भारतमा बाँध खोलिने : सतर्क हुन नेपालमा आग्रह

    महाकाली नदीको जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ।

    सूचना जारी गर्दै प्रशासन कार्यालयले भारतस्थित तपोवन धार्चुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकोले सतर्कता अपनाउन आग्रह गरेको हो।

    वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन बढ्दै गएको र पानीको प्रवाह वृद्धि हुँदै गएकाले बाँधको ढोका खोलिने धौलीगंगा पावर स्टेशन धार्चुलाबाट जानकारी प्राप्त भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

    उनले भने, ‘वर्षाका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएको र जुनसुकै वेला पनि बाँधका ढोका खोलिने जानकारी आएको छ। त्यसैले महाकाली नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छौं।’

    लगातारको वर्षा र बाँध खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी आसपासका बासिन्दालाई सचेत रहन र नदी वारपार नगर्न आग्रह गरिएको छ।

    दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको हो।

    धौलीगंगा जलविद्युत् परियोजनाको बाँध वर्षाका वेला हरेक वर्ष खोलिन्छ। परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि नेपाललाई पनि जानकारी गराइन्छ।

    विसं २०७० असार २ र ३ गते एक्कासी धौलीगंगाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *