बढी मोटोपनले मानिसको स्वास्थ्यलाई सधैं जोखिममा

बढी मोटोपनले मानिसको स्वास्थ्यलाई सधैं जोखिममा

बढी मोटोपनले मानिसको स्वास्थ्यलाई सधैं जोखिममा राख्छ  । मधुमेह, मुटुरोग, क्यान्सरजस्ता रोगका लागि घातक मानिने मोटोपन कोभिड– १९ संक्रमणका दृष्टिले समेत खतरनाक हुने विभिन्न अध्ययनले देखाएका छन्  ।

मोटोपन र बढी वजन भएका संक्रमितलाई निको हुन गाह्रो हुने भएकाले त्यसलाई कम गर्न ध्यान दिनुपर्ने कोभिड– १९ उपचारमा संलग्न नेपाली चिकित्सकले सुझाएका छन् । विशेषगरी लकडाउनका बेला व्यायामको कमी र घरमै बसेर खाना खाइरहँदा मोटोपन झन् बढेको उनीहरूको तर्क छ । नेपालमा हालसम्म कोरोना संक्रमित र यसबाट मृत्यु भइसकेकामा मोटोपनको असरबारे प्रामाणिक अध्ययन भने भएको छैन । अत्यधिक संक्रमित युवा र आप्रवासी कामदार भएकाले मोटोपनको समस्या नदेखिए पनि समुदायमा महामारी फैलँदा यो समस्या ठूलो हुँदै जाने देखिएको छ ।

सन् २०१९ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्रकाशन गरेको ‘नसर्ने रोगको जनसंख्यागत व्याप्ति’ नामक एक अध्ययन प्रतिवेदनअनुसार नेपालमा २३.५ प्रतिशत जनसंख्यामा अधिक तौल अर्थात् ‘ओभरवेट’ छ भने अधिक मोटोपन अर्थात् ‘ओबेसेटी’ रहेको जनसंख्या ७.२ प्रतिशत छ । बडी मास इन्डेक्स (बीएमआई) का आधारमा यी दुवैको आँकलन गरिन्छ । मानिसको तौल र उचाइलाई हिसाब गरेर बीएमआई निकालिन्छ ।

कुनै मानिसको बीएमआई २५ वा सोभन्दा बढी रहे अधिक तौल भएको मानिन्छ भने ३० वा सोभन्दा बढी बीएमआई भए अधिक मोटोपन मानिन्छ । मानिसको शरीरमा अत्यधिक र असामान्य हिसाबले बोसो सञ्चय भए धेरै मोटाउने र वजन थपिने गर्छ । ४० देखि ५९ वर्ष उमेर समूहमा २६.८ प्रतिशत, महिलामा २४.१ प्रतिशत, केही समृद्ध जनजातिमा २९.९ प्रतिशत र किराँतमा २७.३ प्रतिशत अधिक तौल रहेको परिषदको सो प्रतिवेदनले देखाएको छ ।

यसैगरी, सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने एक तिहाइभन्दा बढी कर्मचारी तथा गण्डकी र वाग्मती प्रदेशका झन्डै एक तिहाइ जनसंख्या अधिक वजनका छन् । सहरी जनसंख्याको झन्डै ३० प्रतिशत मानिस यो समस्याबाट ग्रसित छन् । नेपालमा ‘ओबेसेटी’ समस्या पनि ४० देखि ४९ वर्षबीचको उमेरसमूह र महिलामा ९ प्रतिशत छ भने क्रिस्चियन धर्मावलम्बीमा १४.३ प्रतिशत, केही समृद्ध जनजाति समूहमा ११.५ प्रतिशत, सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारीमा ९ प्रतिशत, प्रदेश– ३ मा १२.३ प्रतिशत र सहरी जनसंख्यामा १०.७ प्रतिशत रहेको सो अध्ययनले देखाएको छ ।

नेपालमा ५१ प्रतिशत महिला र २४ प्रतिशत पुरुषमा पेटको मोटोपन छ । कम्मरको परिधि ८० सेन्टिमिटरको हाराहारीमा रहेका महिला र ९० सेन्टिमिटरको हाराहारीमा रहेका पुरुषलाई मोटो मानिएको छ । मोटोपनले संक्रमितलाई जोखिम बढाउने र उपचारका क्रममा ‘खराब नतिजा’ का लागि यो कारक बन्ने कोरोना संक्रमितको उपचारमा संलग्न नेपालका चिकित्सकहरूले बताएको खबर श्रीराम सुवेदीको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।