के हो नाकबाट पानी बगिरहने समस्या ‘राइनोरिया’?

    के हो नाकबाट पानी बगिरहने समस्या ‘राइनोरिया’?

    नाकबाट पातलो पानी बग्ने समस्यालाई ‘राइनोरिया’ भनिन्छ । सामान्यतया मौसम परिवर्तन हुँदा अर्थात् जाडो सुरु वा जाडोबाट गर्मी सुरु हुने समयमा यस्तो समस्या देखिन्छ ।
    नाकबाट पानी बग्ने समस्या अरु कारणले पनि हुन सक्छ । नाकमा संक्रमण भएमा, चोट लागेमा, मासु पलाएमा पनि यस्तो समस्या हुन्छ । संक्रमण पनि भाइरस र जीवाणु २ किसिमको हुन्छ।

    नाकबाट पानी बग्नु नाकको सामान्य समस्याले मात्र नभई मस्तिष्कको कारणले पनि हुन सक्छ। तर, यस्तो समस्या १ सयमा १ जनालाई मात्र हुन्छ।

    टाउकोमा चोट लागेको छ भने पनि नाकबाट पानी बग्ने समस्या देखिन्छ । नाकको सम्बन्ध मस्तिष्कको अघिल्लो भागसँग हुन्छ। मस्तिष्कको अघिल्लो भागलाई ‘फ्रन्ट लो’ भनिन्छ, त्यहाँ चोट लाग्यो, संक्रमण भयो, ट्युमर पलायो भने पनि नाकबाट पानी बगिरहन्छ।

    मस्तिष्कको त्यो पानीलाई सिएसएफ (सेरेब्रल स्पाइनल फ्लुइड) भनिन्छ। मस्तिष्कको पानी नाकबाट बग्नुलाई ‘सिएसएफ राइनोरिया’ भनिन्छ । सामान्यतया टाउकोमा चोटपटक लागेको अवस्थामा यस्तो समस्या देखिन्छ । यदि समयमै उपचार हुन सकेन भने त्यो समस्या पिनासमा परिणत हुन्छ।

    मकहाँ आएको एउटा बिरामी याद छ । मेनेन्जाइटिसको समस्या भएका एउटा बालकको १४ वर्षसम्म हरेक ६ महिनामा भर्ना भई उपचार भइरहेको थियो । के कारणले मेनेन्जाइटिस भयो भन्ने ‘सोर्स’ पत्ता लागेको थिएन । मेनेन्जाइटिसको उपचार भए पनि सोर्सको उपचार भएको थिएन।

    पछि एक जना फिजिसियनले ती बालकलाई मकहाँ पठाए । उनलाई जाँच गर्दा थाहा भयो, उनको पिनासको थैलीमा दुवैतर्फ पिप जमेको रहेछ । त्यो पिप सफा गरेपछि उनलाई पूर्णरुपमा निको भएको थियो । कहिलेकाहीँ समयमा सही उपचार नहुँदा यस्तो समस्या लामो समयसम्म चलिरहन्छ।

    नाक बग्ने समस्या सुरु भएर एक हप्तामा कम भएन, पानी पहेंलो र बाक्लो आउन थाल्यो, ज्वरो देखियो भने एन्टिबायोटिक औषधि पनि चलाउनुपर्ने हुन सक्छ । यो समस्या सबैलाई हुने भए पनि बच्चा र वृद्धलाई बढी सताउँछ।

    सामान्यतया नाकबाट पानी बग्ने समस्या एक हप्तामा कम हँुदै जानुपर्छ । तर, एक हप्ताभन्दा बढी समयमा पनि पानी बग्न कम भएन, सुँघ्ने शक्ति कम हुँदै गयो, हाच्छिउँ आइरहने, नाक बन्द हुने, नाकको भित्रपट्टि चिलाउने, टाउको दुखिरहने, उच्च ज्वरो आइरहने जस्ता लक्षण देखियो भने चिकित्सककहाँ देखाउनुपर्छ।

    चिसो मौसममा बच्चा र वृद्धवृद्धालाई बढी ख्याल गर्नुपर्छ । चिसोमा बढी बाहिर नजाने, न्यानो लुगा लगाउने, गर्मी हुने खालको फलफूल खाने गर्नुपर्छ । धेरै पानी बगिरह्यो, पानी बाक्लो हुँदै गयो या पानीमा रगत पनि देखिन थाल्यो भने एक्स–रे गरेर पनि उपचार गर्नुपर्ने हुनसक्छ।

    अस्पताल आउने धेरैजसो बिरामी पिनास भइसकेपछि आउँछन् । पिनास पनि बिग्रिसकेको हुन्छ । त्यसैले लामो समयदेखि नाकबाट पानी बगिरहेको छ भने समयमै नजिकको स्वास्थ्य संस्थामा गएर जाँच गराइहाल्नुपर्छ ।