भरतपुर महानगरपालिकाको नगर सभाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको दायित्व फरफारक गर्न सरकारबाट प्राप्त सशर्त अनुदान ‘धुर्मुस सुन्तली फाउन्डेसन’ लाई अनुदानका रूपमा भुक्तानी गर्ने सर्वसम्मत निर्णय गरेको छ।
रंगशाला निर्माण गर्ने क्रममा धुर्मुस सुन्तली फाउन्डेसनले १८ करोड ४३ लाख रूपैयाँ उधारो तिर्न नसकेपछि काम रोकिएको थियो।
उधारो तिर्न नसकेपछि फाउन्डेसनले २०७८ साउन २२ गतेबाट काम रोकेर भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरणको पत्र पठाएको थियो।
गत चैतमा मन्त्रिपरिषद बैठकले रंगशाला निर्माणको स्वामित्व नेपाल सरकारले लिने निर्णय गर्दै हिसाब फरफारक गर्न १२ करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत रंगशालाका लागि तीन करोड रूपैयाँ विनियोजन गरेको छ।
महानगरपालिका मेयर रेनु दाहालले संघीय सरकारले उपलब्ध गराउने भनेको अनुदान रकम महानगरमार्फत अनुदानका रूपमा भुक्तानी गर्ने निर्णय भएको बताइन्।
‘फाउन्डेसनलाई लागेको ऋण कुन प्रक्रियाबाट तिर्ने भन्ने कुराले अन्यौल बनाएको थियो। हामीले नगर सभाबाट निर्णय गर्यौं। मन्त्रिपरिषदले निर्णय गरेको १२ करोड रूपैयाँ अब महानगरपालिकामार्फत अनुदान भनेर भुक्तानी हुन्छ,’ उनले भनिन्, ‘हामीले पनि यसपालि ३ करोड रूपैयाँ बजेट छुट्ट्याएका छौं। प्रदेश सरकारले पनि पाँच करोड रूपैयाँ छुट्ट्याएको छ। अब ऋण तिरेर निर्माणको काम अघि बढ्छ।’
मन्त्रिपरिषदले सरकारले स्वामित्व लिने निर्णय गरे पनि कुन तहको सरकारले लिने भन्ने निर्णय नगरेको उनले बताइन्।
‘संघीय, प्रदेश वा स्थानीय जुनसुकै सरकारले स्वामित्व लिन सक्छ,’ मेयर दाहालले सेतोपाटीसँग भनिन्, ‘हामी पैसा पठाउँछौं, भरतपुर महानगरले नै स्वामित्व लिने भनेर निर्णय गर्यो भने तयार छौं।’
त्यसरी निर्णय भयो भने महानगरले बहुवर्षीय ठेक्का लगाएर रंगशाला निर्माणको काम अघि बढाउने उनले बताइन्।
फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले जतिसक्दो छिटो हिसाब फरफारक गरेर रंगशाला निर्माणको काम सुरू होओस् भन्ने आफूले चाहेको बताए।
सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘हामीले स्वामित्व हस्तान्तरणको पत्र बुझाएको पनि दुई वर्ष हुन लाग्यो। सरकारले स्वामित्व लिएर काम अघि बढाइहाले हुन्थ्यो भनेर पर्खिरहेका छौं। नगर सभाले गरेको निर्णय स्वागतयोग्य छ। सकेसम्म छिटो यो कार्यान्वयन भएर निर्माण कार्य सुरू भएको हेर्न मन छ।’
भरतपुर महानगरपालिकाको १३औं नगर सभा बैठकले नीति तथा कार्यक्रम र बजेट पास सर्वसम्मत पास गरेको छ। महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित आय-व्ययसहितको ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँ बजेट पास गरेको हो।