छतमा मकै खेतीले भाइरल बनेको झापाको घर

झापा बुद्धशान्तिका हार्डवेयर व्यवसायी गोपाल सापकोटाको घर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। चर्चामा आउनुको कारण घरको आकार वा डिजाइन भने होइन।

छतमा लहलह परेका मकैका बोट र तिनमा लागेको घोगा देखेर बाटो हिड्ने जो कोहि केहिबेर अडिएर हेर्छ। सडकबाट छतमा हेर्दा घोगा लाग्दै गरेका मकै हरभरा देखिन्छन् । बाहिरबाट हेर्दा मकैबारी जस्तो देखिएपनि भित्र अलि धेरै तरकारी रोपिएको छ।

बाहिर भागमा रोपेको मकैले गर्दा बाहिरबाट खेत जस्तो देखिएको हो। झट्ट हेर्दा बेसी खेत जस्तो देखिने कौशीमा उनले मकै, फर्सी, लौका, काक्रा, करेला, धनिया, प्याज लगायत धेरै जसो दैनिक उपभोग्य तरकारी फलाएका छन् ।

कोरोना महामारीको समयमा बकेटबाट शुरु भएको यो खेती यतिबेला तरकारीको जोहो गर्ने राम्रो मेसो बनेको छ। उनको यो परिश्रम अहिले धेरैका लागी नमुना पनि बनेको छ।

बजारको बिषादीबाट मुक्त हुने भएकाले व्यवस्थित रुपमा यसलाई निरन्तरता दिएको उनि बताउँछन् । ‘बिषादी रहित खान पाइने, बिहान बेलुका माटोसँग घुलमिल हुन पाइने भएकाले गरिरहन मन लाग्छ’, उनले भने।

आजभोलि दैनिकजसो कौशी खेतिबारे जानकारी लिन मानिसहरू आउने गरेका छन्। यो खेतीमा उनका पसलका सहयोगी बलबहादुर बिकले पनि उत्तिकै मिहिनेत गरेका छन्। पसल बन्द गरेर बस्नु परेपछि सापकोटालाई यो खेतिमा सहयोग गरेको उनले बताए।

‘शुरुमा त बेकारको रहर जस्तो लागेको थियो अहिले त मैले पनि तरकारी किन्न परेको छैन’, सापकोटाका सहयोगी बलबहादुरले भने। सापकोटाको बाहिर खेती नभएको भने होइन तर घर र व्यवसाय भएकै ठाउँमा तरकारी लगाउन सजिलो हुने भएकाले छतमा तरकारी रोपेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *