कस्ता व्यक्तिलाई आउँछ जनै खटिरा ? कसरी उपचार गर्ने ? जान्नुहोस

    हामी कहाँ जनै खटिरालाई पनि पापको फल मान्ने चलन छ । जनैखटिराको विषयमा नबुझेर कतिपय झारफुक गर्नतिर लाग्ने चलन पनि छ ।जनैखटिरा जनैजस्तै शरीरमा आउँछ, यदि त्यो जनै जसरी जोडिएमा व्यक्तिको मृत्यु पनि हुने

    अन्धविश्वास अझै हाम्रो समाजमा छ। तर समयमै उपचार पाएन भने चाँही बिरामीको मृत्यु पनि हुने चिकित्सकको भनाइ छ ।हामीले जनै खटिरा कस्तो रोग हो ? भनेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका छाला तथा यौन रोग विभागका सिनियर कन्सल्टेण्ट डा. आनन्द नेपालसँग कुराकानी गरेका छौँ ।

    खासमा जनैखटिरा के हो ?

    जनैखटिरा प्रायः बढ्दो उमेर तथा रोग प्रतिरोधि क्षमता कमजोर हुने व्यक्तिमा देखा पर्छ । घाउ, चोटपटक, औषधीको साइड इफेक्टजस्ता थुप्रै कारणले पनि यो रोग लाग्छ ।यो रोग एक पटक लागिसकेपछि फेरि हुने सम्भावना कम हुन्छ । जनैखटिरा एकप्रकारको छाला सम्बन्धी संक्रमण हो जुन अत्यन्त पीडादायी हुन्छ । यो संक्रमण ‘वेरिसेला जोस्टर’ नामक भाइरसका कारण हुनेगर्छ । यसको संक्रमण जोर्नी, शरीरका कुनाकाप्चा लगायत छाला तथा अनुहारको कुनैपनि भागमा देखिनसक्छ । यसलाई ‘हर्पस जोस्टर’ पनि भनिन्छ ।

    किन हुन्छ जनैखटिरा ?

    ठेउला गराउने भाइरस शरीरमा पुनः सक्रिय भएमा जनैखटिरा देखिने गर्दछ। जब व्यक्तिलाई एक पटक ठेउला हुन्छ, त्यसपछि यसको भाइरस शरीरको तन्त्रिका प्रणालीमा सुप्तअवस्थामा रहनेगर्छ । कुनै व्यक्तिमा आजीवन यही अवस्थामा रहने गर्छ भने केहीमा तनाव, प्रतिरक्षा प्रणाली कमजोर भएमा यो भाइरस पुनः जागृत हुनेगर्छ ।

    केही औषधीले पनि यस भाइरसलाई जगाउन अहं भूमिका निर्वाह गर्छ । फलतः जनैखटिरा देखापर्छ । फेरि जागृत भएको भाइरसले ठ्यौला नभई केबल जनैखटिरा मात्र गराउँछ । चिकित्सकहरूका अनुसार जनैखटिरा आफैंमा संक्रामक रोग होइन ।

    त्यसैले यो रोग अन्य व्यक्तिको सम्पर्कमा आउँदैमा सर्दैन । यत्ति हो कि, जसलाई एक पटक पनि ठेउला भएको छैन वा जसले ठेउलाको खोप लगाएको छैन उसलाई भने जनैखटिरा हुने सम्भावना बढी हुन्छ ।

    जनै खटिराका लक्षणहरु कस्ता हुन्छन् ?

    जनै खटिराका लक्षण विभिन्न चरणमा देखिने गर्छ । सबैभन्दा पहिले टाउको दुख्ने तथा उज्यालोप्रति संवेदनशील हुन्छ । ज्वरो आएजस्तो महसुस भए पनि ज्वरो आएको हुँदैन ।शरीरका कुनै भागमा चिलाएको महसुस हुने तथा त्यस ठाउँमा पीडा हुने गर्दछ । जोर्नी तथा शरीरका कुनाकाप्चामा घाउ तथा खटिरा हुने गर्दछ । यस्तो खटिरा विस्तारै ससाना विमिरामा परिणत हुनथाल्छ ।

    यो विमिरामा पानी भरिन्छ र त्यसको बाहिर पाप्रा जम्न थाल्छ । यस्तो समस्यालाई ठीक हुन दुईदेखि चार हप्तासम्म लाग्न सक्छ । केहीमा त यसको कारण दाग समेत बस्ने गर्छ ।

    यसकै कारण केहीलाई चक्कर लाग्ने तथा शरीरमा कमजोरी महसुस हुने गर्छ । केहीलाई लामो समयसम्म अनुहारमा पीडा महसुस हुने तथा खटिरा आउने गर्दछ । यसकै कारण व्यक्तिको सोच्ने तथा हेर्ने क्षमतामा समेत नकारात्मक असर पर्नसक्छ । जनैखटिराका कारण कुनै समस्या भएमा तुरुन्तै चिकित्सककहाँ जानु पर्दछ ।

    ४. उपचार कसरी गर्न सकिन्छ ?

    औषधी सेवनद्वारा पनि जनैखटिरा निको पार्न सकिन्छ । यस्ता औषधीमा एन्टीभाइरल तथा दुखाइ कम गर्ने औषधी समेत समावेश हुने गर्दछ । सक्दो छिटो एन्टीवायरल औषधी लगाउनाले जनै खटिराका कारण हुने घाउ निको हुने गर्छ ।

    साथै, दुखाइ पनि कम हुन थाल्छ । जनैखटिराको घरेलु उपचार पनि निकै प्रभावकारी हुन्छ । यसलाई फुकेर तथा बाघको चित्र बनाएर पनि ठीक पार्ने गरिन्छ तर यो अन्धविश्वाससँग सम्बन्धित भएकाले यसैको भर पर्नु उचित नहुनसक्छ ।

    घरमा यसरी गर्ने हेरचाह

    घरमै राम्रो हेरचाह गरेर पनि यो समस्या निको पार्न सकिन्छ । त्यसको लागि छालामा देखा परेको कुनै पनि घाउ वा संक्रमणलाई बेवास्ता गर्नु हुँदैन । सरसफाइमा ध्यान दिनु आवश्यक छ । चिकित्सकहरूको सल्लाहअनुसार नियमित रूपमा औषधीको सेवन गर्नुपर्छ ।

    ५. कसलाई हुन्छ जनै खटिरा ?

    एकपटक ठ्यौला भइसकेको कुनै पनि व्यक्तिलाई जनै खटिरा हुनसक्छ । ५० वर्षभन्दा माथिको उमेर छ र रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने त्यस्ता व्यक्तिलाई पनि जनै खटिरा हुने सम्भावना अधिक हुन्छ ।

    त्यसैले उनीहरूका लागि यस विरुद्धको खोप समेत बजारमा उपलब्ध छ । खोप लगाएपछि जनैखटिरा हुने तथा लामो समयसम्म दुखाइ रहने सम्भावना कम हुन्छ । हालै मात्र गरिएको एक शोधअनुसार ४० वर्षभन्दा कम उमेरमा जनैखटिरा हुने व्यक्तिलाई स्ट्रोकको खतरा बढ्ने गर्छ भने हृदयाघातको खतरा समेत बढी हुन्छ ।

    शोधका प्रमुख लेखक तथा लण्डन विश्वविद्यालयका वायोलोजी तथा इन्फेक्सन एन्ड इम्युनिटीका प्रोफेसर डा. जुडिथ व्यूररले जनाए अनुसार ४० वर्षमुनि यो समस्या हुने व्यक्तिलाई मुटुको समस्या देखा पर्ने सम्भावना बढी हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *