स्पेनलाई जिताउने ओल्गा: जसले विश्वकप जिताएपछि थाहा पाइन् बुवाको मृत्युको खबर

महिला विश्वकपको फाइनलमा आफ्नो देशको जितमा गोल गर्ने स्पेनकी कप्तान ओल्गा कार्मोनाले बुवाको मृत्यु खबर जितपछि मात्रै थाहा पाएकी छन्। उनका बुवाको मृत्यु शुक्रबार नै भए पनि उनलाई त्यसबारे कसैले बताएको थिएन।

२३ वर्षीया कार्मोनाले फाइनलमा गरेको गोलकै सहारामा स्पेनले इंगल्याण्डलाई हराएर उपाधि जित्यो। गोल गर्दा र उपाधि जित्दा कार्मोनाको अनुहारमा उत्साह झल्किन्थ्यो। किनभने ३ दिनअघि नै आफ्नो पिता परलोक भएको खबरसँग उनी बेखबर थिइन्। रियल म्याड्रिडका लेफ्ट-ब्याक रहिसकेका उनका बुवा लामो समयदेखि रोगसँग लडिरहेका थिए र शुक्रबार उनको निधन भएको रोयटर्सले बताएको छ।

‘मलाई थाहा छ तपाईंले आज राती मलाई हेरिरहनुभएको थियो र तपाईं मप्रति गर्व गर्नुहुन्छ। हजुरलाई शान्ति मिलोस्,’ कार्मोनाले सामाजिक सञ्जालमा लेखेकी छिन्।

कार्मोनाले सन्देशको साथमा आफ्नो पदक चुम्बन गरिरहेर्को तस्विर राखेकी छिन्। उनले थपेकी छिन्, ‘ र, खेल सुरु हुनुअघि मसँग मेरो स्टार थियो। मलाई थाहा छ कि तपाईंले मलाई केही अद्वितीय उपलब्धी हासिल गर्न बल थप्नुभएको छ।’

‘ओल्गा कार्मोनाका बुबाको मृत्युको घोषणा गर्दा संघ गहिरो दुःख व्यक्त गर्दछ,’ स्पेनी फुटबलको सामाजिक सञ्जाल अकाउन्टमा लेखिएको छ, ‘हामी गहिरो शोकको क्षणमा ओल्गा र उनको परिवारप्रति समवेदना प्रकट गर्दछौं। हामी तपाईंलाई असाध्यै माया गर्छौं ओल्गा, तपाईं स्पेनिस फुटबल इतिहास हुनुहुन्छ।’

You might also like