डाँगी ९० बर्षको उमेरमा लौरो टेकेर पढ्न स्कुल जान्छन

    तुलसीपुर, ५ भदौ । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उहाँमा पढाइको भोक मरेन र अहिले उहाँ दैनिक विद्यालय जानुहुन्छ । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ ।

    उहाँले पनातिसमेत देखिसक्नुभएको छ, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उहाँ कक्षा १ मा पढ्न थाल्नुभएको छ । चालु शैक्षिकसत्रदेखि उहाँले कक्षा १ को पढाइ सुरु गर्नुभएको हो । सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उहाँ पढ्न थाल्नुभएको छ । उहाँ पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्नुहुन्छ । “सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्”, उहाँले भन्नुभयो, “बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।

    घरमा पनि उहाँ नातिहरूसँग बस्दै आउनुभएको छ । उहाँकी श्रीमतीको विसं २०३२ मा निधन भयो । त्यसपछि उहाँ एकलरूपमा घरमा बस्दै आउनुभएको थियो । उहाँको जेठो छोराको पनि निधन भएपछि अहिले नातिसँग बस्दै आउनुभएको छ । नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उहाँको भनाइ छ । उहाँले आफू बाँच्दासम्म पढिरहने बताउनुभयो । “सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो”, उहाँले भन्नुभयो, “जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।”

    उहाँ पढ्नमा पनि त्यति कमजोर हुनुहुन्न । कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएको बताउनुभयो । “परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छ”, उहाँले भन्नुभयो, “त्यो पुस्तिकाअनुसार उहाँले लेख्न सक्नुहुन्छ ।” अङ्ग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उहाँले राम्रोसँग पढ्न सकेको बताउनुभयो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *