इजरायलमा निधन भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन

    इजरायलमा निधन भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन

    प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ। मंगलबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले निर्देशन दिएको हो।

    सरकारलाई समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले घाइतेहरुको स्वास्थ्योपचार गर्न, बेपत्ता भएका नेपालीहरुको तत्काल खोजी गर्न र अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको जानकारी दिए।

    उनले घटनाका पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना भएका नेपालीहरुलाई तत्काल फिर्तीको लागि आवश्यक समन्वय र शीघ्र पहलकदमी लिन पनि सरकारलाई निर्देशन दिइएको बताए। समितिले भविष्यमा हुने यस्ता खालका घटनाको पूर्व आकलन गरी विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा नेपालीहरुको विवरण आवधिक गरी पूर्ण अवस्थामा राख्न पनि सरकारलाई निर्देशन दिएको छ।
    सभापति यादवले भने, ‘इजरायलमा भएको अकल्पनीय घटनाबाट निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरुको स्वास्थ्योपचार गर्न, बेपत्ता भएका नेपालीहरुको तत्काल खोजी गर्न र अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना भएका नेपालीहरुलाई तत्काल फिर्तीको लागि आवश्यक समन्वय र शीघ्र पहलकदमी लिनलाई यो समितिले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन गर्छ। साथै भविष्यमा हुने यस्ताखाले घटनाको पूर्व आकलन गरी विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा नेपालीहरुको विवरण आवधिक गरी पूर्ण अवस्थामा राख्न र ती निकायहरुलाई स्रोत, साधनसहित सक्षम बनाउनसमेत परराष्ट्र मन्त्रालयलाई निर्देशन गर्दछ।’