गर्भावस्थामा कसरी आफु र बच्चाको स्वास्थ्य राम्रो राख्ने ?

    गर्भावस्थामा कसरी आफु र बच्चाको स्वास्थ्य राम्रो राख्ने ?

    गर्भावस्था भनेको जुनै पनि परिवारका लागि खुसीको कुरा हो। गर्भावस्था भएका बेलामा सबै परिवारका सदस्य र गर्भवती आफैंले पनि सजग र सचेत हुनुपर्ने अवस्था पनि हो।

    गर्भावस्था सबैको एकनासको हुँदैन। कतिपय बेलामा आकस्मिक रूपमा जटिलता आउन सक्छ। महिला र बच्चाको ज्यान समेत जोखिममा पर्न सक्छ। त्यसैले सामान्य गर्भावस्थालाई जटिल हुन नदिन समयमै पहिचान गरेर उचित व्यवस्थापन गर्न हरेक गर्भवतीले समय समयमा स्वास्थ्य संस्थामा परीक्षण गर्नुपर्छ।

    यस्तो भनिरहँदा गर्भावस्थाका बेलामा सबै गर्भवतीले एकै किसिमको हेरचाह गर्नुपर्छ भन्ने हुँदैन। विगत र अहिलेका गर्भवतीमा धेरै भिन्नता पाइन्छ।

    शिक्षित र कामकाजी महिला बढेका छन्। यसले गर्दा बच्चा जन्माउने उमेर धकेलिँदै गएको छ। बाँझोपनका कारण आइभिएफ प्रविधिबाट बच्चा जन्माउनेको संख्या पनि बढ्न थालको छ। सुगर, प्रेसर जस्ता दीर्घरोगका बिरामी समेत बढ्न थालेका छन्। यस्ता खलाका गर्भवतीलाई हामीले जोखिमपूर्ण गर्भावस्था भनेका हुन्छौं।

    पहिलोपटक शल्यक्रिया गरेर बच्चा जन्मिएको छ भने दोस्रोपटक गर्ने हेरचाहको प्रकृति फरक हुनसक्छ। यस्ता गर्भवतीले गर्नुपर्ने उपचार र परीक्षण पनि फरकफरक हुन्छ।

    विश्व स्वास्थ्य संगठनले गर्भावस्थामा कम्तीमा आठपटक स्वास्थ्य संस्थामा परीक्षणका लागि जानुपर्ने भनेको छ।

    पहिलोपटक १२ औं हप्तामा, दोस्रोपटक २० औं हप्तामा, तेस्रोपटक २६ औं हप्तामा र त्यसपछि ३० औं, ३४ औं, ३६ औं, ३८ औं र ४० औं हप्तामा चिकित्सककहाँ गएर सल्लाह लिनुपर्छ र परीक्षण गर्नुपर्छ।

    जोखिमपूर्ण अवस्थामा रहेका गर्भवतीहरू अझै धेरैपटक स्वास्थ्य संस्थामा जानुपर्छ। सँगै चिकित्सकले भनेअनुसारका औषधि समेत खानुपर्छ।

    कुनै पनि महिलाको महिनावारी रोकिनासाथ स्वास्थ्य संस्थामा जानुपर्छ। त्यो बेलामा गर्भवतीमा कुनै रोग छ कि छैन, कस्ता समस्या छन् अनि कस्तो जटिलता छ भनेर परीक्षण गरिन्छ। यो भनेको १२ औं हप्तामा हो। यो बेलामा भिडिओ-एक्सरे समेत गरिन्छ। बच्चा ठीक ठाउामा बसेको छ कि छैन भनेर पहिचान गर्न भिडिओ-एक्सरे गर्नुपर्छ। कतिवटा बच्चा बसेको छ भनेर समेत यो बेलामा पहिचान गर्न सकिन्छ। महिनावारी रोकिएको समय थाहा नभएको बेलामा समेत भिडिओ-एक्सरेले सहयोग गर्छ।

    दोस्रोपटक, २० औं हप्तामा पनि स्वास्थ्य संस्थामा गएर भिडिओ-एक्सरे गर्नुपर्छ। यो बेलामा बच्चाको कुनै खोट छ कि छैन भनेर स्क्यान गर्न सकिन्छ।

    २४ औंदेखि २८ ‍औंहप्तामा अस्पताल जाँदा उमेरअनुसार बच्चा हुर्किएको छ कि छैन भनेर परीक्षण गरिन्छ। त्यस्तै सुगर देखिएको छ कि छैन भनेर पनि हेरिन्छ।

    ३० औं, ३४ औं, ३६ औं र ४० औं हप्तामा स्वास्थ्य संस्था जाने भनेको आमा र बच्चाको अवस्थाबारे जानकारी लिन हो।

    बच्चा कसरी बसेको छ भनेर पेटको परीक्षण गर्नुपर्छ। जटिल समस्या भएका र उच्च जोखिममा रहेका गर्भवतीलाई यो तालिकाले काम गर्दैन। उनीहरू चिकित्सकको निगरानीमा रहनुपर्छ।

    कुन महिनामा बच्चाको तौल कति हुनेभन्दा पनि ३७ हप्ताको बच्चा साढे दुई किलोको भएको राम्रो हो। यसमा धेरै कुराले असर पारेको हुन्छ। आमा सानो भएमा बच्चा सानो हुन सक्छ। कतिपय त आमाको समुदायका कारण समेत फरक पर्न सक्छ। बच्चा जन्मिने बेलामा कम्तीमा साढे २ किलो या त्योभन्दा धेरै भएको राम्रो मानिन्छ।