गुरुकुल शिक्षा : गहिराइमा जीवनको ज्ञान, मौलिक परीक्षा शैली

गुरुकुल शिक्षा : गहिराइमा जीवनको ज्ञान, मौलिक परीक्षा शैली

झट्ट गुरुकुलको अवधारणा सुन्नेले यो धर्मशास्त्र सिकाउने केन्द्रको रुपमा बुझ्ने गर्छन् । तर गहिराइमा बुझ्दा गुरुकुलको दुनियाँ सामान्य बुझाइभन्दा निकै गहिरो छ । यहाँ त धर्मशास्त्र कम र व्यावहारिक ज्ञानलाई बढी महत्व दिइन्छ, जुन व्यक्तिको इच्छा र उसको क्षमताका आधारमा पहिचान गरिन्छ ।

कोही व्यक्ति आयुर्वेदिक ज्ञानको लागि इच्छुक छ भने उसलाई सामान्य भाषाको ज्ञान दिइसकेपछि त्यसैमा केन्द्रीत गर्ने गरिन्छ । कोही व्यक्ति शस्त्रमा बढी पारंगत हुन चाहन्छ भने उसलाई सानै उमेरदेखि शस्त्रज्ञानमा मात्रै केन्द्रीत गराइन्छ । साथमा सबै शास्त्रहरु अध्ययनको क्रममा आफ्नो कुल धर्म र कर्तव्यलाई भने बढी महत्व दिनु गुरुकुलको मुख्य विशेषता हो ।

अहिले भारतवर्षमा २ किसिमको शिक्षा प्रणाली रहेको छ । एकातर्फ पूर्वीय शिक्षा पद्धतिको रूपमा रहेको गुरुकुल प्रणाली अनुसार अध्ययन अध्यापन गर्ने गरिन्छ भने अर्काेतर्फ पश्चिमा शिक्षा प्रणाली अनुसार विश्वविद्यालय प्रणालीको शिक्षा प्रणाली प्रचलनमा छ ।

जतिबेलासम्म भारत अँग्रेजको औपनिवेशिक नीतिको शिकार भएको थिएन, त्यतिबेलासम्म नेपाल भारत लगायत भारत वर्षका विभिन्न ठाउँमा ठूलाठूला गुरुकुलहरु सञ्चालित थिए । यहीँको माटो सुहाउँदो शिक्षाको लागि ती गुरुकुलहरु उपयुक्त पनि थिए । तर भारतमा औपनिवेशिक शासकले प्रवेश गरेपछि सिँगै गुरुकुल प्रणालीको रक्षा गर्ने जिम्मा नेपाललाई आयो । केही ठाउँमा राम्रै गुरुकुलहरू पनि खुले । तर अहिले पश्चिमा शिक्षा प्रणालीको छायामा गुरुकुल शिक्षा प्रणाली परेको छ ।

के हो गुरुकुल शिक्षा प्रणाली ?

गुरुकुल भनेको त्यो स्थान हो जहाँ गुरुको सानिध्यमा विद्यार्थीले आवासीय रुपमा शिक्षा ग्रहण गर्ने गर्छन् । पुरानो समयमा शिक्षकलाई आचार्यको रूपमा लिइन्थ्यो र त्यहाँ पढ्ने विद्यार्थीलाई उनको परिवार मानिन्थ्यो । त्यसैले त मातापितापछि आचार्यलाई देवताको कोटिमा राख्ने गरिन्थ्यो ।

प्राचीन गुरुकुलमा विद्यार्थीहरुको बीचमा कुनै भेदभाव भएको प्रमाण पाइँदैन । गुरुकुलमा वेदाध्ययन हुने भएकोले द्विज (यज्ञोपवित कर्म सम्पन्न भएको व्यक्ति)लाई मात्रै यसमा प्रवेश दिइन्थ्यो । तर त्यतिबेला जन्मको आधारमा वर्ण विभाजन नहुने भएकोले गुरुकुल आउने जोकोहीले पनि आफ्नो वर्ण परिवर्तन गरेर वेदाध्ययन गर्न पाउँथ्यो ।

गुरुकुलको अध्यापन शैली
गुरुकुलमा अहिलेको शिक्षा प्रणालीजस्तो निश्चित समयमा विद्यालय आएर पढ्ने भन्ने यकिन रुटिन हुँदैन । गुरु र शिष्य सधैंभरि सँगसँगै हुने भएकोले जुन सुकै बेलामा पनि काममा जानुपर्ने हुन सक्छ र जुनसुकै बेलामा पनि औपचारिक कक्षा सुरु हुन सक्छ । सामान्यतया गुरुकुलका छात्रहरु बिहान ४ बजे नै उठ्ने गर्छन् र १० बजेसम्म अध्ययन वा अन्य काममा सक्रिय हुने गर्छन् । बिहानको समय सामान्यतया नित्यकर्म र वेदाध्यायनमा सक्रिय गराइन्छ भने दिउँसो हुँदै गएपछि अन्य आवश्यक काम र अध्ययन एकसाथ जाने गर्छ । गुरुकुलमा सैद्धान्तिक अध्ययनभन्दा व्यावहारिक अध्ययनलाई बढी महत्व दिने गरिन्छ ।

