मुटुका बिरामीलाई जाडो मौसम किन जोखिमपूर्ण?

    मुटुका बिरामीलाई जाडो मौसम किन जोखिमपूर्ण?

    धेरैजसो अस्पतालहरुमा जाडो मौसममा बिरामीको चाप कम हुने गर्छ। जाडो मौसममा गर्मीमा जस्तो रोग र संक्रमणको दर कम हुन्छ। तर जाडो मौसममा मुटु रोगसँग सम्बन्धित बिरामी भने बढ्ने गरेको चिकित्सकहरु बताउँछन्।

    जाडो मौसममा चिसोका कारण शरीरका रक्तनलीहरु खुम्चिने गर्छन् र मुटुलाई रक्तसञ्चार प्रणाली सञ्चालन गर्दा बढी चाप हुन्छ।

    मुटुले बढी काम गर्नुपर्दा मानिसहरुमा रक्तचापको समस्या बढ्ने, हार्टअट्याक हुने लगायतका विभिन्न समस्या देखिन्छन्।

    चिसो मौसममा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि कम हुने भएकाले मुटु सम्बन्धी रोग भएका बिरामीमा संक्रमणको जोखिम पनि बढ्ने गर्छ। त्यसैले जाडो मौसममा दीर्घ मुटुरोगका बिरामीले विशेष ख्याल गर्नुपर्ने हुन्छ।

    जाडोयाममा मुटुमा कस्ता समस्या देखिन्छन् ? मुटुको समस्या बढ्न नदिन कस्ता कुरामा ध्यान दिनुपर्छ? चिसोबाट मुटुलाई जोगाउन के गर्नुपर्छ ? लगायतका विषयमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक एवं मुटु रोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीसँग स्वास्थ्यखबरकी रिता लम्सालले कुराकानी गरेकी छिन्।

    डा अधिकारीसँग गरिएको भिडियो कुराकानीको मुख्य अंशः

    जाडो महिनामा चिसोका कारण मानिसको शरीरका रक्तनलीहरु खुम्चिने गर्छन्।

    रक्तनलीहरु खुम्चिँदा मुटुलाई कामको चाप बढी हुन्छ, जसले गर्दा जाडो महिनामा मुटुरोगका बिरामीहरु बढ्ने गर्छन्।

    चिसो मौसममा मानिसमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कम हुँदा मुटुमा संक्रमण हुनसक्छ।
    चसोबाट मुटुलाई जोगाउन सम्भव भएसम्म चिसोबाट नै बच्नुपर्छ।

    धेरै जाडो भयो भनेर अल्कोहल सेवन गर्दा चिसोबाट बच्न सकिँदैन। किनकी रक्सी सेवन गरेपछि त्यो व्यक्तिले तातो अनुभव गर्छ र चिसोमा बढी एक्स्पोज हुन्छ। जसले गर्दा अल्कोहल सेवन गर्ने मानिसमा मुटुरोगको समस्या बढ्छ। मुटुरोग लागेका व्यक्तिलाई अल्कोहल सेवन झनै खतरनाक हुनसक्छ।

    मुटुरोग लाग्न नदिन चिल्लो तथा बोसोजन्य पदार्थ, नुन कम खानुपर्छ। चुरोट, खैनी लगायतका सुर्तीजन्य पदार्थ खानु हुँदैन।

    कुनै पनि रोगको औषधि उपचारमा हुनुहुन्छ भने त्यसलाई नियमित गर्नुपर्छ।

    जाडोमा चिसोका कारण पनि हृदयघात हुने सम्भावना बढी हुन्छ भन्ने गरिन्छ, तर नेपालमा चिसोकै कारण हृदयघात भएको तथ्यांक भने छैन।

    धेरै मानिसलाई हार्टअट्याकको लक्षण थाहा छैन। बेहोस हुनुमात्र हार्टअट्याकको लक्षण होइन। हार्टअट्याक हुँदा मानिसको छाती दुख्छ। यदि कोही मान्छेलाई छाती दुखेको छ भने नजिकको स्वास्थ्य संस्था वा मुटुरोग विशेषज्ञ भएको अस्पतालमा तुरुन्त जानुपर्छ।

    उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल भएका, चुरोट–खैनी सेवन गर्ने मानिसमा हृदयघात हुने सम्भावना बढी हुन्छ।

    वंशागुणत कारण तथा उमेर बढ्दै जाँदा हृदयघात हुने सम्भावन बढी हुन्छ।

    हृदयघातको समस्या हुन नदिन यी समस्या निम्तिने रोगहरु जस्तैः मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल लगायतका समस्याको उपचार गर्नुपर्छ। हृदयघात हुन नदिन खानपानमा विशेष ध्यान दिनुपर्छ। शरीरको तौल सन्तुलित राख्नुपर्छ।

    कुनै पनि रोगका बिरामीले रोग लुकाएर बस्नु हुँदैन।

    छाती दुखिरहेको छ, श्वास फर्न गाह्रो भएको छ, रक्तचाप बढेको छ, उच्च रक्तचापका कारण टाउको दुखिरहेको छ भने कोरोना संक्रमणको डर मानेर उपचार गर्न ढिला गर्नु हुँदैन।

    यदि यस्ता समस्यालाई कोरोना संक्रमणको डर मानेर उपचार नगरी बस्दा मानिसको ज्यानै जान सक्छ। त्यसैले यस्तो अवस्थामा नजिकैको स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य जाँच गराउनु पर्छ।

    अहिलेको अवस्थामा अस्पताल आउँदा कोरोना संक्रमणको डर मान्नु पर्दैन।

    तर, घरबाट अस्पतालसम्म आइपुग्दा विशेष सावधानी भने अपनाउनुपर्छ।