६० हजार मत गणना हुँदा चितवन-२ मा रवि लामिछानेलाई ७१ प्रतिशत मत

प्रतिनिधि सभा सदस्यका लागि आइतबार भएको उपनिर्वाचनमा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुने पक्कापक्की भएको छ।

बिहान साढे ८ बजेसम्म ६०६७३ मत गणना हुँदा लामिछानेले ४३१०१ मत पाएका छन्। चितवन-२ मा आइतबारको उपनिर्वाचनमा ७८२७७ मत खसेको थियो।

अहिलेसम्म लामिछानेले गणना भएको मतको ७१ प्रतिशतभन्दा बढी पाइरहेका छन्।

लामिछानेले यसपालि गत मंसिर-४ को चुनावमा पाएको भन्दा धेरै मतसँगै मतान्तर पनि फराकिलो पार्ने देखिएको छ।

मंसिरको चुनावमा लामिछानेले ४९३०० मत पाएका थिए। उक्त क्षेत्रमा दोस्रो भएका कांग्रेसका उमेश श्रेष्ठले १४९८८ मत पाएका थिए। उनीहरूबीचको मतान्तर ३४३१२ थियो।

अहिले १८ हजार मत गणना हुन बाँकी छँदै लामिछानेले ३५ हजार बढीको मतान्तर बनाइसकेका छन्। प्राप्त पछिल्लो मत परिणाममा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ७९५२ मत पाएका छन्। श्रेष्ठभन्दा लामिछाने ३५१४८ मतले अघि गइसकेका छन्।

अहिलेसम्म गणनाभएका २ वडाबाहेक सबैमा लामिछानेले अग्रता लिएका छन्।

इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका वडाहरूमा मतगणना सकिएको छ। इच्छाकामनाका ७ र भरतपुरका १० वडाको गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रवि लामिछानेले ४१ हजार ६९ भोट ल्याएका छन्। नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७६९५ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७३९९ भोट ल्याएका छन्।

१७ वडामध्ये १५ वडामा लामिछानेले अन्य उम्मेदवारले भन्दा बढी भोट ल्याएका छन्। इच्छाकामनाको वडा नम्बर १ र २ मा मात्रै एमालेका न्यौपानेले लामिछानेलाई थोरै मतान्तरले जितेका थिए। अन्य वडामा लामिछानेले भारी अन्तरले जितेका छन्।

लामिछानेले १७ मध्ये १५ वडामा गत मंसिरमा भएको निर्वाचनको भन्दा बढी भोट ल्याएका छन्।

भरतपुर महानगरपालिकाको वडा नम्बर ३ मा उनले मंसिरको भन्दा २८ भोट कम ल्याए। तर यी वडामा पनि अन्य उम्मेदवारले पहिलेको भन्दा बढी भोट ल्याएका कारण लामिछानेको भोट घटेको होइन। वडा नम्बर ३ मा कांग्रेसको ४६ र एमालेको ११३ भोट पहिलेभन्दा कम आएको छ। १२ मा कांग्रेसको ३१५ र एमालेको ३५८ भोट पहिलेभन्दा कम आएको छ। कुल मतदान नै कम भएका कारण यी वडामा सबैको मत घटेको देखिन्छ।

नेकपा एमालेको पुरानो गढ मानिने भरतपुर–११ मा लामिछानेले ६०५० भोटको अग्रता बनाएका छन्। यहाँ एमालेका न्यौपानेले १०६६ भोट पाए। कांग्रेसका श्रेष्ठले ६१८ र रास्वपाका लामिछानेले ७१६६ भोट पाएका थिए। मंसिरमा यहाँबाट लामिछानेले ५६४५, एमालेका कृष्णभक्त पोखरेलले १०४२ र कांग्रेसका उमेश श्रेष्ठले ७७७ भोट ल्याएका थिए।

गत वैशाखमा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको वडा नम्बर १० मा कांग्रेसका श्रेष्ठले भन्दा लामिछानेले ३५५३ भोट बढी ल्याएका छन्।

भरतपुरको वडा नम्बर १ मा लामिछानेले २२१०, श्रेष्ठले ४८३ र न्यौपानेले ३२० भोट पाए। २ मा लामिछानेले ३५६२, श्रेष्ठले ४८० र न्यौपानेले ४९३ भोट पाए। यी दुवै वडामा वैशाखमा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको थियो।

वडा नम्बर ३ मा लामिछानेले २४१०, श्रेष्ठले ३८७ र न्यौपानेले २१६ भोट पाए। यहाँ वडाध्यक्ष एमालेले जितेको थियो। वडा नम्बर ४ मा लामिछानेले ४८४८, श्रेष्ठले ५४७ र न्यौपानेले ३८१ भोट पाए। ५ मा लामिछानेले ३३३४, श्रेष्ठले ५९१ र न्यौपानेले ४२८ भोट पाए। यी दुवै कांग्रेसले वडाध्यक्ष जितेका वडा हुन्।

गठबन्धनबाट एकीकृत समाजवादीले वडाध्यक्ष जितेको भरतपुर–७ मा लामिछानेले मंसिरमा भन्दा २१३ भोट बढी पाए। यहाँबाट लामिछानेले ३४१४, श्रेष्ठले ६२९ र न्यौपानेले ३९२ भोट पाए।

कालिका नगरपालिकाको मतगणना भइरहेको छ। ७८ हजार २७७ मत खसेकोमा अहिलेसम्म ५६ हजार ५०७ मत गणना भइसकेको छ। गणना गर्न बाँकी भन्दा बढी मतान्तर भइसकेका कारण यहाँबाट लामिछानेको जित सुनिश्चित भइसकेको छ।

लामिछानेले अहिलेसम्म ल्याएको मत गणना भइसकेको मतको ७२ प्रतिशत बढी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *