गणेश देवताको रुपमा यसरी गरियो हात्तीको अन्तिम संस्कार

हात्तीलाई गणेश भगवानको रुपमा मानिन्छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ७ कालापानीमा शौचालयको सेप्टी ट्याङ्कीमा खसेर मृत्यु भएको हात्तीलाई गणेशको रुपमा पूजाआजा गरेर हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरियो। ठूलो खाल्डो माथि मृतक हात्तीलाई राखेपछि हात्तीसार शाखा पिपरियाका निमित्त प्रमुख शिवदत्त चौधरीले सेतो कपडाले ओढाइदिए। फुल, रातो अबिर, अक्षता र पैसा चढाएर पूजाआजा गरे। धूप , बत्ती बालेर हात्तीको टाउको माथि घुमाएर मन्त्रो चरण गरे।

‘गणेश महाराज,यो संसारमा हजुरको दिन सकियो, अहिले सम्म संसारमा घुम्नु, खानु भयो,अव यो संसारबाट बिदा भएर हजुरको स्वर्गमा वास होस’ दोरगा चौधरीले मन्त्रको रुपमा भने। हात्तीको अन्तिम संस्कारमा सहभागी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी, स्थानीय बासिन्दा लगायतकाले फुल, अबिर र रुपैया चढाएर अन्तिम बिदाइ गरे।

‘हात्ती गणेश भगवान हुन्, हात्तीको मृत्यु भएपछि गणेश भगवानको रुपमा पूजाआजा गरेर अन्तिम संस्कार गर्ने हाम्रो परम्परा रहेको छ, त्यहि परम्परा अनुसार धार्मिक विधि अनुसार हात्तीको अन्तिम संस्कार गरेका हौँ’३२ वर्ष देखि हात्तीसार शाखामा कार्यरत चौधरीले भने,‘मैले पनि पुराना मान्छेहरूबाट यो अन्तिम संस्कार गर्ने विधि सिकेको हुँ।’

चितवन राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिनिकुन्जमा गरेर उनले ६ हात्तीको अन्तिम संस्कार गरेको बताए। आफूले पालेका हात्तीको मृत्यु हुदाँ नुन र एक छाक खाना समेत खान छोड्ने गरेको उनले बताए। ‘आफूले पालेको हात्तीको मृत्यु हुदाँ हिन्द परम्परा अनुसार नुन र एक छाक बार्ने गरिन्छ, यस अघि मृत्यु भएको हात्तीको अन्तिम संस्कार गरेको दिन मैले नुन र एक छाक वारेको थिए’उनले बताए।

हात्तीको अन्तिम संस्कार गर्ने क्रममा खाल्डोमा ३ वोरा नुन पनि हालेको उनले बताए। ‘हात्तीको छाला बाक्लो हुन्छ। छिटो गलोस् भनेर नुन हाल्ने परम्परा छ ’उनले भने। शुक्लाफाँटामा मृत्यु भएको जंगली पोथी हात्ती हो। करिब ३५ वर्षको वयस्क उमेरको पोथी हात्ती जैविक मार्ग नजिकै चर्न गएको क्रममा बुधवार राती सेप्टी ट्याङ्कीमा खसेर मृत्यु भएको थियो। शुक्लाफाँटा नगरपालिका वडा नं ७ वातावरण मध्यवर्ती सामुदायिक बनको भवनको शौचालयको सेप्टी टयांकीमा खसेको ठाउँबाट निकालेर बनमै नजिकै छेउमा हात्तीको अन्तिम संस्कार गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *