बालबालिकालाई जथाभावी कफ सिरप नदिनुस्

    भारत सरकारले खोकीको झोल औषधि (कफ सिरप) निर्यात गर्नुपूर्व नमूना परीक्षण अनिवार्य गरेको छ। भारतीय कम्पनीद्वारा उत्पादित केही कफ सिरप गाम्बिया र उज्वेकिस्तानमा मृत्युसँग जोडिएपछि नियम परिवर्तन भएको हो ।

    अब जून १ देखि कफ सिरप उत्पादक कम्पनीले सरकारद्वारा स्वीकृत प्रयोगशालाबाट अनिवार्य रूपमा प्रमाणपत्र लिनुपर्ने हुन्छ । देशभरका केन्द्र र राज्य सरकारी प्रयोगशालाहरूको सूची पनि उल्लेख अनुसार नमूना परीक्षण गरेर निर्यात गर्नुपर्ने हुन्छ ।

    गत वर्ष भारतको औषधि नियामकले मेइडन फर्मास्युटिकल्सले उत्पादन गरेका कोफेक्सम्यालिन बेबी कफ सिरप, मेकफ बेबी कफ सिरप र म्याग्रिप एन कोल्ड सिरप पनि दूषित रहेको भन्दै प्रयोगमा प्रतिबन्ध लगाएको थियो । उक्त कम्पनीको कफ सिरप उज्वेकिस्तानमा १९ र द गाम्बियामा ७० जना बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको बताइएको थियो ।

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि बालबालिकाको मृत्युमा चारवटा भारतीय-निर्मित कफ सिरप जोडिएको भन्दै चेतावनी समेत दिएको थियो । केही नमूनाको प्रयोगशाला विश्लेषणले उल्लेख्य मात्रामा विषाक्त पदार्थ रहेको पुष्टि गरेको थियो ।

    नेपालमा भएका कफ सिरप कति सुरक्षित ?

    अहिले नेपालमा प्रयोग भएका अधिकांश कफ सिरप स्वदेशमै उत्पादन भएका हुन् । नेपाल औषधि उत्पादक संघका अनुसार नेपालमा करिब ३५ वटा कम्पनीले कफ सिरप उत्पादन गर्छन् ।

    विदेशबाट १५-१६ कम्पनीको औषधि आयात हुन्छ । तर समस्या देखिएको भारतीय कफ सिरप नेपालमा दर्ता नै नभएको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी बताउँछन् ।

    भारतमा समस्या देखिएका कफ सिरपमा डाईएथलिन ग्लाइकोल र एथलिन ग्लाइकोल जस्ता मिश्रणबाट बनाइएको थियो । नेपालमा भने डाईएथलिन ग्लाइकोल प्रयोग गरेर औषधि नबनाइने औषधि व्यवस्था विभागको दाबी छ । ‘नेपालमा यस्तो खालको मिश्रण गरेर औषधि बनाउन अनुमति छैन । विदेशबाट आयातित औषधिमा यस्तो खालका मिश्रण भए औषधि दर्ता नै हुँदैनन्’, केसी भन्छन् ।

    उनका अनुसार नेपालमा दर्ता नभएको, तर समस्यामा भएका ब्राण्डका औषधि छन् कि भनेर बजार अनुगमन गरिएको थियो । सूचना अधिकारी केसी भन्छन्, ‘डब्ल्यूएचओले चेतावनी दिएको कुनै पनि उत्पादित कम्पनीको औषधि नेपालमा भेटिएन ।’

    केसीका अनुसार कफ सिरप औषधि बनाउनका लागि भारत, बंगलादेश, चीनबाट आउने भएकाले नेपाली औषधि उत्पादकलाई गुणस्तरको सुनिश्चित गर्न निर्देशन दिइएको छ ।

    विज्ञहरू भने भारतसँग खुला सिमाना भएको र चिकित्सकको परामर्श विना नै खोकीका औषधि किन्ने प्रचलन अत्यधिक रहेका कारण सावधानी अपनाउनुपर्ने सुझाव दिन्छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *