म्यानमार, कम्बोडिया र लाओसमा नेपाली युवाहरू बन्धक

म्यानमार, कम्बोडिया र लाओसमा नेपाली युवाहरू बन्धक

वैदेशिक रोजगारीका नाममा प्रत्येक दिन नेपाली ठगिन्छन् । मानव तस्करहरु ठगी गर्नको लागि अनेकौं प्रलोभन देखाउँछन् । ‘मासिक एक लाख तलब हुन्छ । बस्न र खान फ्रि,’ तस्करहरुले देखाउने यी सामान्य प्रलोभन हुन् ।

उनीहरुले भनेकै जति पैसा नबुझाउन्जेलसम्म यसैगरी प्रलोभन देखाइरहन्छन् । जब पैसा पाउँछन् अनि नेपाली युवाहरुलाई विभिन्न देशमा लगि अलपत्र पार्छन् । यसको पछिल्लो उदाहरण बनेका छन् रोजगारी खोज्दै दक्षिणपूर्वी एसियाली राष्ट्र थाइल्यान्ड, म्यानमार, कम्बोडिया र लाओस् पुग्ने नेपाली युवा ।

मानव तस्करको प्रलोभनमा परी गत वर्ष अर्थात् २०७९ मंसिर महिनामा नेपाली युवाहरुको एउटा समूह म्यानमार पुगी अलपत्र परेको थियो ।

Himalayan Bank
Dabur nepal
Agni Group
वैदेशिक रोजगारीको लागि म्यानमार पुगी अलपत्र परेर बाहिर आएको यो पहिलो घटना थियो । रोजगारीमा लगाइदिने भन्दै उनीहरुलाई तस्करहरुले म्यानमार पुर्‍याएका थिए । यसरी म्यानमार पुगेर नेपाली ठगिएको कुरा बाहिर आएपछि म्यानमारस्थित नेपाली दूतावासले पीडितहरुसँग भेट्ने, उनीहरुलाई उद्धार गरी नेपाल पठाउने काम गरेको थियो ।

त्यसपछि दूतावासले २०७९ पुस २६ गते एउटा विज्ञप्ति जारी गर्दै मानव तस्करको प्रलोभनमा परी म्यानमार नआउन अनुरोध गरेको थियो ।

“अनलाइन जुवा, कल सेन्टर–फ्रड, क्रिप्टो करेन्सी ठगी आदिमा संलग्न शंकास्पद आईटी फर्महरुले बैंककमा रोजगारीका अवसरहरुको प्रलोभन देखाई युवाहरुलाई लक्षित गरी गैरकानुनी रुपमा बैंकक हुँदै म्यानमार तथा सोझै म्यानमार ल्याई उनीहरुलाई कम्पनीहरुमा बन्दी बनाएर काम गर्न लगाइएको पाइएको छ,” साढे ६ महिनाअघि म्यानमारस्थित नेपाली दूतावासले अवस्थाको बारेमा जानकारी गराउँदै नेपाली युवाहरुलाई त्यसरी नआउन भनेको थियो ।

म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेका अनुसार सुरुमा मानवतस्करहरुले अनलाइन विज्ञापन निकाली नेपाली युवाहरुलाई आकर्षित गरेका थिए । उनीहरुको निसानामा दुबईमा कार्यरत र नेपालमै रहेका नेपालीहरु थिए ।

थाइल्यान्ड र म्यानमारको सूचना प्रविधि (आईटी) क्षेत्रमा ‘डिजिटल सेल्स एण्ड मार्केटिङ एक्जुकेटिभ्स’का रुपमा रोजगारी दिने प्रलोभन तस्करले नेपालीहरुलाई देखाएका थिए । त्यसपछि आकर्षित भएका नेपाली युवाहरुलाई उनीहरुले थाइल्यान्डको बैंकक र म्यानमारको याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न माध्यमले म्यानमारको कायिन प्रान्तको म्यावडी पुर्‍याउने गरेका छन् ।

म्यानमारको कायिन प्रान्तको म्यावडी यस्तो क्षेत्र हो जहाँ म्यानमारको सेना र विद्रोही समूहबीच संघर्ष चलिरहेको छ । त्यसक्षेत्र सरकारी सेनाको नियन्त्रणमा छैन ।

म्यानमारको म्यावडी पुर्‍याएपछि नेपाली युवाहरुलाई बन्दी बनाउने गरिएको छ । यहाँ नेपालीजसरी अन्य ३० देशका युवाहरुलाई पनि विभिन्न प्रलोभन देखाई लगिएको पाइएको छ । पुग्ने सबैको अवस्था उस्तै हो । म्यावडी पुगेपछि सबैभन्दा पहिले राहदानी खोसिन्छ, अनि बन्दी बनाइन्छ । त्यसपछि दैनिक १३ घण्टाभन्दा बढी समय काममा लगाइन्छ । तर तलब भने दिइँदैन ।

यी सबै थाहा पाएपछि म्यानमारस्थित नेपाली दूतावासले गत वर्ष नै भनेको थियो, “म्यानमार आउने नेपाली नागरिकहरुलाई थाइल्यान्ड र म्यानमारमा रोजगारीका विज्ञापनहरु प्रायः सामाजिक सञ्जाल प्लेटफर्महरुमार्फत् विभिन्न स्थानका एजेन्टहरुद्वारा प्रस्तावित हुने भएकोले उपरोक्त कुरालाई ध्यानमा राख्दै, नेपाली नागरिकहरुलाई सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य स्रोतहरुमा रहेका त्यस्ता नक्कली जागिरको प्रलोभनमा नपर्न अनुरोध गरिन्छ ।”

दूतावास यत्तिमै रोकिएन । मानव तस्करलाई कारवाही गर्ने चेतावनी पनि दियो । भन्यो, “वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा ल्याई अलपत्र पार्ने एवम् नेपाल सरकारको प्रचलित कानूनअनुरुप निषेध गरिएका कार्यहरुमा संलग्न हुने कार्य कानून बमोजिम दण्डनीय भएकाले यस्ता गैरकानूनी कार्यहरु नगर्न–नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा अनुरोध गर्दछ ।”

दूतावासले तस्करले देखाउने वैदेशिक रोजगारीको प्रलोभनमा परी थाइल्याण्ड र म्यानमार नआउन अनुरोध गरेको साढे ६ महिना बित्यो । तर तस्करहरुको प्रलोभनमा परी म्यानमार पुगी अलपत्र पर्ने क्रम रोकिएको छैन ।

सरकारले नआउन गरेको अनुरोधलाईभन्दा तस्करले देखाएको प्रलोभनलाई बढी विश्वास गरी म्यानमार पुग्दा धेरै नेपाली युवाहरुले अहिले दुःख पाइरहेका छन् । धेरै नेपाली युवाहरुले दुःख पाएपछि परराष्ट्र मन्त्रालयले गत शुक्रबार पुनः विज्ञप्ति जारी गर्दै नेपाली युवालाई तस्करहरुबाट जोगाउने प्रयास गर्‍यो ।

“थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक रोजगारी तथा तलब/सुविधाको प्रलोभन देखाई नेपालीहरूलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगी बन्दी बनाई अवैध काम गर्न बाध्य बनाउने गरेको र तलब÷सुविधा पनि नदिइएको जानकारी प्राप्त भएको छ,” दूतवाससले भनेको छ, “यस्तो प्रलोभनमा परी आउने नेपालीहरूलाई गैरकानूनी रूपमा थाइल्यान्डबाट स्थल मार्ग हुँदै म्यानमारको सो क्षेत्रमा लैजाने र रोजगारदाताले नेपाली राहदानीसमेत जफत गरी दैनिक १२–१३ घण्टासम्म अनलाइन ठगीलगायतका गैरकानूनी काममा लगाउने गरेको बुझिन आएको छ ।”

म्यानमारको म्यावडी क्षेत्रमा पुगी बन्धक बनाइएका तथा अलपत्र परेका नेपालीहरूले आफ्नो उद्धारका लागि नेपालस्थित आफन्तजन, म्यानमार र थाइल्याण्डमा रहेका नेपाली दूतावासमा सम्पर्क गर्ने गरेका छन् ।

दूतावासले स्थानीय सरकारसँग समन्वय गरी केही संख्यामा नेपालीहरूको उद्धार गरिसकेको छ । थप नेपालीको उद्धारको प्रयास भइरहेको छ । तर म्यानमारको उक्त क्षेत्र द्वन्द्वग्रस्त भएकोले उद्धार गर्नसमेत चुनौतीपूर्ण रहँदै आएको छ ।

म्यानमार पुगी बन्धक बन्नेहरु नेपालबाट श्रम स्वीकृति नलिई गएकाहरु छन् । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जान पाइँदैन । तर तस्करहरुले उनीलाई बिना श्रम स्वीकृति म्यानमार पुर्‍याउने गरेका छन् ।

यसैकारण दूतावासले विदेशमा रोजगारी गर्न जाँदा पर्यटक÷भिजिट भिसामा नगई श्रम स्वीकृति लिएर मात्र विदेश जान अनुरोध गरेको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले तस्करहरुले नेपाली युवाहरुलाई आकर्षक रोजगारीका प्रलोभनमा पारी बैंकक हुँदै म्यानमार मात्र होइन कम्बोडिया र लाओससमेत पुर्‍याउने गरेको जनाएको छ ।

