ । र, मदिरा वा मदिराजन्य पदार्थबाहेक अन्य कारणले गर्दा कलेजोमा बोसो जम्नुलाई ननअल्कोहलिक फ्याट्टी लिभर भनिन्छ ।

मदिरा सेवन नगरे पनि फ्याट्टी लिभरको समस्या आउन सक्छ । डायबिटिज रोग लागेर वा शरीर मोटो भएर वा ट्राइग्लिस्राइड बढेर पनि कलेजोमा अधिक बोसो जमेर यो समस्या देखा पर्छ ।

जब कुनै व्यक्तिले अत्यधिक क्यालोरी भएको खानपिन गर्दछ, उसमा खर्च नभएको ग्लुकोज नै बोसो बनेर कलेजोमा सञ्चित हुन जान्छ । यसरी सञ्चित बोसोलाई कलेजोले नियमित रुपमा टुक्रा गरेर खर्च गर्न सकेन भने फ्याट्टी लिभरको समस्या उत्पन्न हुन्छ । यसबाहेक फ्याट्टी लिभर हुने अरु पनि धेरै कारणहरु हुन सक्छन् । कहिलेकाहीँ वंशाणुगत कारणले पनि यो समस्या उत्पन्न हुने गर्दछ ।

मुख्य रुपमा अहिले मानिसहरुलाई फ्याट्टी लिभरको समस्या गलत खानपिन र गलत जीवनशैलीकै कारण भएको पाइन्छ ।
लिभरमा बोसो जमेको व्यक्तिमा त्यस्तो कुनै विशेष लक्षण एवं संकेत देखिँदैन तर भोक नलाग्ने, समयमै खाना नपच्ने, वाकवाक लाग्ने, कहिलेकाहीँ पेट दुख्ने, कमजोरी, थकान, छालाको रंग परिवर्तन हुने आदि सामान्य लक्षणहरु भने देखिन्छन् । सामान्य लक्षणहरुलाई मानिसहरुले खासै वास्ता गरेको पाइँदैन ।

कलेजोमा बोसो जमेको छ वा छैन भनेर सामान्यतः अल्ट्रासाउन्ड (भिडियो एक्सरे) गरेर हेर्ने गरिन्छ । रगतबाट गरिने परीक्षण लिभर फङ्कसन टेस्ट गरेर कलेजोमा बोसोको अवस्थाको अन्दाज गरिन्छ ।

मदिरा नपिउने व्यक्तिहरुमा निम्न चार अवस्थाको फ्याट्टी लिभर हुन सक्छ । सरल स्टिटोसिस, स्टिटोहेपेटाइटिस, फाइब्रोसिस र सिरोसिस । त्यसपछि कलेजोमा क्यान्सर उत्पन्न हुन्छ ।

लामो समयदेखि कलेजोमा बोसो जमेको छ भने त्यसले कलेजोलाई त हानि गर्छ नै, त्यसको साथसाथै व्यक्तिमा डायबिटिज, किड्नीसम्बन्धी रोग, उच्च रक्तचाप आदि लाग्ने सम्भावना पनि अधिक हुन्छ ।

कलेजोमा बोसो जमेको छ र त्यसको पहिचान समयमै गर्न सके त्यसलाई सामान्य औषधिहरु र खानपिन एवं जीवनशैलीमा परिवर्तन गरेर मात्र पनि बोसो हटाउन सकिन्छ । कलेजोलाई स्वस्थ बनाउन सकिन्छ । फ्याट्टी लिभर भएका रोगीले अपनाउनुपर्ने आहार र जीवनशैलीमा निम्न कुराहरुको ध्यान राख्नुपर्दछ ।

