पूजापाठमा दुबोको प्रयोग गर्ने गरेको त हामीलाई थाहा छ । औषधीय गुणका कारण आयुर्वेदमा पनि दुबोलाई महत्वपूर्ण मानिन्छ । दुबोले शरीरका अनेक रोग निदान गर्छ । बाहिरी घाउदेखि भित्री रोगसम्म निको पार्ने क्षमता हुन्छ, दुबोमा ।
दुबो मुख्यगरी सेतो, निलो र हरियो गरी तीन प्रजातिको हुन्छ । तराईमा धेरै पाइने दुबो पहाडमा केही कम तर हिमाली भेगमा भने खासै पाईदैन ।दुबो मलिलो तथा ओसिलो माटोमा रोप्दा राम्ररी सप्रिन्छ ।
यसको जरा धेरै भित्रसम्म फैलिएको हुँदैन । यसलाई दैनिक पानी हाल्नुपर्छ । दुबो बाह्रै महिना पाइने बिरुवा हो । यसमा प्रोटिन, कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फाइबर, पोटासियम पर्याप्त मात्रामा पाइने पाईन्छ ।
यसको प्रयोगले विभिन्न स्वास्थ्यलाभ लिन सकिन्छ । औषधीय गुण भएको दुबोलाई घरमै एउटा गमलामा लगाएर पनि यसको प्रयोग गर्न सकिन्छ ।दुबोले शरीरको विकार हटाउँछ । रगतलाई शुद्धीकरण गर्न सघाउँछ ।
पिसाबमा खराबी छ भने दुबोको रस फाइदाजनक हुन्छ । नाकको समस्या पनि दुबो लाभदायक हुन्छ, । सामान्य अवस्था नाथ्री फुटे, छाती पोले, जीउ चिलाए, शरीरको कुनै भाग सुन्निएमा दुबोको प्रयोग गर्न सकिन्छ ।
दुबोको प्रयोग गर्दा दुबोलाई पिसेर त्यसको रस निकालेर १० देखि २० एमएल सेवन गर्न सकिन्छ । दुबोको रसलाई घिउमा पकाएर त्यसको लेपलाई रगत बगेको ठाउँमा लगाउन सकिन्छ । यसको रस टाउकोमा लगाएर टाउको दुखाइबाट छुटकारा पाउन सकिन्छ ।
घाउ–चोट लाग्दा, रगतको समस्या, नाकबाट रगत बग्ने समस्या, छालारोग, टाउको दुख्ने समस्यामा पनि दुबोको प्रयोग गरेर लाभ लिन सकिन्छ । ‘शरीरको भित्री प्रयोगभन्दा पनि बाहिरी प्रयोगको लागि दुबो बढी लाभदायी हुन्छ ।
दुबो नियमित सेवन नगर्नु नै राम्रो हुन्छ । कुनै समस्या समाधानको लागि यसको सेवन गरिएको हो भने समस्या समाधान भएपछि यसको सेवन रोक्नु उपयुक्त हुन्छ । मात्रा नमिलाई तथा दैनिक यसको सेवन गर्दा यो शरीरमा गएर विषाक्त पनि हुन सक्छ ।
दुबोको सेवन गर्दा यसको जडिबुटी स्वादका कारण बान्ता हुने समस्या हुन सक्छ । मात्रा मिलाएर सेवन गरेको खण्डमा भने यसको खासै साइड इफेक्ट हुँदैन । आयुर्वेदिक औषधि आफूखुसी प्रयोग गर्नुहुँदैन । त्यसैले प्रयोग गर्नुअघि जडीबुटी विशेषज्ञसँग परामर्श लिनुपर्छ ।