आधा रातमा खाने बानीले कलिलै उमेरमा दीर्घरोगको जोखिम

    काठमाडौं । ‘बेलुकी खाना हल्का खानु, त्यो पनि सूर्यास्तअघि नै ।’ आयुर्वेदले मात्रै होइन, विज्ञानले पनि यसै भन्छ । हाम्रा बुढापाकाहरुले प्राचीनकालदेखि नै अपनाउँदै आएको यस्तो खानपान शैलीले आयु लामो बनाउने मात्र नभई दीर्घरोगको जोखिम पनि कम हुन्थ्यो ।

    आजभोलिको अव्यवस्थित खानपानले दीर्घरोगीको संख्या निकै बढ्दो छ । यसको मुख्य कारणमध्ये आधा रातमा भरपेट खानु रहेको पेट तथा कलेजोरोग विशेषज्ञ डा. अवशेष भण्डारी बताउँछन् ।

    ‘अहिलेका पुस्ता धेरैजसोको सुत्ने समयमा आधा रातमा फ्रिजमा खानेकुरा खोज्न जाने बानी हुन्छ । रातमा नै धेरै पार्टी समारोह हुने र पेटभर जंकफुड, तारेका, पोलेको खाने र मदिरा पिउने चलन जस्तै भएको छ । यो बानीले विस्तारै स्वास्थ्यमा ठूलो प्रभाव पारिरहेको हुन्छ, ’ उनी भन्छन् ।

    कसरी गर्छ असर ?

    डा. भण्डारीका अनुसार उमेर ढल्किंदै गएसँगै मानिसको पचाउने क्षमता पनि घट्दै जान्छ । यसो त शरीरको क्रियाकलाप नियन्त्रण गर्ने मस्तिष्कमा हुने सञ्चालन प्रणाली केन्द्र बिन्दुको काम रातमा कम हुन्छ । ‘रातमा खानेकुरा पचाउन काम गर्ने पाचन रस कम रिलिज हुने हुँदा पचाउने क्षमता कम हुँदै जान्छ । त्यसैले राति खाने बित्तिकै खाएको पच्दैन र शरीरमै थुप्रिएर बस्छ, जसले गर्दा प्राचन प्रणालीमा असर गर्छ । फलस्वरूप मोटोपन, मधुमेह, फ्याटी लिभर उच्च रक्तचाप जस्ता दीर्घरोगको जोखिम हुन्छ, ’ उनी भन्छन् ।

    यस्तोमा प्रश्न उठ्न सक्छ, कार्यालयमा धेरै समयसम्म काम गर्ने र रातिको ड्युटी गर्नेहरुमा खानेकुराको तालमेल मिल्दैन । ढिला नै खाएपनि उनीहरु हेर्दा फूर्तिलो नै देखिन्छन् ? यसबारे डा. भण्डारी भन्छन्, ‘उनीहरुमा अहिले समस्या नदेखिए पनि दीर्घरोग लाग्ने सम्भावना उच्च हुन्छ । आज खाएर भोलि नै ठूलो असर देखिने होइन । तर बिस्तारै असर गर्दै दीर्घकालीन रुपमा मधुमेहजस्ता दीर्घरोग कलिलो उमेरदेखि सुरु भएको विज्ञानले पुष्टि गरेको छ ।’

    पाचनशक्तिमा असर

    राति अबेरसम्म खाना खाने बानीको सबैभन्दा ठूलो असर पाचन शक्तिमा पर्ने डा. भण्डारी बताउँछन् । ‘वास्तवमा रातको खानापछि कुनै गतिविधि छैन र सिधै ओछ्यानमा सुत्दा खानेकुरा पच्दैन । यसले एसिडिटी, पेट फुल्ने लगायत समस्या हुन सक्छ । साथै, पाचन प्रक्रिया ठीक नहुँदा शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुँदैन र ऊर्जाको स्तर पनि कम रहन्छ, ’ उनी भन्छन् ।

