‘शल्यक्रिया मार्फत जन्मेको बच्चामा दमको जोखिम बढी’ यसको उपचार के छ ?

पहिले बालबालिकामा दमको समस्या खासै थिएन अहिले बढेको हो ?

यो जिज्ञासा धेरै अभिभावकलाई हुन सक्छ । तर पहिले पनि बालबालिकालाई बेलाबेलामा खोकी लाग्ने, स्याँस्याँ हुने ज्वरो आउने समस्या देखिन्थ्यो । यस्तो समस्यालाई निमोनिया भनेर अभिभावकले पटकपटक अस्पताल लगेर आईसीयूमा भर्ना गर्थे, एन्टिबायोटिक खान दिइन्थ्यो । तर त्यो समस्या बारम्बार दोहोरी रहेको थियो भने त्यो दमको कारण भनेर दमको पहिचान नभएको हुन सक्छ । साथै अहिले धुलो, धुवाँ, प्रदूषणको कारण पनि बच्चामा दमको समस्या बढेको हुन सक्छ ।

बच्चालाई दम भए कस्तो लक्षण देखिन्छ ?
दमको लक्षण बच्चामा उमेरअनुसार फरक पर्छ । पाँच वर्षभन्दा कम उमेरका बच्चामा रुघा लाग्नेबित्तिकै सास छिटोछिटो फेर्ने, कोखा हान्ने, स्याँस्याँ हुने र निमोनिया जस्तो लक्षण देखिने हुन्छ । पाँच वर्षमाथिका बच्चामा स्याँस्याँ भइरहने, दौडिंदा खेल्दा सास फेर्न गाह्रो हुने, खोकी लाग्ने समस्या हुन्छ ।

१० वर्षभन्दा माथिका बच्चामा हिंड्दा दौडिंदा खोकी लाग्ने, स्याँस्याँ हुने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छ । यो समस्या सधैंभरि देखिंदैन, कहिले लक्षण देखिने र कहिले नदेखिने हुन्छ ।

यी समस्या चाँडै निको हुने र बल्झिने भइरहन्छ । कुनै बच्चालाई एक महिनामा बल्झिने हुन्छ भने केहीलाई दुई महिनादेखि एक वर्षसम्ममा पनि बल्झिन्छ ।

बच्चामा दमको समस्या देखिनुको खास कारण के हो ?
बच्चामा दम कुनै एउटा मात्र कारणले भन्दा पनि विभिन्न कारणले हुने गर्छ । विभिन्न कारणमध्ये वंशाणुगत कारण परिवारका सदस्यमा दमको समस्या छ भने बच्चामा वंशाणुगत रूपमा यो समस्या देखिने भयो ।

अर्को वातावरणीय प्रदूषण, धुवाँ धुलो, फूलको परागको कणबाट हुने एलर्जीले पनि बच्चामा दमको समस्या देखिन्छ । अहिले जंकफुड, प्याकेट फुड जस्तो खराब खानपान र शारीरिक रूपमा निष्क्रिय बच्चामा पनि दमको जोखिम बढ्न सक्छ ।

दम र निमोनियामा अभिभावकहरू झुक्किन सक्छन्, कसरी छुट्याउने ?

कतिपय अभिभावक मेरो बच्चालाई महिनामा दुई-तीन पटक निमोनिया भयो भन्दै आउँछन् । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको, एचआईभी एड्स वा जन्मजात फोक्सोको समस्या भएको बच्चाबाहेक सामान्य खेलिरहेको, खाइरहेको बच्चालाई पटकपटक निमोनिया नै हुँदैन ।

बेलाबेलामा धेरै खोकी लाग्ने, स्वाँस्वाँ हुने, सास फेर्न गाह्रो हुने लक्षण निमोनिया नभएर दम हो । बच्चालाई सास फेर्न गाह्रो भएर अस्पताल लगेर बाफ लगाउने बित्तिकै ठीक हुन्छ भने त्यो दम हो ।

निमोनिया हुँदा बच्चालाई धेरै ज्वरो आउने, कमजोर हुने जस्ता लक्षण देखिन्छ । निमोनियाको उपचारमा समय पनि लाग्छ ।

दम भएको बालबालिकाले खाना बार्नुपर्छ कि पर्दैन ?
धेरै चिसो खानेकुरा, गुलियो खानेकुरा, जंकफुड, एउटै तेल धेरै पटक प्रयोग गरेर पकाएको खानेकुराले असर गर्न सक्छ । त्यसैले यस्ता खानाबाट टाढा रहनुपर्छ । कुनै खानेकुरा खाने बित्तिकै बच्चालाई एलर्जी हुन्छ भने त्यसबाट पनि उनीहरूलाई टाढा राख्नुपर्छ ।

कतिपय अवस्थामा केरा सुन्तला जस्तो फलफूल खानु हुँदैन भनेको पनि सुनिन्छ । तर फलफूल त बच्चाको स्वास्थ्यका लागि राम्रो हो । यदि केरा वा सुन्तला कुनै एउटा फलफूल खाने बित्तिकै बच्चालाई गाह्रो हुन्छ भने दिनु हुँदैन । नत्र फलफूल बार्नु पर्दैन ।

दूध तथा दूधबाट बनेका परिकार पनि बार्नुपर्छ भनेको सुनिन्छ । तर दूध तथा दूधबाट बनेका परिकार बच्चाको शारीरिक मानसिक विकासको लागि महत्त्वपूर्ण हुन्छ । दूध खाने बित्तिकै एलर्जी हुन्छ भने बार्नुपर्‍यो, नत्र यस्ता दुग्धजन्य पदार्थ पनि बार्नु पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *