नवजात शिशुमा यस्ता समस्या देखिए ? नगर्नुहोस् वेवास्ता

    नवजात शिशुमा यस्ता समस्या देखिए ? नगर्नुहोस् वेवास्ता

    । जन्म भएपछिको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था मानिन्छ। नवजात शिशु र आमा दुबैको स्वास्थ्य स्याहार र सुरक्षाको लागि मातृशिशु स्वास्थ्य केन्द्र, प्रसुति केन्द्र-अस्पतालमा दक्ष प्रसुतिकर्मीद्धारा प्रसुति गराउनु पर्दछ। नेपाल सरकारले तोकेका यस्ता प्रसुति संस्थामा निशुल्क प्रसुति गराउने व्यवस्थाका साथै, सुत्केरी महिलालाई यातायात खर्चसमेत उपलब्ध गराउने व्यवस्था छ।

    जन्मनासाथ नवजात शिशुलाई सफा तथा नरम कपडाले पुछ्ने र न्यानो हुनेगरी लुगाले बेर्नु पर्दछ। जन्मेको एक घण्टाभित्र नवजात शिशुलाई पहिलो बिगौती दूध खुवाउनु पर्दछ। बेलाबेलामा शिशुलाई स्तनपान गराउनाले प्रशस्त दूध आउन थाल्छ।

    तर कहिलेकाही नवजात शिशुमा विभिन्न समस्या पनि देखिने गर्छन्। त्यस्ता समस्या देखिए के गर्ने भन्ने बारेमा आज हामी तपाईलाई जानकारी दिदैछौँ । आउनुहोस् जानौँ कुन कुन हुन् ती समस्याः

    दुध चुस्न नसक्नु

    जन्मिनेवित्तिकै नवजात शिशुले रुनु र दुध चुस्नु पर्छ। यदि नवजात शिशुले दुध चुस्न सकेन भने खतराको संकेत हो ।

    नसासम्बन्धी समस्याले शिशुले आमाको दूध चुस्न नसक्ने समस्या हुन्छ। यद्यपि कहिलेकाँही श्वासप्रश्वासमा बाधा उत्पन्न हुँदा पनि शिशुले दुध चुस्न सक्दैन। यस्तो समस्याले बच्चालाई कमजोर बनाउँछ।

    श्वास बढ्नु

    आमाले शिशुको स्वासदरप्रति सधै सजग रहनुपर्छ। यो अवधिका शिशुको श्वासदर सामान्यतया प्रतिमिनेट ३० देखि ६० सम्म हुन्छ। यस्तो दर ६० भन्दा बढी भएमा त्यो खतराको संकेत हो। यसरी श्वासदर बढ्यो भने बुझ्नुपर्छ, शिशुलाई कुनै न कुनै संक्रमणले आक्रमण गर्यो।

    नाभीको संक्रमण

    नवजात शिशुमा नाभीको संक्रमण हुने पनि अत्यधिक सम्भावना हुन्छ। नाभी पाक्ने, नाभीबाट पिप बग्ने जस्ता समस्या भए शिशुको लागि पछिसम्म खतरा हुन सक्छ।

    नाभीमा हुने समस्याले शरीरका अन्य भागमा पनि विभिन्न प्रकारको संक्रमण हुन सक्छ। त्यसैले यस्ता खतराको संकेतबाट सावधान रहनु पर्छ।

    शितांग हुनु

    बच्चा आमाको पेटमा हुँदा एक प्रकारको तापक्रममा रहेको हुन्छ। बाहिर निस्किसकेपछि ऊ नयाँ तापक्रममा प्रवेश गर्छ। शिशु त्यही बाहिरी तापक्रममा घुलमिल हुनुपर्छ।

    आमाको पेटकोभन्दा बाहिरी तापक्रम कम हुन्छ। त्यसैले, नवजात शिशुलाई न्यानो पारेर राख्नुपर्छ। किनभने नवजात शिशुलाई कम चिसोले समात्न सक्छ।

    त्यसैले नवजात शिशु निमोनियाको समेत जोखिममा हुन्छन्। शिशुको शरीरको तापक्रम ३६ डिग्री सेन्टिग्रेडभन्दा कम भए त्यसलाई शितांग भएको मानिन्छ। यो नवजात शिशुको लागि खतराको संकेत हो।

    अन्य संकेत

    काम्नु पनि नवजात शिशुको लागि अर्को खतराको संकेत हो। त्यस्तै नवजात शिशुमा कोखा हान्ने समस्या पनि देखिन सक्छ। यसलाई पनि खतराको संकेतको रूपमा लिइन्छ।

    त्यसैले शिशुका यी समस्याबारे आमा जानकार हुन जरुरी हुन्छ। यस्तो खतराबाट बचाउन सचेतना अपनाउनु पर्छ। यस्ता संकेत देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्था पुर्‍याउनुपर्छ।