किन आउँछ चाँयापोतो ? यसरी गरौँ उपचार

    किन आउँछ चाँयापोतो ? यसरी गरौँ उपचार

    हरेक ब्यक्ति आफ्नो सुन्दरता प्रति चनाखो रहने गर्दछ । शारीरिक सुन्दरतासँगै उसको ब्यक्तित्व समेत झल्किने गर्दछ । तर मानिसको शरीर तथा अनुहारमा आउने बिभिन्न रोग तथा समस्याका कारण उसको सुन्दरतासँगै ब्यक्तित्व समेत खस्किने गर्दछ ।

    त्यस्तै समस्या मध्ये एक हो, अनुहारमा चाँया–पोतो आउने रोग । यदि अनुहारमा चाँया पोतो आएको छ भने त्यसको समाधान तर्फ लाग्नुस् ।चाँया आउने कारण
    छालामा मेलामाइन भन्ने तत्त्व हुन्छ । यसले छालालाई प्रकृतिक रंग दिने काम गर्छ । यदि यस तत्त्वमा गडबडी भयो भने छालामा हुनुपर्ने रंग नभई अर्कै देखिन्छ । विभिन्न थेग्लाथेग्ली, टाटाटाटी पनि देखिन सक्छ । त्यसैले मेलामाइनको गडबडीले पनि कालो पोतो आएको जस्तो देखिन सक्छ । त्यस्तै महिनावारी बन्द हुने समयमा हर्मोनको गडबडीले चाया आउन सक्छ । गर्भाशय, मूत्रनली, कलेजोको स्वास्थ्य समस्या भएमा र अलि लामो समय बिरामी भएमा पनि अनुहारमा कालो पोतो देखिन सक्छ । चिन्ता लिइरहने, पानी कम पिउने, बढी घाममा रहने, चर्को बत्तीको प्रकाश छालामा परिरहने, जथाभावीरुपमा फुटपाथे सौन्दर्य प्रशोधनका सामग्री प्रयोग गर्नेहरुमा कालोपोतो आउने सम्भावना अत्यधिक हुन्छ ।

    यसैगरी छालाको सरसफाइमा ध्यान नदिने, ब्लिच–ह्वाइट्निङ क्रिम बढी प्रयोग गर्ने, नकारात्मक सोचाइ गरिरहनेहरुमा छालाको समस्या हुन सक्ने हुँदा कालोपोतो आउन सक्छ । साथै कुपोषण भएका, पेट सफा नहुने अर्थात् कब्जियत भइरहने, छाला अति नै सुख्खा हुने वा अति नै तैलीय हुनेहरुमा पनि कालो पोतो देखिन देखिन सक्छ । परिवार नियोजनका लागि प्रयोग हुने पिल्स चक्की सेवन गर्नेहरुमा पनि कालोपोतो आउने गरेको पाइन्छ । यस्तै हर्मोनयुक्त अन्य औषधिको सेवन गरेको छ भने यसले हर्मोनमा गडबडी ल्याउने हुँदा छालामा असर परी कालो पोतो आउने हुन्छ । यी बताइएकामध्ये कुन–कुन कारणले कालोपोतो आएको हो भन्ने अनुमान गर्न सकिएमा बचावट एवम् नियन्त्रण गर्न सकिन्छ ।

    चाया अर्थात् कालोपोतो हटाउन मात्र नभएर पूरै अनुहार सफा बनाउन विभिन्न घरेलु फेसप्याकहरु प्रयोग गर्न सकिन्छ । यस्ता फेसप्याकले दाग, खटिरा, फोहोर र मृतछालासमेत हटाउन मद्दत मिल्छ । जुनसुकै व्यक्तिले जुनसुकै समयमा पनि फेसप्याक लगाउन सक्छन् । तर अनुहारमा घाउ वा जटिलता भएमा विशेषज्ञ डाक्टरबाट उपचार गराउनुपर्छ ।

    फेसप्याक धेरै किसिमले बनाउन सकिन्छ । जौको पीठो, मुगको दाल, अण्डाको सेतो भाग र दूध मिलाएर बनाएको फेसप्याकले हानिरहित अनुहार सफा बनाउन सकिन्छ । छालाको बाहिरी भागमा रहेको कालोपोतो हटाउन यस किसिमको फेसप्याक उपयोगी हुन्छ । यस्तो फेसप्याक अनुहारमा लगाएको १५ मिनेटपछि दूधले भिजाउँदै मसाज गर्नुपर्छ । त्यसपछि पानीले पखाल्नुपर्छ । यस बेला कुनै पनि साबुनको प्रयोग गर्नुहुँदैन । बरु नियमित म्वाइश्चराइजरको प्रयोग गरेमा छाला सुन्दर देखिनुका साथै स्वस्थ हुन्छ ।

    त्यस्तै गाजर, आलु र काँक्रो मसिनो गरी कोरेसोमा कोरेर बटर मिसाएमा राम्रो फेसप्याक बन्छ । मुसुरोको दालको पीठो दूधमा मिसाएर पनि फेसप्याक बनाउन सकिन्छ । फेसप्याक जसरी बनाए पनि माथि बताएबमोजिम अनुहारमा प्रयोग गरी पखाल्नुपर्छ । यस किसिमका फेसप्याकले छालाको बाहिरी सतहमा भएका फोहोर पदार्थ हटाई अनुहारको सुन्दरता बढाउने हुन्छ ।

    ब्युटिसियनको सल्लाहअनुसार तयारी फेसप्याक पनि किन्न सकिन्छ । चाया हटाउने नाममा तयारी केमिकलयुक्त क्रिमहरु प्रयोग गर्ने हो भनेचाहिँ विचार गर्नै पर्छ । यसरी आफूखुशी क्रिम प्रयोग गरी छाला बिगारेर ब्युटी पार्लर आउनेहरु पनि हुन्छन् । उनीहरुलाई हामीले कुरा बुझाएर उपचारका लागि डाक्टरकोमा जान सल्लाह दिने गरेका छौं ।

    मुख्य कुरा चाया हटाउन वा यसबाट बच्न सूर्यको किरणबाट बच्नुपर्छ । घाममा निस्कँदा सन स्क्रिन लोसन लगाउनुपर्छ । छालाको प्रकृतिअनुसारको स्याहार गर्नुपर्छ । कुनै जटिल समस्या भएमा छालाको डाक्टरबाट उपचार गराउनुपर्छ । त्यसै गरी ताजा तरकारी, फलफूल, सागसब्जी सन्तुलित रुपमा खाने गर्नुपर्छ । मेकअप सामग्रीमा पाउडर–ब्लसरको सामग्री प्रयोग नगर्नु राम्रो हुन्छ । अनुभवी ब्युटिसियनबाट मात्र सौन्दर्य सेवा लिने गर्नुपर्छ ।