हामी स्थायित्वका पक्षमा छौं, एमालेको पछि लाग्दैनौं : सभापति लामिछाने

हामी स्थायित्वका पक्षमा छौं, एमालेको पछि लाग्दैनौं : सभापति लामिछाने

प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकारको स्थायित्वको पक्षमा रहेको बताएका छन् । उनले आफ्नो पार्टी छुट्टै प्रतिपक्ष भएकाले प्रमुख प्रतिपक्ष एमालेको पछि नलागेको पनि बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रमुख प्रतिपक्षी एमालेको पछि लागेको भाष्य निर्माण गर्न खोजिएको भन्दै सभापति लामिछानले असन्तुष्टि पनि व्यक्त गरेका छन् । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछानेले आफ्नो एजेन्डामा अगाडि बढिरहेको बताएका छन् ।

गत वैशाख १० को उपनिर्वाचन यता सरकारमा सहभागी हुन प्रस्ताव आइरहेको उल्लेख गर्दै लामिछानेले तत्काल सरकारमा सहभागी हुने योजना नरहेको र त्यसबारे पार्टीमा छलफल पनि नचलाएको बताएका छन् । ‘उपनिर्वाचनपछि प्रधानमन्त्रीले सरकारमा सहभागी हुनुस् भनेर प्रस्ताव राख्नुभएको थियो, हामीले जाने इच्छा व्यक्त गरेनौं । उहाँहरूको जे समझदारी भएको छ त्योअनुसार नै गठबन्धन गए हुन्छ । हामी संगठन निर्माणमा नै लागेका छौं । हामी सरकारमा जाने रेसमा छैनौं,’ उनले भने, ‘हामी स्थायित्वका पक्षमा छौं । जनतामा सरकार आज नै ढल्ला कि, भोलि नै ढल्ला कि, गठबन्धन परिवर्तन भइहाल्ला कि भन्ने वातावरण नबनोस् भन्ने चाहन्छौं र जिम्मेवार राजनीतिक दलले चाहने पनि त्यै नै हो ।’

सत्तापक्षका दोस्रो र तेस्रो तहका नेताहरूले ‘सहयोग चाहिन्छ है’ भनिरहेको पनि लामिछानेले बताए । तर, ती प्रस्तावलाई आफूले गम्भीरतापूर्वक नलिएको उनको भनाइ छ ।

संसद् र बाहिर पनि राष्ट्रिय स्वतन्त्र पार्टी आफ्ना एजेन्डामा नै अघि बढ्ने लामिछानेको भनाइ थियो । उनले कुनै पनि दलको पछि लाग्ने र उनीहरूका एजेन्डा बोक्ने पक्षमा आफू नरहेको बताए । पुराना पार्टीहरूसँग विभिन्न चरणमा सहकार्य गर्दा उनीहरूसँगै गएको आरोप लागेको भन्दै उनले आफ्नो निर्णयमा चलिरहेको प्रष्ट पारे ।

‘पहिला सरकारमा जाँदा हामीलाई माओवादीको पछि लाग्यो, प्रचण्डको पछि लाग्यो भनियो । हाम्रा निर्णय हेर्नुभयो भने यति स्वतन्त्र रूपमा निर्णय गरेको अति नै कम दल छन् । गत पुस १० को निर्णयअनुसार उपसभामुख हाम्रो दलबाट हुने भन्ने थियो । त्यो अनुसार गयौं । सरकारमा बस्न सकुन्जेल बस्यौं । जब त्यो सहमति टुट्यो त्यसमा बसिरहनुपर्ने आवश्यकता भएन,’ उनले थपे, ‘प्रतिपक्षमा एमाले ठूलो दल होला तर हामी एमालेको पछि लाग्यो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । हामी एमालेको पछि लाग्ने होइन, जनताको मुद्दाको पछि लाग्ने हो । न हिजो हामी माओवादीको पछि थियौं, न कांग्रेसको पछि थियौं, न एमालेको पछि हौं ।’

प्रतिपक्षको बेन्चमा सँगै हुँदा जनजीविकाका साझा मुद्दामा एमालेसँग कुरा मिल्न जाने तर एमालेको पछि रास्वपा नलागेको लामिछानेको भनाइ थियो । एमालेले संसद् विकास कोषको विषयमा आफ्नो धारणा स्पष्ट नराखेपनि रास्वपा आफ्नो अडानमा कायम रहेको लामिछानेको भनाइ थियो ।

‘अहिले पनि प्रतिपक्षमा मुद्दा होलान् तर सबै एउटै हुन सक्दैन । जस्तो सांसद विकास कोषको नाम जे दिएपनि हाम्रो आफ्नो अडान छ । एमालेको अडान के हो त ?,’ उनको प्रश्न थियो । रास्वपा अरु नै दलको पछि लागेको भन्ने ट्याग ठिक नभएको उनको भनाइ थियो । मिटरब्याज सम्बन्धी विधेयकका बारेमा रास्वपाको मत स्पष्ट रहेको बताउँदै उनले सत्ता पक्षमा रहेका दलहरू नै बरु त्यसमा सहयोग नगर्ने पक्षमा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *