नेपालमा महिलाले १८ र पुरुषले २० वर्षमा पहिलो पटक यौनसम्पर्क राख्ने अनुसन्धानको खुलासा

    नेपाली महिलाहरूले १८ वर्षको उमेरमा पहिलोपटक यौन सम्पर्क राख्ने गरेको अध्ययनले देखाएको छ। हालै मात्र सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ अनुसार २५-४९ वर्षका महिलाहरूको पहिलो यौन सम्पर्क राख्दाको उमेर १८ छ भने पुरुषहरूको २० वर्ष रहेको देखाएको हो।

    यस्तै भौगोलिक हिसाबले पनि पहिलोपटक यौन सम्पर्क राख्ने उमेर फरक देखिएको सर्वेक्षणले देखाएको छ। सर्वेक्षणको नतिजामा भनिएको छ‚ ‘भौगोलिक क्षेत्रको आधारमा महिलाहरूले पहिलो यौन सम्पर्क राख्ने उमेरमा भिन्नता देखिएको छ। तराई क्षेत्रका महिलामा १७.८ देखि लिएर पहाडी क्षेत्रका महिलामा १९.० वर्षसम्म रहेको छ।’

    यस्तै ३ प्रतिशत किशोरी र एक प्रतिशत किशोरले १५ वर्ष नपुग्दै विवाह गर्ने गरेको समेत सर्वेक्षणले देखाएको छ। सर्वेक्षणले २ प्रतिशत किशोरकिशोरीले १५ वर्षभन्दा कम उमेरमै यौन सम्पर्क राख्ने गरेको समेत देखाएको छ।

    सर्वेक्षणले पछिल्ला वर्षहरूमा नेपालको प्रजननदर घटेको पनि देखाएको छ। विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको तथ्यांकले देखाएको हो। कुल प्रजननदर २.१ मा घटाउने दिगो विकास लक्ष्य २०३० लाई पूरा गरेको छ। सन् २०१६ मा नेपालको प्रजजनदर २.३ थियो भने हाल २.१ छ।

    त्यसैगरी किशोरी अवस्थाको प्रजनन दर उच्च रहेको जसमा १५ देखि १९ उमेर समूहका १४ प्रतिशत किशोरी गर्भवती हुने अध्ययनले देखाएको छ।

    नेपालमा १५ देखि ४९ वर्षका विवाहित महिलामध्ये ५७ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै साधन वा विधि प्रयोग गर्छन्। तीमध्ये ४३ प्रतिशतले आधुनिक साधन वा विधि प्रयोग गर्छन्। विवाहित महिलाबीच सबैभन्दा लोकप्रिय आधुनिक साधन वा विधिमध्ये बन्ध्याकरण (१३%), त्यसपछि सुई (९%), र इम्प्लान्ट (६%) छन्।

    १५ प्रतिशत विवाहित महिलाले परिवार नियोजनको परम्परागत विधि अपनाएका छन्‚ तीमध्ये १३% ले वीर्य बाहिर खसाल्ने विधि र २ प्रतिशतले केही समय सम्भोग नगर्ने विधि अपनाएका छन्।

    विवाहित महिलाहरूमा परिवार नियोजनको आधुनिक साधन वा विधिको प्रयोग शहरी क्षेत्र (४१%) मा भन्दा ग्रामीण क्षेत्र (४७%) मा बढी देखिन्छ। प्रदेशअनुसार विवाहित महिलामा परिवार नियोजनको आधुनिक साधन वा विधिको प्रयोग गण्डकी प्रदेशमा ३५ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ४७ प्रतिशतसम्म रहेको छ। बढ्दो शिक्षा र घरपरिवारको सम्पन्नतासँगै आधुनिक साधन वा विधिको प्रयोग सामान्यतया घट्दै गएको देखिन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *