विश्व स्वास्थ्य संगठनको आँकलनअनुसार हरेक वर्ष विश्वभर ४.१ करोड मानिसको नसर्ने रोगबाट ज्यान जाने गरेको छ । मुख्य नसर्ने रोगका कारण अल्पायुमा नै मृत्यु हुनेको संख्या ८० प्रतिशतभन्दा बढी छ ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सन् २०१९ मा एउटा अध्ययनले नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोगलाई देखाएको छ । त्यसअघि दातृ निकायकै सहयोगमा सन् २०१७ मा गरिएको त्यस्तै अध्ययनले त्यस्तो प्रतिशत ६६ रहेको देखाएको थियो ।
योमाथिको अध्ययनलाई हेर्दा नेपालमा दीर्घरोगीहरूको संखया क्रमशः बढ्दै गएको छ । नसर्ने रोग लाग्नुमा मुख्य कारण खानपान र जीवनशैली भएको जानकारहरू पनि बताउँछन् । विभिन्न तथ्याङ्क हेर्दा पनि बद्लिंदो जीवनशैली तथा गलत खानपानकै कारण नेपालमा दीर्घरोगको संख्या दिनानुदिन बढ्दै गएको पाइन्छ ।
दीर्घरोगको कारण पत्ता लगाउन जरुरी
पोषणविद् भूपाल बानियाँ भन्छन्, ‘दीर्घरोगीहरूको संख्या बढ्नुका मुख्य कारण खराब खानपान र जीवनशैली हो । तर यो कुरामा न आम मानिस सचेत छन्, न त सरकारको ध्यान नै गएको छ ।’
नेपालमा मिर्गौला फेल भए डायलाइसिस फ्री, क्यान्सर भए किमो फ्री उपचारमुखी काममा सरकार लागेको छ । दीर्घरोग के कारणले बढेको छ ? त्यसलाई कसरी रोकथाम गर्नेतर्फ भने ध्यान नदिएको बानियाँ बताउँछन् ।
‘रक्तचाप बढ्यो भने औषधि उपचारतर्फ हामी लागिहाल्छौं । तर रक्तचाप बढ्नुको कारण के हो ? खानामा नुनको प्रयोग बढी भएर प्रेसर बढेको हो कि ? नुनको मात्रा घटाएर खाइयो भने प्रेसरको समस्या निम्तिंदैन कि भन्ने तर्फ भने ध्यान नै गएको छैन,’ उनी भन्छन् ।
एक जना व्यक्तिले दैनिक ६ ग्राम नुन खानुपर्छ भन्ने कुरा सर्वसाधारणलाई सिकाउन सके रक्तचापको समस्या आफसेआफ घटेर जान सक्ने बानियाँ सुझाउँछन् ।
‘६ ग्राम नुन भनेको कति हो भन्नेमा मानिस झुक्किन सक्छन् । त्यस्तोमा एक चिया चम्चा भनेको पाँच ग्राम नुन हो, त्यसैले घरमा चार जनाको परिवार छ भने दैनिक पाँच चम्चा जति नुन खानुपर्छ भन्ने कुरा सिकाउनुपर्छ । यसो गरियो भने उच्च रक्तचापको बिरामीहरूको संख्या घट्छ,’ उनी भन्छन्, ‘उच्च रक्तचापको समस्या भएन भने मस्तिष्कघात हुने सम्भावना र हृदयघातको जोखिम पनि कम हुन्छ ।’
नुन जस्तै तेलको कारण पनि विभिन्न स्वास्थ्य समस्या निम्तिएको छ । एउटै तेललाई पटकपटक तताएर प्रयोग गर्दा त्यो ट्रान्सफ्याटमा परिवर्तन हुन्छ । एउटै तेललाई पटकपटक प्रयोग गरेर पकाएको खाना खाँदा त्यसले क्यान्सरसमेत हुन सक्छ भन्ने कुरा आम नागरिकलाई थाहा नहुन सक्छ । यस्तो तेल प्रयोग गरिरहँदा क्यान्सर, उच्च रक्तचाप जस्ता दीर्घरोग निम्तिन सक्छ भन्ने कुरा हरेक व्यक्तिलाई सिकाउनुपर्ने बानियाँ सुझाउँछन् ।
‘विशेषगरी होटेल, रेस्टुरेन्टमा एउटै तेलको प्रयोग पटकपटक हुने भएकाले त्यहाँ काम गर्ने व्यक्तिलाई एउटै तेलमा धेरै खानेकुरा पकाउनु हुँदैन भन्ने कुरा सिकाउनुपर्छ,’ उनी भन्छन्, ‘उनीहरूले त्यो कुरा सिकाउँदा पनि पालना गरेनन् भने कारबाहीको व्यवस्था गर्नुपर्छ । यदि खानामा ट्रान्सफ्याटको प्रयोग कम भयो भने मुटुसम्बन्धी समस्या कम हुन्छ ।’
अस्वस्थ जीवनशैली अर्थात् शारीरिक रूपमा सक्रिय नहुने, शारीरिक व्यायामको कमी, दिनभरि जसो कम्प्युटरमा बसेर काम गर्ने वा निहुरिएर बस्ने, अनियमित निद्रा जस्ता कारण पनि दीर्घरोग बढिरहेको सुस्वास्थ्य अस्पतालका अकुपन्चरिस्ट सुदर्शन बस्नेत बताउँछन् ।
अस्वस्थकर खानेकुराले रोग बढाइरहेको छ
मासु प्रोटिनको राम्रो स्रोत हो । शरीरमा प्रोटिनको मात्रा कम भयो भने रगतमा सुगरको मात्रा कम हुने, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र जोर्नीमा समस्या आउने हुन्छ । नेपालमा मासुको गुणस्तरबारे खास अध्ययन नहुने पोषणविद् बानियाँ बताउँछन् ।
‘मासुको गुणस्तर राम्रो छैन, अस्वस्थ पशुको मासु खाँदा मानव स्वास्थ्यलाई त्यसले नकारात्मक असर गर्न सक्छ । खानेकुराको गुणस्तर नराम्रो हुँदा धेरै दीर्घरोग बढेको छ,’ उनी भन्छन्, ‘त्यसैले त्यसको गुणस्तर राम्रो बनाउन के गर्नुपर्छ भन्ने कुरामा पनि सरकार र सरोकारवाला निकायले ध्यान दिनैपर्छ ।’
मासु जस्तै माछा पनि स्वास्थ्यका लागि राम्रो भनिन्छ । तर नेपालमा बाहिरबाट आयात हुने माछा नबिग्रियोस् भनेर सीमित मात्रा फर्मालिन हालिएको हुन्छ । ‘नेपालमा आउने बित्तिकै त्यो बिक्री भइहाल्दैन,’ बानियाँ भन्छन्, ‘अब त्यो माछालाई कुहिनबाट जोगाउन व्यापारीहरूले फेरि अतिरिक्त फर्मालिन हाल्छन् । जसले मानव शरीरमा असर गर्न सक्छ र दीर्घकालीन रोग बढाउन सक्छ । त्यसैले खानेकुराको गुणस्तरमा ध्यान दिनुपर्छ ।’
दीर्घरोगकै कारण अन्य गम्भीर स्वास्थ्य समस्याको जोखिम
मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोगले मिर्गौलाको समस्या, मुटुको समस्या हुनेहरूको संख्या बढेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विशेषज्ञ डा. रवि शाही बताउँछन् । ‘दीर्घरोगलाई नै रोकथाम गर्न सकियो भने त्यसको जटिलतालाई पनि रोक्न सकिन्छ र त्यसका कारण निम्तिने मुटुरोग, मिर्गौला फेलको समस्या पनि कम हुन्छ,’ उनी भन्छन्, ‘मधुमेह, उच्च रक्तचाप, थाइराइड जस्ता दीर्घरोगलाई नियन्त्रण गरिएन भने हृदयघात, मस्तिष्कघात जस्ता जटिलता निम्तिन सक्छ ।’ त्यसैले उच्च रक्तचापको समस्या हुन नदिन र लागेको खण्डमा पनि नियन्त्रण गर्न सन्तुलित खानपान र नियमित व्यायाम महत्त्वपूर्ण हुने डा. शाही बताउँछन् ।
दीर्घरोगलाई कम गर्न के गर्ने ?
के कारणले दीर्घरोग बढेको छ भन्ने कुराको कारण पत्ता लगाएमा त्यसलाई कम गर्ने उपाय निकाल्न सकिने पोषणविद् बानियाँ बताउँछन् । ‘उच्च रक्तचाप बढेको छ भने बढी नुनको सेवनले हुन सक्छ त्यसलाई कम गर्नुपर्यो । बजारमा पाइने कोक, फ्यान्टा जस्ता गुलियो खानेकुराले मधुमेह बढेको हुन सक्छ त्यसको प्रयोग कम गर्नुपर्यो,’ उनी भन्छन् ।
त्यस्तै जथाभावी एन्टिबायोटिकको प्रयोगले मिर्गौला खराब हुने भएकाले चिकित्सकको सल्लाहबिना यसको प्रयोग गर्न नहुने बानियाँ बताउँछन् । धेरै तेल प्रयोग भएको खाना वा एउटै तेल पटकपटक प्रयोग भएर पाकेको खानाको कारण मुटुको समस्या बढ्न सक्छ ।
नेपालमा पनि विभिन्न मुलुकमा जस्तै नोर्डिक न्युट्रिसन रिकमेन्डेसन (एनएनआर), आईसीएम सर् इन्डिया, बीएनआर बंगलादेश, भारत लगायत देशमा भए जस्तै न्युट्रिसन रिकमेन्डेसनसम्बन्धी नीति हुनुपर्छ । यसबाट जनमानसमा आफूलाई के कस्तो खानेकुरा, कति मात्रामा, कसरी खाने भन्ने सम्बन्धमा ज्ञान आर्जन हुने बानियाँ बताउँछन् ।