राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई)को रिजल्ट आजै सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजाको तथ्याङ्क शुद्धाशुद्धि परीक्षण गर्ने र परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी अन्तिम चरणमा रहेकोले एसईईको रिजल्ट बुधबार नै सार्वजनिक गर्ने तयारी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णका लागि बुधबार बोर्डको बैठक बस्दैछ । परीक्षा नियन्त्रक विष्णु नारायण श्रेष्ठका अनुसार एसईईको रिजल्ट बुधबार साँझ नै सार्वजनिक हुने सम्भावना प्रवल छ । अन्तिम समयमा प्राविधिक समस्या नआए आजै रिजल्ट सार्वजनिक गर्ने र कुनै प्राविधिक समस्या आएको अवस्थामा बिहीबार बिहान रिजल्ट सार्वजनिक गरिने श्रेष्ठले जानकारी दिएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले बुधबार गोरखापत्रमा एक सूचना सार्वजनिक गर्दै परीक्षाफल जाँच गर्ने तरिकाका बारेमा जानकारी गराएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिन्छ ।