खानपिनमा ध्यान दिनुपर्ने कुराहरु
 मदिरा सेवन गर्ने बानी छ भने तत्कालै बन्द गरिहाल्नुपर्छ ।
 तातो वा मनतातो पानी मात्र पिउने गनुपर्छ ।
 बाहिरका खानाको सट्टा घरमै बनाइएको ताजा सुप वा जुस पिएर काम चलाउनु राम्रो हुन्छ ।
 हरेकपटक खानामा कागतीको सेवन गर्नुपर्छ ।
 हरियो सब्जी वा साग वा सलाद दैनिक रुपमै खानुपर्छ ।
 छिट्टै पच्ने सब्जी जस्तै– मुला, काँक्रो, लौका, फर्सी, कुभिण्डो, भिण्डी, करेला आदि खानु हितकर हुन्छ ।
 कमभन्दा कम चिनी वा सख्खरको प्रयोग गनुपर्छ । भात कम र सब्जी बढी खाने गनुपर्छ ।
 अधिक तेल या बोसो या मसलायुक्त खाना खानुहुँदैन । गेडागुडी पनि कमै खानु राम्रो हुन्छ । तारे–भुटेको खाना वा तयारी खाना खानै हुँदैन ।
 निश्चित समयको लागि माछा, मासु पूरै छोड्नु बेस हुन्छ ।
 दूधको चिया खानुहुँदैन । ग्रीन टी भने पिउन सकिन्छ ।

जीवनशैलीमा ध्यान दिनुपर्ने कुराहरु

 दिनभर बसिरहने वा धेरै सुत्ने बानी गर्नुहुँदैन ।
 शरीरको तौल नियन्त्रणमा राख्न शारीरिक क्रियाकलापमा सक्रिय रुपमा संलग्न रहनुपर्छ ।
 भोक लागेपछि मात्र खाना खाने गर्नुपर्छ । भोग नलागे एकछाकको भोजन मात्र लिनु राम्रो हुन्छ ।
 सकिन्छ भने हाप्ताको १ दिन अनिवार्य रुपमा उपवास गर्ने अभ्यास गर्नुपर्छ ।
 दैनिक रुपमा ४० मिनेट जतिको सहज व्यायाम गर्नुपर्छ ।
लिभरमा बोसो जमेको छ भन्ने कुरा थाहा पाइसकेपछि चिकित्सकसँग अनिवार्य रुपमा सल्लाह लिएर मात्र कुनै पनि उपाय अपनाउनुपर्दछ । घरेलु उपचारको रुपमा निम्न उपायहरुको प्रयोगले कलेजोमा सञ्चित बोसो घटाउन सहयोग मिल्छ ।
 चिराइतो: २० मि.लि. चिराइतोको काढा सेवन
गर्नाले सञ्चित बोसो घट्न सहयोग मिल्छ ।
 अमला: यो एक अमिलो वर्गको फल हो ।
प्रायले यो देखेको वा खाएको हुन्छ । अमला भिटामिन
‘सी’को उत्तम स्रोत हो । अतः प्रतिदिन यसको ४–५
दाना हरियो फल सेवन गर्नाले बोसो घटाउन सहयोग
मिल्छ ।

 नीम: नीम तीतो वर्गमा पर्ने वनस्पति हो ।
यसको पातको वा छालको जुस बनाएर २० मि.लि.
प्रतिदिन पिउनाले कलेजोको बोसो घटेर जान्छ ।
 गुर्जो: गुर्जो पनि तीतो वर्गमा पर्ने वनस्पति
हो । यसको लहराको जुस बनाएर २० मि.लि.
प्रतिदिन पिउनाले कलेजोको बोसो घटेर जान्छ ।
 बेसार: खानामा बेसारको प्रयोगलाई
बढाउनुपर्छ । बेसारले बोसोलाई काट्छ । कलेजोको
क्रियात्मक क्षमता बढाउँछ ।
 घिउकुमारी:घिउकुमारीको १० देखि २० मि.लि.
फ्रेस जुस निकालेर सेवन गरे त्यसले बोसो घटाउन
सहयोग गर्दछ ।
लिभरमा बोसो जम्नु कुनै प्रकारले सहज स्वास्थ्यको लक्षण भने होइन । अतः बोसो जमेको संकेत पाउनासाथ त्यसको निवारणको सही उपाय खोजिहाल्नु बुद्धिमानी हुन्छ । खानपिन र जीवनशैलीलाई त्यसै अनुसार ढाल्नु हितकारी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *