अप्पर स्यांगे हाइड्रोपावर लिमिटेडेको आईपीओ बाँडफाँड हुने मिति तय भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार असार २२ गते शुक्रबार आफ्नै कार्यालय नारायणचौर नक्सालमा बाँडफाँड गर्ने तयारी गरेको हो ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजार ४६३ आवेदनबाट १ अर्ब ३९ करोड ६४ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ६४ हजार ७१० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २५.८८ गुणा बढी हुन आउँछ । मागभन्दा बढी आवेदन परेका कारण सो आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । यस अनुसार कम्पनीको आइपीओमा आवेदन गर्ने ५३ हजार ९५० जनाले मात्रै १० कित्ताको दरले शेयर पाउने भएका छन्। बाँकी १२ लाख २८ हजार ५१३ जनाको भने हात खालि हुनेछ।
कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५० हजार कित्ता साधारण शेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत सामूहिक लगानी कोषलाई र २ प्रतिशत कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।