    वजन बढ्न सक्छ

    डा. भण्डारीका अनुसार राति अबेरसम्म खाना खाँदा तौल बढ्ने समस्याले सताउँछ । ‘यस्तोमा शरीरको मेटाबोलिज्म सुस्त भई क्यालोरी राम्रोसँग बर्न हुँदैन र शरीरमा बोसो बढ्न थाल्छ । तौल बढ्दै गएपछि रगतमा चिनीको मात्रा अनियन्त्रित हुन्छ । पछि यसले मुटु र रक्तचाप सम्बन्धी समस्या निम्त्याउँछ,’ उनी भन्छन् ।

    निद्राको कमी

    मानिसहरु प्रायः राति सजिलै निद्रा नपरेको गुनासो गर्छन् । यसको मुख्य कारणमध्ये एक ढिलो खाना खाने बानी हो । ‘खाना राति नपच्दा पेट डम्म हुन्छ र निद्रा पनि समयमा आउँदैन । जसको असर विहान देखिन्छ, ‘ डा. भण्डारी भन्छन्, ‘दोस्रो दिन कब्जियत, टाउको दुख्ने, आलस्यता, ऊर्जाको कमी र अन्य समस्या हुन सक्छ ।’

    आयुर्वेद भन्छ– अबेर खानेकुरा खानु मन्द विष

    राति अबेर खाना खानु मन्द विषसरह हुने आयुर्वेदमा उल्लेख छ । आयुर्वेदिक चिकित्सक डा. पुनेश्वर केशरी भन्छन्, ‘ढिला खाने बानीले छिट्टै असर नगरे पनि बिस्तारै–बिस्तारै दीर्घरोग बढाउँदै लैजाने र आयु समेत कम हुने हुँदा यो मन्द विष नै हो भन्दा फरक पर्दैन ।’

    उनका अनुसार राति अबेर खाँदा भोक शान्त हुन्छ । तर पेट र पाचनका लागि निकै खतरनाक हुन्छ । पाचनक्रिया बुढेसकाल लागेपछि अन्य अंग जस्तै कमजोर हुँदै जान्छ । ढिलो खाने बानीले युवावस्थामा पनि पेट कमजोर हुने मात्र होइन, अन्य स्वास्थ्य समस्या पनि देखिने उनी बताउँछन् ।

    खाने बित्तिकै सुत्नु हानिकारक

    स्वास्थ्य विज्ञहरूका अनुसार अबेर खाने मात्र होइन खानेबित्तिकै सुत्नु पनि हानिकारक हुन्छ । नेसनल सेन्टर फर बायटेक्नोलोजी इन्फरमेसन (एनसीबीआई)ले गरेको एक अध्ययनले पनि सुत्ने र खानेको बीचमा दुई घण्टाको अन्तर हुनु अति आवश्यक रहेको देखाएको छ । खाना खाएर तुरुन्तै सुत्दा मानिसको शरीरको मेटाबोलिज्मले खाना राम्ररी पचाउन नसक्दा सुस्त गतिमा काम गर्न थाल्छ । जसकारण शरीरमा धेरै रोग निम्त्याउने अध्ययनको निष्कर्ष छ । राति खाना खाएपछि एकैछिन वरपर केही मिनेट हिंडडुल गरेर मात्र सुत्दा खानेकुरा पच्न सहज हुने डा. केशरी बताउँछन् ।

    समाधान के त ?

    डा. भण्डारी स्वस्थ र दीर्घजीवनको लागि बेलुकी ७ बजेसम्म खाना खान सुझाउँछन् । सम्भव नभए ढिलामा ८ बजे खाइसक्नुपर्छ । त्यस्तै, रातिको काम भए काममा जानुअघि खाना खाने र बेलुका अबेर भए हल्का सुप खाएमा केही हदसम्म रोग लाग्नबाट बच्न सकिने उनको भनाइ छ ।

    राति खानेकुरा नपचेमा बिहान समेत अमिलो डकार आइरहेको हुन्छ । यस्तो डकार आएमा बिहान ९ बजे खाना खाइन्छ भने त्यसको दुई घण्टापछि मात्रै खाना खाए बिस्तारै पेट स्वस्थ हुँदै आउने डा. केशरी बताउँछन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *