छारे रोगको केही वास्तविकता र अन्धविश्वास

    छारे रोगको केही वास्तविकता र अन्धविश्वास

    छारे रोग वा मिर्गी एक किसिमको स्नायु प्रणालीको डिसअर्डर हो । जसमा मष्तिष्कको न्यूरोन्सहरुमा भइरहेको समान्य गतिविधि अचानक असामन्य भइदिन्छ। फलस्वरूप मानिसको शारीर वा शरीरको केहि भागमा अनैच्छिक चाल उत्पन्न हुनुको साथै क्षणिक चेतना(होस) र मांशपेशिको टोन गुम्छ । त्यसैले यसलाई कहिलेकाँही सिजर डिसअर्डर पनि भन्ने गरिन्छ । यो समस्या विश्वको करीब ५० मिलियन मान्छेहरुमा छ । जसमध्ये ८० प्रतिशत नागरिक विकासोन्मुख देशभित्र पर्छन् । छारे रोग वा मिर्गी कुनै खास व्यक्ति, समुदाय, वर्ग, जात, धर्मका व्यक्तिमा मात्र नभई जोसुकैलाई पनि हुनसक्छ । प्रायः ब्रेन इन्फेक्शन, ब्रेन ट्यूमर, इलेक्ट्रोलाइट असन्तुलनले गर्दा हुन्छ। बच्चा जन्मिने बेलामा ढिलो हुँदा बच्चाको मष्तिष्कमा सही मात्रामा अक्सिजन नपुगेपछि हाइपोक्सिक-इस्केमिक इन्सेफ्यालोप्याथी हुन्छ र यस्तो बच्चामा पछि गएर छारे रोग हुने सम्भावना बढ्छ । केही वंशाणुगत पनि हुने गर्छ । छारे रोग आफैमा एक रोग नभई मष्तिष्क रोगको लक्षण हो भन्न सकिन्छ । लक्षणको आधारमा निम्न प्रकारको हुन्छ : चेतना गुम्ने तर शारीरमा कुनै अनैच्छिक चाल वा मांशपेशिको टोनमा असर नदेखिने ,क्षणिक चेतना (होस) मात्रै हराउने ,शारीरमा अनैच्छिक चाल सँगै मांशपेशिको टोन र चेतना गुम्ने ।

    सबै सिजर्स (झट्काका कारण काँप्दै मुर्छा पर्ने समस्या) छारे रोग हुँदैन । बच्चाहरुमा कहिलेकांही अत्यधिक ज्वरोले गर्दा पनि सिजर्स आउँछ जुन छारे रोग होइन । यसको लागि खास क्राइटेरिया हुन्छ जसमा लामो समयदेखि बारम्बार सिजर्स आउने, बेहोस हुने जस्ता लक्षणहरु हुन्छ । समान्यतया अनियन्त्रित सिजर्स, चेतना र जागरुकता गुम्नु, सिजर्स पश्चात स्वाद, सुघ्ने, सुन्ने क्षमतामा परिवर्तन आउने इत्यादि लक्षणहरु छारे रोगका बिरामीमा देखिन्छ । छारे रोगका बिरामीहरुमा निन्द्रा पुरा नभएको, अत्यधिक थाकेको, मादक पदार्थ सेवन गरेको, चमकदार प्रकाशमा धेरै बेर बस्दा, डर र चिन्ताको अवस्थामा सिजर्सको मात्रा र दर बढेर आउँछ ।
    समाजमा अहिले पनि एउटा धारणा छ की छारे रोगको औषधि उपचार हुँदैन । जबकी लगभग ८० प्रतिशत बिरामीहरु सीमित अवधिसम्म औषधि सेवन गरेपछि पुर्णरुपमा निको भएको पाइन्छ । केही बिरामीलाई अलिक लामो समयसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ । औषधिले नियन्त्रण हुन नसकेको बिरामीलाई माईक्रो-इन्वेसिव सर्जरी र अबल्याशन विधिद्वारा पनि निको पार्न सकिन्छ । कतिपय छारे रोग ब्रेन ट्यूमरले गर्दा पनि भईरहेको हुन्छ यस्तो अवस्थामा ट्यूमर झिकेपछि ठिक हुन्छ । आजको आधुनिक युगमा यस्ता थुप्रै प्रविधिको विकास भएको छ जसले गर्दा छारे रोगलाई सजिलै जित्न सकिन्छ ।

    जनचेतना र शिक्षाको कमिले आज पनि ग्रामिण क्षेत्रमा छारे रोगको बिरामीलाई झट्का आइरहेको बेला गन्हाउने जुत्ता, मोजा र चप्पल सुँघाउने चलन छ । जसबाट छारे रोग निको हुने अन्धविश्वास छ । जबकी वास्तविकता के छ भने एपिलेप्टिक फिट्स (झट्का) एकदम छोटो समयको हुन्छ जून केही क्षणमा (बढ़ी भन्दा बढ़ी २-३ मिनट) आफैं ठिक भएर जान्छ। तर मानिसहरुलाई जुत्ता सुँघाएपछि ठिक भएको हो भन्ने भ्रम पर्न गएको हुन्छ । केही समुदायमा छारे रोग एक सरुवा रोग हो भन्ने अवधारणा छ जसले गर्दा छारे रोगका बिरामीलाई धेरै ठाउँमा गलत दृष्टिले हेर्ने समाजिक अवहेलना र छुवाछूतको समस्या खेप्नु पर्छ । केहीले त यो शैतानिक शक्ति वा भगवानले पठाएको शैतानले आक्रमण गरेपछि हुन्छ भनेर धामी-झांक्रीसम्म पुग्ने गरेका छन् । समुदायमा रहेको यस्तो अन्धविश्वासहरुमा अलिकति पनि सत्यता छैन । त्यसैले भ्रममा नपरौं ।

    अर्को जान्नै पर्ने कुरा के हो भने छारे रोगको झट्का जुनसुकै बेला जहाँ पनि आउनसक्छ । बिरामीलाई यसको केही जानकारी हुँदैन । झट्का आइरहेको अवस्थामा बिरामी माथि जोरजबरदस्ती नगरी वरपरको कडा, तिखो वा अन्य कुनै चोटपटक लाग्ने वस्तुहरु छ भने हटाइदिनुपर्छ । नजिकै खल्डाखुल्डी वा पानीको मुहान छ भने सक्दो चाँडो त्यँहा बाट टाढा हटाउनु पर्छ । अन्यथा पानीमा लड्न गएको खण्डमा बिरामीको फोक्सो भित्र पानी पस्छ । फलस्वरूप पछि गएर एस्पिरेशन निमोनिया हुन्छ र बिरामीको मृत्यु हुनसक्छ । झट्का आउन बन्द हुने र चेतना आएपछि बिरामीलाई देब्रे तिर कोल्टे पारेर आराम गर्न दिनुपर्छ । एपिलेप्टिक फिट्स (झट्का) सामान्यतता क्षणिक हुन्छ । यदि यो निरन्तर ५ वा ५ मिनट भन्दा बढी समयसम्म रहिरहे तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा लगेर उपचार थाल्नुपर्छ । यो एक किसिमको मेडिकल इमरज्नसी हो । मेडिकल भाक्षामा यसलाई स्टेटस ऐप्लिलेप्टिकस भन्ने गरिन्छ ।