समाजमा एउटा व्यक्तिले आत्महत्या गर्यो भने उसलाई कसै-कसैले तथानाम गाली गरेको पनि हामीले सुन्ने गरेका छौं । आत्महत्या गर्नुपूर्व उनीहरूले ‘मलाई बचाओ’ भनेर संकेत गरिरहेका हुन्छन् । तर, हामी मरिसकेपछि ‘कायर रहेछ’ भनेर गाली गर्छौं, जिउँदैमा उसको आर्तनाद बुझ्दैनौं ।
कुनै पनि व्यक्तिले आत्महत्या गर्नुका पछाडि धेरै कारण हुन सक्छन् । विशेषगरी मनमा असह्य पीडा बढ्दै गएपछि त्यस्ता व्यक्तिले आफूलाई नितान्त एक्लो ठान्न थाल्छन् । बाँच्ने इच्छा र चाहना क्रमशः घट्दै जाँदा उनीहरूले आफूलाई बचाउने भित्रभित्रै धेरै प्रयास गरेका हुन्छन्, जुन कुरा सामान्यतया अरूलाई थाहा हुँदैन।
उनीहरूले धेरै पटक आत्महत्या गर्ने विचार आउँदा पनि त्यसबाट आफूलाई बचाउँदै बचाउँदै अघि बढाइरहेका हुन्छन् । त्यो प्रयासमा ऊ एक्लो हुन्छ, कसैलाई थाहा हुन्न । कति पटक नजानिंदो पाराले अरूलाई संकेत पनि गरेको हुन्छ । तर ऊ निसहाय बनेको हुन्छ । आफूलाई बचाउने प्रयास गर्दागर्दै अन्त्यमा नसक्ने बन्छन् ।
त्यसैले एकै पटकमा मात्र आत्महत्याको प्रयास गरेर मृत्युवरण गर्न पुगेको हुँदैन । त्यो अवस्थामा उसको नजिकको व्यक्तिले त्यो कुरा बुझ्न सकेन भने उनीहरू आफूलाई बचाउन नसकेर आत्महत्यासम्म गर्न पुग्न सक्छन् । तर गीतमा भनिएजस्तै उनीहरूलाई मर्ने रहर हुँदैन ।
कुनै कुनै हरर सिनेमाहरूमा कुनै एउटा पात्रले आफूलाई कसैले नदेख्ने शक्तिले जबरजस्ती तान्दै धकेल्दै घरको छतबाट वा झ्यालबाट बाहिर खसाल्न खोजेको तर त्यो व्यक्तिले आफूलाई बचाउन दह्रोसँग खम्बामा समाएर त्यहाँबाट नहाम्फाल्न खोजेको दृश्यहरू देखिन्छन् ।
लोचना शर्मा, मनोपरामर्शदाता तथा अधिवक्ता
त्यो दृश्य त्यतिकै देखाइएको होइन, त्यहाँ निर्देशकले बडो राम्रोसँग मनोविज्ञानको अध्ययन गरेको देखिन्छ । त्यहाँ जसरी पात्र हाम्फाल्न नखोजेर आफूलाई बचाउन खोजेको हुन्छ ठीक त्यसैगरी आत्महत्या गर्ने व्यक्तिले आफूलाई बचाउन धेरै प्रयास गरेको हुन्छ । तर, हामी उसले आत्महत्या गरेको मात्र देख्छौं ।
नैराश्य (डिप्रेसन), मादक पदार्थको अम्मल, पारिवारिक बेमेल, सम्बन्धविच्छेद, बेरोजगारी, आघात, धेरै पीडा हुने शारीरिक रोग, एचआईभी एड्स, हिंसा, दीर्घरोग आदि कतिपय अवस्था आत्महत्याको कारक बन्न सक्छन् । आर्थिक, सामाजिक कारणले पनि व्यक्तिले आत्महत्या वा आत्महत्या प्रयास गर्न सक्छ ।विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रति वर्ष ७ लाख ३ हजार भन्दा बढीले आत्महत्या गर्ने गरेका छन् । आत्महत्याको मुख्य कारण व्यक्तिको मनोदशा नै हो ।
आत्महत्या अघिका पूर्वसंकेत
आत्महत्या गर्ने करिब ९० प्रतिशत व्यक्तिले कुनै न कुनै खालको पूर्व संकेत दिने गरेको अनुसन्धानहरूबाट देखिएका छन् । तर कतिपय अवस्थामा तत्काल भावावेशमा आएर हुने आत्महत्याका सन्दर्भमा भने त्यस्ता संकेत देखिंदैनन् ।
जस्तो कि आफ्नो प्रिय व्यक्तिको अचानक मृत्यु भयो वा उसले अकल्पनीय गल्ती गर्यो भने उसको हत्या गरेर आफूले पनि आत्महत्या गर्ने सन्दर्भमा त्यस्ता संकेत नदेखिन सक्छन् । कतिपयले आफ्नी श्रीमती वा श्रीमान्लाई अन्यसँग सम्पर्कमा रहेको रंगेहात भेटेपछि हत्या गरेर आफूले पनि आत्महत्या गरेको समाचारहरू पनि सुनिने गरिएको छ ।
सामान्यतया योजनाबद्ध रूपमा हुने आत्महत्यामा त्यस्तो व्यक्ति आफन्तबाट टाढा बस्ने, काममा मन नदिने तथा एकान्तप्रेमी हुने जस्ता संकेत देखिन्छन् ।आत्महत्याको सोचाइ बनाएको व्यक्तिले घुमाउरो पाराले परिवारका सदस्य, छरछिमेक तथा साथीभाइलाई भनिरहेका हुन्छन् । जस्तैः म त अब यति वर्ष मात्रै बाँच्छु, यहाँ बाँचेर के काम, अर्को वर्ष यतिबेला म यो धर्तीमा हुन्न, आदि आदि ।
वर्तमान समयमा विद्युतीय उपकरणका कारण घरमा सँगै भएर पनि हामी एक्लै एक्लै अवस्थामा हुन्छौं । मोबाइलमा व्यस्त भई परिवारका सदस्यसँग संवाद नै कम हुने गरेको सबैलाई विदितै छ । समस्यामा परेको व्यक्तिलाई यस्तो परिस्थितिले झनै उकुसमुकुस बनाइरहेको हुनसक्छ । एउटा व्यक्तिले आत्महत्याको घटना हुनुपूर्व २०औं पटकसम्म आत्महत्याको प्रयास गर्ने गरेको अनुसन्धानहरूले देखाएका छन् ।
आत्महत्याको सोचाइ बनाएको व्यक्तिले घुमाउरो पाराले परिवारका सदस्य, छरछिमेक तथा साथीभाइलाई भनिरहेका हुन्छन् । जस्तैः म त अब यति वर्ष मात्रै बाँच्छु, यहाँ बाँचेर के काम, अर्को वर्ष यतिबेला म यो धर्तीमा हुन्न, आदि आदि ।
अर्को महत्वपूर्ण तथ्य कहिलेकाहीं आत्महत्याको मनस्थितिमा रहेका व्यक्तिहरूले आफ्ना मूल्यवान् चिजवस्तुहरू एक्कासी अरूलाई दिने गरेको पनि अनुसन्धानहरूबाट देखिएको छ । त्यति मात्र होइन एक्कासी धेरै खुशी हुने, एक्कासी शान्त हुने, पहिले मन पर्ने कुराहरू मन पर्न छाड्ने वा रुचि घट्ने, आफ्नो मूल्यवान सामग्रीहरू अरूलाई बाँड्ने, आफ्नो चिजवस्तु आदिको संरक्षण गर्न अरूलाई अह्राउने, म मरें भने छोराछोरी हेरिदिनु भन्ने जस्ता संकेतहरू आत्महत्या गर्न खोज्ने व्यक्तिहरूले देखाइरहेका हुन्छन् ।
चरम निराशामा भएको व्यक्तिलाई आफ्नो जीवन अँध्यारो र शून्य लाग्छ । मेरो यहाँ केही अस्तित्व छैन, म मूल्यहीन छु । पृथ्वीबाट नै टाढा टाढा जान मन लाग्ने, समुद्रको गहिराइमा एक्लै बस्न मन लाग्ने जस्ता अनगिन्ती सोचाइ आउँछन् । त्यो सम्भव हुँदैन । आफन्तले पनि उसको भावना बुझ्दैनन् ।
कसैले नबुझेपछि उसले आत्महत्याको प्रयास गर्छ । यसरी व्यक्तिको व्यवहारमा एक्कासी परिवर्तन आएको, धेरै निराश भएको कुरा गर्ने र मर्न पाए हुन्थ्यो भन्ने कुरा गर्छ भने उसमा आत्महत्याको सोचाइ आएको हो कि भनी आफन्तजनले शंका गरी सोधीखोजी गर्नुपर्छ ।
आत्महत्या रोकथाम
आत्महत्या रोकथाममा नजिकको व्यक्ति, परिवार, साथीभाइ र आफ्ना आफन्तको अहम् भूमिका रहन्छ । मानसिक रूपमा अस्वस्थ भएका व्यक्तिलाई पहिचान गरी समयमै औषधि र मनोपरामर्श दिने र परिवार र आफन्तले त्यस्ता व्यक्तिको भावना बुझी सहयोग गर्न सके त्यस्ता आत्महत्या सहजै रोक्न सकिन्छ ।
व्यक्तिमा आत्महत्याको सोचाइ आएको वा प्रयास गरिसकेको रहेछ भने तुरुन्तै मानसिक रोग विशेषज्ञ वा तालिमप्राप्त मनोविमर्शकर्ता कहाँ लैजानुपर्छ । आत्महत्या रोकथाम एउटा व्यक्ति, एउटा परिवार, एउटा समूह, एउटा संस्था, मनोचिकित्सक, मनोपरामर्शकर्ताबाट मात्रै संभव छैन । आत्महत्या रोकथामका लागि समाजका हरेक व्यक्ति सचेत र जागरुक हुनुपर्छ । आत्महत्याको प्रयास गर्ने व्यक्तिलाई असह्य पीडाका कारण बाँच्न गाह्रो भएकोले यो कदम चालेको हो भन्ने बुझेर सहयोग गर्न जरुरी छ ।
कसैका कुरा हामीले उसले सुनाउन चाहेको जसरी त्यही तहमा सुनिदिने हो भने आत्महत्या गर्नबाट बचाउन सकिन्छ । आत्महत्या रोकथामका लागि प्रत्येक व्यक्तिले प्रत्येक व्यक्तिसँग उचित संवाद गर्ने बानी बसालौं । पीडामा परेको व्यक्तिले तपाइँले के भन्नुभयो भन्दा पनि मलाई कसरी बुझ्यो भन्ने कुरा मनन गर्छ ।
पीडामा परेको व्यक्तिले तपाइँले के भन्नुभयो भन्दा पनि मलाई कसरी बुझ्यो भन्ने कुरा मनन गर्छ । त्यसकारण परिवारका सदस्यले आफ्ना आफन्तले कुरा गर्न खोज्दा ध्यानपूर्वक कुराकानी वा संवाद गरौं । जसले आत्महत्या जस्तो दुर्घटना रोक्न मद्दत गर्दछ ।
त्यसकारण परिवारका सदस्यले आफ्ना आफन्तले कुरा गर्न खोज्दा ध्यानपूर्वक कुराकानी वा संवाद गरौं । जसले आत्महत्या जस्तो दुर्घटना रोक्न मद्दत गर्दछ । हामीलाई प्रकृतिले दुई सुन्ने कान र एक बोल्ने मुख दिएको छ । यसको सही सदुपयोग गरौं समस्यामा परेका व्यक्तिका कुरा धेरै सुनौं र कम बोलौं ।
आत्महत्याको घटना भन्दा आत्महत्या प्रयासका घटनाहरू बढी भए पनि ती घटना बाहिर आउँदैनन् । मानसिक स्वास्थ्यका विषयमा भएको लाञ्छनालाई चिर्न नसकेर लुकेर औषधि खानुपर्ने, थाहा पाए विवाह हुन नै गाह्रो, समाजले पनि नानाथरीको संज्ञा दिने आदि कारणले मानसिक स्वास्थ्य बारे खुलेर छलफल हुनसकेको पाइँदैन । आत्महत्या रोकथामका लागि अब आम नागरिक सचेत हुन जरूरी छ ।