बैंककस्थित दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “डिजिटल मार्केटिङको क्षेत्रमा काम लगाउने प्रलोभनमा पारी थाइल्यान्ड हुँदै म्यानमार, कम्बोडिया र लाओसमा नेपालीहरुलाई पर्यटक भिसामा लैजाने र अनधिकृत रुपमा गैरकानूनी कार्यमा लगाउने तथा बन्धक बनाउने गरेको पाइएको छ ।”

म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरे तस्करहरुले म्यानमार पुर्‍याई अलपत्र पारेका नेपालीको संख्या यति नै छ भनेर किटान गर्न नसकिने बताउँछन् ।

“हाम्रो उद्धार गर्नुपर्‍यो भनेर दूतावासको सम्पर्कमा आउने नेपाली युवाको संख्या ५० छ । यीमध्ये २० जनालाई उद्धार गरी हामीले नेपाल फर्काइसकेका छौं,” राजदूत घिमिरेले म्यानबारबाट टेलिफोनमार्फत् जानकारी दिए, “यस्तै, थाइल्यान्डबाट उद्धार गरी २६ जनालाई नेपाल पठाइएको छ । हालसम्म ४६ जनाको उद्धार भएको छ ।”

म्यानमार सरकारलाई अप्ठेरोमा परेका ५० जना नेपालीको उद्धारमा सहजीकरण गर्न लिखित रुपमा दूतावासले अनुरोध गरेको उनले जनाए । म्यानमार सरकारले पनि प्रयास गरेको छ तर विद्रोही नियन्त्रित क्षेत्रमा नेपालीलाई बन्धक बनाइएका कारण उद्धारमा कठिनाई भएको छ ।

“जुन क्षेत्रबाट नेपालीहरुले उद्धारको लागि अनुरोध गरिरहेका छन् त्यो ठाउँ विद्रोहीको नियन्त्रणमा छ । त्यहाँ जान सकिँदैन । यसैकारण उद्धारमा कठिनाई भइरहेको छ,” राजदूत घिमिरेले भने । बन्धक बनाइएका नेपालीहरुसँग तस्करहरुले १० देखि २० हजार अमेरिकी डलर माग्ने गरेका छन् ।

उनले भने, “सम्पर्कमा आएका नेपालीहरुले काम छोडेर जान्छु भन्दा तिमीहरुलाई यहाँ ल्याउन १० देखि २० हजार अमेरिकी डलर खर्च भएको छ, त्यो देऊ अनि जान पाउछौ भन्छन् भन्ने सुनाउने गरेका छन् ।”

राजदूत घिमिरेका अनुसार आइटी कम्पनीमा डाटा इन्ट्री कामका लागि कामदार आवश्यकता भएको भन्दै तस्करहरुले अनलाइन विज्ञापन निकाल्ने गर्छन् । नेपाली युवाहरुले आवेदन दिने गर्छन् । उनीहरुलाई तस्करले सुरुमा बैंकक बोलाउने गरेको उनी बताउँछन् ।

“बैंककको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेपछि गाडीमा राखेर नेपाली युवाहरुलाई थाइल्यान्ड र म्यानमारको सीमामा पुर्‍याउने गरेको देखिन्छ । उनीहरुलाई मुख्य पूलबाट (नाका)बाट नलगी माछा मार्नेहरुको डुंगामा राखेर लुकाएर म्यानमार लैजाने गर्छन् । म्यानमार प्रवेश गर्नेबित्तिकै नेपालीको पासपोर्ट तस्करहरुले खोस्ने र जबरजस्ती काममा लगाउने गरेको पीडितहरुले बताउने गरेका छन्,” राजदूत घिमिरेले भने ।

तस्करहरुको प्रलोभनमा परी म्यानमार पुग्नेहरुको समस्या गम्भीर रहेको उनी बताउँछन् । पासपोर्ट नहुँदा, सम्पर्क गर्ने फोन आदि नहुँदा धेरै नेपाली बन्धक बनी चुपचाप काम गरिरहेको हुनसक्ने उनले जनाए । यति भइसक्दा पनि नेपाली युवाहरु तस्करको प्रलोभनमा परी म्यानमार जाने क्रम रोकिएको छैन ।

“म त भन्छु बिना श्रम स्वीकृति यहाँ आउँदै नआउनोस् । अझ काम गर्नको लागि कसैले भिजिट भिसामा बोलाउँछ भने सीधै बुझ्नुपर्छ तस्करले फसाउँदै छन् । यदि कसैले रोजगारको लागि बोलाउँछ भने नेपाली दूतावास र वैदेशिक रोजगार विभागसँग बुझेरमात्र प्रक्रिया अगाडि बढाउनु पर्छ । नत्र फसिन्छ,” राजदूत घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *