गोरखामा ५२ किलो तौलको टल्कने ढुंगा प्रहरीले जफत गरेको विषयले अहिले निकै चर्चा पाइरहेको छ।
गत असार १४ गते गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलका चन्द्रमान शाहीको घरबाट प्रहरीले बरामद गरेको पारदर्शी ढुंगा क्रिस्टल क्वार्ज रहेको बुधबार पुष्टि भइसकेको छ।
शाही परिवारले उक्त ढुंगालाई वर्षौंदेखि देवता मानेर पुज्दै आएका थिए। धार्मिक आस्थासँग जोडिएको विषय भएकाले उक्त ढुंगा काठमाडौं पठाउन नमिल्ने भनेपछि खानी तथा भूगर्भ विभागका कर्मचारी नै गोरखा पुगेर जाँच गरेका थिए।
भूगर्भविद् सुस्मिता भण्डारी र दुर्गा बेलाखेले दुई दिन लगाएर बुधबार परीक्षण सकाउँदा उक्त ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि भएको हो। विभागले उक्त धातुलाई बहुमूल्य पनि भनेको छ।
क्वार्ज क्रिष्टल रहेको पुष्टि भएपछि विभागले त्यसलाई काठमाडौं ल्याउने तयारी थालेको छ।
विभागले बहुमूल्य भनेको ढुंगाको मूल्य कति हो? भन्नेबारे विभिन्न अनुमान भइरहेका छन्। करोडौं मूल्य पर्ने भएकाले सरकारले संग्रहालयमा राख्न लागेको विषयहरू पनि आएका छन्।
टल्कने ढुंगाको मूल्य कति होला भन्ने चर्चा गर्नुअघि खानी तथा खनिज पदार्थ नियमावली २०५६ हेरौं। नियमावलीको अनुसूची १ ले नेपालमा पाइने खनिज पदार्थलाई धातु खनिज र अधातु खनिजमा वर्गीकरण गरेको छ। क्वार्ज क्रिष्टल अधातु खनिजमा पर्छ।
अनुसुची १ (२)मा खनिज पदार्थलाई तीन तहमा वर्गीकरण गरिएको छ। जसमा अति महत्वपूर्ण, महत्वपूर्ण तथा बहुमूल्य र सामान्य खनिज छन्। क्वार्ज क्रिष्टल महत्वपूर्ण तथा बहुमूल्य खनिजमा पर्छ।
क्वार्ज क्रिष्टलसँगै जस्ता, चाँदी, सिसा, कोबाल्ट, निकल, टिन, टंगस्टन, म्याग्नेसाइट लगायतका खनिज पनि महत्वपूर्ण तथा बुहमूल्यमा पर्छन्।
सामान्य खनिजमा नुन, गेरू, औद्योगिक माटो, साधारण माटो, सिलिका बालुवा, केओलिन, अभ्रख, ग्रेनाइट, बालुवा गिट्टी लगायतका खनिज पदार्थहरू पर्छन्।
यो पनि पढ्नुस्:
टल्कने ढुंगा बहुमूल्य क्वार्ज क्रिष्टल भएको पुष्टि, गोरखामै राख्ने कि काठमाडौं पठाउने विवाद
गोरखामा भेटिएको टल्कने ढुंगा नेपालमा पाइने खनिजहरूमध्ये सातौं तहको खनिज भएको पुष्टि छ। त्यसो भए उक्त खनिज कति मूल्यवान हो?
विभागअन्तर्गत खनिज प्रवर्द्धन तथा प्रशोधन केन्द्रका सिनियर डिभिजनल जियोलोजिष्ट कुशलनन्दन पोखरेलका अनुसार धातुको कडापन (हार्डनेस) का आधारमा त्यसको वर्गीकरण हुन्छ। कडापनका आधारमा १ देखि १० सम्मको अंक कायम गरिएको हुन्छ।
‘सबैभन्दा कमसल अर्थात् कम कडा भएका खनिज १ नम्बरमा पर्छ र सबैभन्दा कडा खनिज १० नम्बरमा पर्छ,’ उनले भने।
उनका अनुसार कडापनका आधारमा हिरा १० औं तहको खनिज हो। सोहीअनुसार क्वार्ज क्रिष्टल सातौं तहको हो।
‘दसौं तहको हिरा महंगो हुन्छ भन्ने कुरालाई आधार मानेर सातौं तहको क्वार्ज क्रिष्टल पनि त्यस्तै महंगो पर्छ भन्ने होइन,’ पोखरेलले भने, ‘कडापनका आधारमा हो, मूल्यमा आधारित वर्गीकरण होइन।’
क्रिष्टलहरूमध्ये सेतो रङका क्रिष्टल सामान्य मानिने पनि उनले बताए। गोर्खामा भेटिएको क्रिष्टल पनि दुर्लभ होइन। उनका अनुसार क्वार्ज क्रिष्टल आफैंमा मूल्यवान् खनिज पनि होइन।
‘दुर्लभ रङ र आकार भएमा मूल्यवान् पनि हुनसक्छ,’ पोखरेलले भने।
क्वार्ज क्रिष्टलको मूल्य यति नै भनेर निर्धारण नगरिएको पनि उनले बताए। किन्ने र बेच्नेबीच आपसी समझदारीमा जसले जतिमा पनि बेचिरहेका हुन्छन्। साधारण देखिने क्वार्ज क्रिष्टल पाँच सयदेखि एक/दुई हजार रुपैयाँ प्रतिकिलोमा बिक्री हुने उनले बताए।
‘प्रकाश दिँदा चम्किने भएकाले यसप्रति आकर्षित भएर महंगो मूल्य तिर्न तयार पनि हुन सक्छन्। तर, सबै क्वार्ज क्रिष्टल मूल्यवान् हुँदैनन्,’ उनले भने, ‘अर्को धेरै पहिल्यैदेखि राखिएको भनेपछि मानिसहरूको चासो बढ्ने नै भयो। त्यसले पुरातात्विक महत्वको वस्तु हुनसक्ने आकलनमा महंगोमा बेचिन पनि सक्छ।’
गोरखामा भेटिएको क्वार्ज क्रिष्टलबारे पनि त्यही भएको उनले बताए।
‘क्रिष्टललाई एउटा परिवारले देवताको रूपमा पुस्तौंदेखि पुजा गर्दै आएको भन्ने छ, त्यसमा केही शक्ति छ भन्ने पर्ला, यसका आधारमा बहुमूल्य भनिएको हो,’ उनले भने,‘हजारदेखि दुई हजार रुपैयाँ प्रतिकिलोका दरले हुन आउने रकम नै त्यसको मूल्य हो।’
त्यसो भए ढुंगा जसको हो उसलाई किन नदिइएको हो त?
पोखरेलका अनुसार भेटिएको भन्दैमा खानीजन्य पदार्थ अनुमतिबिना व्यक्तिले राख्न पाइँदैन। त्यस्ता पदार्थ उत्खनन् गर्न खानी विभागबाट प्रक्रिया पुर्याएर अनुमति लिनुपर्छ। त्यस्ता पदार्थ भेटिएमा पनि विभागलाई खबर गर्नुपर्छ।
सोही प्रावधानअनुसार गोरखामा भेटिएको क्वार्ज क्रिष्टल काठमाडौं ल्याउन लागिएको उनले बताए।
‘हामीले अत्यन्तै मूल्यवान् वस्तु भएकाले काठमाडौं ल्याउन र संग्रहालयमा राख्न खोजेको होइन, नियम कानुनअनुसार गरेका मात्रै हौं,’ उनले भने।
क्वार्ज क्रिष्टल के-के मा उपयोग हुन्छ? पोखरेलका अनुसार विभिन्न सजावटका वस्तु, गिफ्ट आइटमहरूमा क्वार्ज क्रिष्टल प्रयोग हुन्छन्। महंगो खालका गिलासहरूमा पनि क्वार्ज क्रिष्टल प्रयोग हुन्छ। स्फटिक, क्वार्ज घडी, इलेक्ट्रोनिक सामग्री, गहनामा पत्थरका रूपमा लगायतमा पनि क्वार्ज क्रिष्टल प्रयोग हुने उनले बताए।
खानी विभागकी प्रवक्ता मोनिका झाका अनुसार चार-पाँच वर्षअघि नेपालमा क्वार्ज क्रिष्टलको कारोबार पनि हुन्थ्यो। अहिले भने प्रतिबन्ध लगाइएको छ। प्रतिबन्ध भए पनि नेपालबाट भारत तस्करी भइरहेका कारण पुनः खोलिने तयारी भइरहेको उनले बताइन्।
‘अब प्रोसेसिङ गरेर मात्रै विदेश निर्यात गरिने तयारी भइरहेको छ,’ उनले भनिन्, ‘कच्चा पदार्थका रूपमा निर्यात हुन्थ्यो, प्रोसेसिङ गरियो भने अझै महङ्गोमा बिक्री हुन्छ।’