गुरुकुलको मौलिक परीक्षा
गुरुको सेवा गरेर विभिन्न किसिमका सैद्धान्तिक एवं व्यावहारिक ज्ञान सिकाउने शिक्षा प्रणाली गुरुकुल शिक्षा प्रणाली हो । यो शिक्षा प्रणालीमा औपचारिक परीक्षा हुँदैन । तर हरेक समय नीति, व्यवहार र उसको व्यावसायिक कौसलको परीक्षा भइरहन्छ । प्राचीन समयमा दीक्षान्तको समयमा केही कठिन परीक्षा लिने गरिन्थ्यो । त्यो परीक्षामा सफलता हासिल गर्न सकेमा विद्यार्थीलाई दीक्षान्त दिइन्थ्यो ।

सबै ज्ञान दिइसकेपछि प्राचीन समयमा गुरुकुलबाट दीक्षित विद्यार्थीलाई गुरुले एउटा लौरो दिएर घना एवं हिंस्रक जनावर रहेको जंगल छिचोलेर आउन भनिन्थ्यो । विद्यार्थीको सहाराको रुपमा त्यही एउटा लौरो हुन्थ्यो । तर छद्म किसिमकले गुरुले उसलाई नियालिरहेका हुन्थे । शिष्यले छिचोल्न नसक्ने खालको बिघ्न प¥यो भने गुरु अघि सर्थे । त्यो परीक्षा विद्यार्थीले पूरा गर्न सक्यो भने विद्यार्थी दीक्षित हुन्थ्यो भन्ने विभिन्न ऐतिहासिक ग्रन्थहरुमा प्रमाण पाइन्छ ।

के पढाइ हुन्छ गुरुकुलमा ?
गुरुकुलमा अध्ययन गरेका आर्यभट्टले इसाको पाँचौं शताब्दीतिर खगोल शास्त्रको रचना गरे । गुरुकुलकै उत्पादनले प्राचीन समयदेखि नै शताब्दीऔं टिक्ने ठूला ठूला भवनहरु निर्माण भए । यसरी गुरुकुल केवल धर्मशास्त्र मात्रै अध्ययन गराउने केन्द्र नभएर जीवन उपयोगी सबै किसिमका शिक्षा दिने गरिन्थ्यो ।

गुरुकुलमा अध्ययन गर्दैगर्दा मान्छेले आधारभूत जीवन उपयोगी ज्ञानहरु सिक्ने गर्दथ्यो । जस्तो नदी तर्ने बेलामा गल्तीले बगेको मान्छेलाई पौडिएर कसरी किनारा भेट्टाउने भन्ने ज्ञान दिइन्थ्यो । गृहस्थमा आवश्यक पर्ने सामग्रीको गर्जाे टार्ने जस्ता विषय पनि गुरुकुलमा पढाइन्थे ।

पुरातन समयमा धौम्य, च्यवन, द्रोणाचार्य, सन्दीपनी, वसिष्ठ, विश्वामित्र, वाल्मीकि, गौतम, भारद्वाज जस्ता ऋषिका आश्रमहरू प्रसिद्ध गुरुकुलको रूपमा थिए । बौद्ध कालमा, गुरुकुल जगप्रशीद बुद्ध, महावीर र शंकराचार्यको परम्परासँग सम्बन्धित थियो, जहाँ मुमुक्षु विश्वभरिबाट आउँथे र जहाँ सबै प्रकारको शिक्षा गणित, ज्योतिष, खगोल विज्ञान, विज्ञान, भौतिक विज्ञान आदिको ज्ञान दिइन्थ्यो ।

प्रत्येक गुरुकुल यसको छुट्टाछुट्टै विशेषताका लागि प्रसिद्ध थिए । कोही धनुर्विद्याका कारण चर्चित थिए भने कोही वैदिक ज्ञान दिनमा चर्चित थिए । कोही(कोही ज्योतिष र खगोल विद्यामा समेत सिकाउने गर्दथे । हिजो आज हरेक विषयको फरक कलेज भए जस्तै गुरुकुल पनि फरक ज्ञानको लागि खुलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *