बिहान कुरिनटारको रु १० को बन्दा, दिनभरी हल्लिँदै-हल्लिँदै, बेलुका जगडोल र इमाडोलको भान्सामा पुग्दा रु ७० बनाइदिने काठमाडौं तिमी कति भाग्यमानी।तराईको चैते धुपमा फूल हेर्छ, बैशाखको खडेरीमा चिचिलो चिमट्छ, जेष्ठमा टुमुक्क दाना देखेर रमाएको लाहानको, किसानको आँपको मूल्य तिमीले नै तोकिदिनु पर्ने, काठमाडौं तिमी कति भाग्यमानी।
झिसमिसेमै टुपु-टुपु टिपिएको इलामको चिया र ज्यान जस्तै जतन गरिएको ताप्लेजुङको अलैंचीको भाउ, जुंगामा ताउ लाउँदै, तिमीले नै तोक्नु पर्ने, काठमाडौं तिमी कति भाग्यमानी।बट्टारका बाले पाठो बेचेर थैलीमा राखेको पैसा, छोरा पढाउने निहुमा, कीर्तिपुरमा कोठाभाडा तिर्नु पर्ने, काठमाडौं तिमी कति भाग्यमानी।साग बेचे पैसा, खाग बेचे पैसा, उन बेचे पैसा, सुन बेचे पैसा, खरानी बेचे पैसा,
जवानी बेचे पैसा, मान्छे बेचेर नि कमाएकी छाै, आफ्नै बेचेर नि रमाएकी छौ, काठमाडौं तिमी कति भाग्यमानी।संदुकलाई संरक्षण दिएकी छाै, भगवान नै डाक्टर पाएकी छाै, छातिमा पेसमेकर राखेर नै जतनसाथ महजोडी हुर्काएकी तिमीले, व्यबहारले पाको कोही नभेटेरै त होला ३२ बर्षे बालेनलाई महानगरको साचो थमाएकी छाै, वाह! काठमाडौ तिमी कति भाग्यमानी ।
दुलेगौंडामा दुर्घटना परेको विरामी, हतार-हतार पोखरा पुर्याउँदा, डाक्टर स्वंयम् भन्दैछन रे, “काठमाडौं लगिहाल्नुस, हाम्रो केही लाग्दैन”! कतिलाई जीवनदान दिएकी छाै काठमाडौं तिमी कति भाग्यमानी।बास नहुनेलाई बास दिएकी छौं, भोकालाई गाँस, नांगालाई कपास दिएकी छौ, त्यसैले त होला, मेचीलाई तिमी चाहिने कालीलाई तिमी चाहिने, सके घर चाहिने, नसके घडेरी चाहिने, सक्दै-नसक्नेलाई पनि, भाडामै तिमी चाहिने, काठमाडौं तिमी कति भाग्यमानी।
आखै अगाडि बंशै मासिएको देखेकी छाै, मान्छेको बिश्वास किन पो गर्थ्यौ र त्यसैले त, फुलचोकी, चन्द्रगिरि र नागार्जुनहरुलाई पहरेदार राखेकी छौ, काठमाडौं तिमी कति भाग्यमानी।
न त जाडो छ न त गर्मी छ, मौसमले पनि तिमीलाई नै खोज्नु पर्ने, अहिलेको त कुरै छोडौं, उहिल्यै पनी राजाले “राजधानी” तिमीलाई नै रोज्नु पर्ने, काठमाडौं तिमी कति भाग्यमानी।
बर्षौं देखि फोहोर थुप्रिएर हो नि! डुङगडुङग गन्हाएका, नत्र कम्ता पवित्र थिए तिम्रो भागमा परेका बागमती बिष्णुमती इच्छुमतीहरू, त्यसैले त होला ! कम्मर कसेर, “बालेन” महानगर झरेको छ, जतासुकै डोजर चलेको छ, काठमाडौं तिमी कति भाग्यमानी।
घिरौंलाका घाँउजस्ता उबड-खावड गाठागुठी लिएर, स्याहार नपुगेर सुसुपाल, देशभरी राजमार्गहरु रोइरहेकाे बेला, गल्ली-गल्ली टायल चट्ट टालेकै छ, दिनहुँ पानी हालेकै छ, स्वंयम्भूका शान्त आँखा तिम्रो बालेनले न्यूरोडको गेटमै झारेको छ, काठमाडौं तिमी कति भाग्यमानी।
हिजो अर्कैसँग, आज अर्कैसँग, न लाज छ न सरम छ कुर्सीको लागि इज्जतै नभएकाहरुको भिडबाट, पैसे नचाहिने ३२ बर्षे बालेन फुत्त ल्याएकी छौ, काठमाडौं तिमी कति भाग्यमानी।
जता भारी उतै सवारी जस्तो, निसाप दिनु पर्ने भगवानहरु, हिसाबको पछि लाग्दा, ढल्किएर लड्खडाएको तराजु समाउन तिम्रै बालेन पुग्नु पर्ने, काठमाडौं तिमी कति भाग्यमानी।
संदुकलाई संरक्षण दिएकी छाै, भगवान नै डाक्टर पाएकी छाै, छातिमा पेसमेकर राखेर नै जतनसाथ महजोडी हुर्काएकी तिमीले, व्यबहारले पाको कोही नभेटेरै त होला ३२ बर्षे बालेनलाई महानगरको साचो थमाएकी छाै, वाह! काठमाडौ तिमी कति भाग्यमानी ।
बिकास गर्न, न त पहाड फोड्नु पर्ने न त ढुंगा बोक्नु पर्ने, मन्जुश्रीले ताल चट्ट काटेर, च्याट्ट परेकि तिमी, आफै लोभ-लाग्दी भएर हौली, हेरिरहु लाग्ने ३२ बर्षे ठिटासँग सुटुक्क लगनगाँठो कसेकी छाै, काठमाडौं तिमी कति भाग्यमानी।
पालिका त छन् नि! देश-भरी ७/८ सय, छैनन् र? पशुपतीनाथ दाहिना भएर त होला, तिम्रै भागमा बालेन पर्नु पर्ने, काठमाडौं तिमी कति भाग्यमानी, तिम्रै भागमा बालेन पर्नु पर्ने, काठमाडौं तिमी कति भाग्यमानी।
लेखक अर्याल त्रि.वि. भूगोल केन्द्रीय बिभाग कीर्तिपुरबाट विद्यावारिधी गर्दैछन्।