अझै केही दिन वर्षा हुने सम्भावना

    अझै केही दिन वर्षा हुने सम्भावना

    काठमाडौं उपत्यकासहित देशभर मनसुनी वर्षा भइरहेको छ।

    मुलुकमा मनसुनी वायुको आंशिक प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले देशका आधिकांश स्थानमा वर्षा भइरहेको हो।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले अझै केही दिन निरन्तर वर्षाको सम्भावना छ।

    महाशाखाका मौसमविद् विनु महर्जनले देशका धेरैजसो स्थानमा आगामी दुई-तीन दिन निरन्तर वर्षाको सम्भावना रहेको बताइन्।

    उनका अनुसार पछिल्लो एक घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ।

    शनिबार राति पनि कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्यांङसहित भारी वर्षाको सम्भावना छ। नेपालमा मनसुन गत वर्ष जेठ ३१ गतेदेखि प्रवेश गरे पनि देशभर फैलिन झन्डै दुई साता लागेको थियो। मनसुन प्रभावकारी नहुँदा पछिल्लो एक साता राम्रोसित वर्षा हुन सकेको थिएन।

    विगत दुई दिनयता भने देशका सबैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    ‘मनसुन न्यून चापीय रेखा नेपालको सरदर स्थानभन्दा दक्षिणतिर सरेको छ, सोही कारण विगत एक साताको तुलनामा केही दिनदेखि वर्षा निरन्तर भइरहेको छ। आगामी केही दिन वर्षा निरन्तर हुने देखिन्छ, कतिपय स्थानमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद् महर्जनले भनिन्।

    जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार साउन ६ गतेसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको छ। गत जेठ १८ देखि साउन ५ गतेसम्म देशभर सरदर ५३८.२ मिलिमिटर वर्षा भएको छ। मनसुन अवधिभर नेपालमा एक हजार ४६२ मिलिमिटर वर्षा हुने गरेको शाखाले जनाएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *