कोलस्ट्रोल भनेको शरीरमा जम्मा हुने बोसोजस्तै पदार्थ हो। धेरैजसो कोलस्ट्रोल कलेजोले उत्पादन गर्छ। खासगरी दूध, मासु लगायतका पदार्थबाट कोलस्ट्रोल बढ्छ।कोलस्ट्रोल बढेको आफैं थाहा हुँदैन किनकि यो बढे पनि पोल्दैन र दुख्दैन। रगतको परीक्षण गरेपछि मात्रै थाहा हुने हो। कोलस्ट्रोल रक्तनलीको भित्तामा गएर बस्छ।
खराब कोलस्ट्रोलको रूपमा रहेको एलडिएल कोलस्ट्रोल धेरै भएमा रगत बग्न बन्द गराउन सक्छ।जसले गर्दा हृदयघातको खतरा हुन्छ। त्यस्तै, मस्तिष्क पक्षघात समेत यसले गराउन सक्छ। त्यसबाहेक हातका खुट्टाका नलीको भित्तामा गएर बस्छ र त्यो ठाउँमा समस्या ल्याउँछ।एचडिएल कोलस्ट्रोलले भने शरीरलाई फाइदा गर्छ।
यसले खराब कोलस्ट्रोललाई बाहिर निकाल्न सहयोग गर्छ। जसलाई पहिला नै हृदयघात या पक्षघात भएको छ भने एलडिएल १०० भन्दा कम हुनुपर्छ। रोग लागेको छैन भने १६० या १९० भन्दा माथि भयो भने मात्र औषधी खानुपर्छ।कोलस्ट्रोल घटाउनको लागि औषधी खानुपर्छ भने व्यायाम गरेर पनि घटाउन सकिन्छ। त्यस्तै, रक्सी, चुरोट खानु हुँदैन।
औषधी नखाएर पनि कोलस्ट्रोल घटाउन सकिन्छ। रक्सी खाने अनि रक्सीसँग मासु धेरै खाने बानीले झन् कोलस्ट्रोल बढ्छ। सुगर भएकाहरूले अझै ख्याल गर्नुपर्छ। अरू केही छैन कोलस्ट्रोल मात्र देखिएको छ भने व्यायाम गरेर कोलस्ट्रोल घटाउन सकिन्छ।टिजी भनेको अर्को चिल्लो पदार्थ हो। यसले पनि मुटुलाई असर पार्न सक्छ।
टिजी बढ्ने मुख्य कारण चिल्लो नै हो। दक्षिण एसियामा टिजी बढ्ने समस्या धेरै छ। पेट लाग्नेहरूमा टिजी धेरै देखिन्छ। कार्बोहाइड्रेट धेरै खानेहरूमा समेत टिजी धेरै देखिन्छ।कोलस्ट्रोलको औषधी सधैं खानुपर्छ भन्ने छैन। हृदयघात भइसकेका बिरामीले सधैं खान पर्छ। तर कोलस्ट्रोल सामान्य भयो अनि अरू समस्या छैन भने औषधी छोड्न मिल्छ।