यी लक्षण देखिए हुन सक्छ क्षयरोग ,उपचार के छ ?

    क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ । चिकित्सकीय भाषामा यसलाई ट्युबरकुलोसिस भनिन्छ । छोटकरीमा यो रोगलाई टीबी भनेर चिनिन्छ ।

    क्षयरोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक कीटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो सरुवा रोग भएपनि खाना र यौनजन्य क्रियाकलापबाट सर्दैन ।

    क्षयरोग कति तीव्र सर्छ भन्ने कुरा व्यक्तिको रोगप्रतिरोधात्मक क्षमतामा पनि भर पर्छ । रोगसँग लड्ने क्षमता कम भए क्षयरोगको कीटाणुले छिटो आक्रमण गर्छ । कुपोषण, दीर्घरोगी, एचआईभी संक्रमण भएका व्यक्तिमा यो रोग छिटो हुने जोखिम हुन्छ । यसले फोक्सोमा मात्र नभई शरीरको विभिन्न अंगलाई असर पार्न सक्छ ।

    क्षयरोगलाई दुई भागमा विभाजन गर्न सकिन्छ । एउटा फोक्सोको क्षयरोग र अर्को फोक्सोबाहेकका अंगमा लाग्ने क्षयरोग । फोक्सोबाहेक ग्रन्थि, आन्द्रा, मस्तिष्क, हाड वा हड्डीको जोर्नी, मुटु, प्रजनन् तथा मूत्र प्रणाली, छाला, आँखा लगायत अंगमा पनि क्षयरोग हुन सक्छ । फोक्सोबाहेकका अंगमा भएको क्षयरोगको निदान तुलनात्मक रुपमा गाह्रो हुन्छ ।

    क्षयरोगका लक्षण

    नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण हुन् । यदि हड्डी वा हड्डीको जोर्नीमा क्षयरोग भएको खण्डमा यी माथिल्लो लक्षणबाहेक हड्डी दुख्ने, सुन्निने, छाला रातो हुने जस्ता लक्षण देखिन्छ । त्यस्तै ग्रन्थिमा क्षयरोग भएमा ग्रन्थिमा पीप बग्ने, गाँठो बढ्दै जाने, आन्द्रामा भएको भए खाना कम रुच्ने, कब्जियत हुने जस्ता समस्या देखिन थाल्छन् ।

    मस्तिष्कमा भए टाउको दुख्ने, बान्ता हुने, बेहोस हुने जस्ता लक्षण देखिन्छ भने मुटुमा भए श्वास फेर्न गाह्रो हुने, थोरै हिंड्दा थकान महसुस हुने, स्याँ स्याँ हुने लक्षण देखिन्छ ।

    हुन त क्षयरोगमा देखिने प्रारम्भिक लक्षण अन्य रोगमा पनि देखिन्छन् । तर दुई हप्ताभन्दा बढी लगातार खोकी लागिरहेमा भने खकार जाँच गरेर क्षयरोग हो कि होइन भन्ने थाहा पाउन सकिन्छ । ग्रन्थिमा भए गाँठोको जाँच गरिन्छ ।

    उपचार के छ ?

    क्षयरोगको निदान औषधिबाटै हुन्छ, शल्यक्रिया गर्नुपर्दैन । यसमा बिरामीले लामो समयसम्म औषधि खानुपर्ने हुन्छ । यसको औषधि देशभरका स्वास्थ्य केन्द्रमा निःशुल्क पाइन्छ । औषधि खाँदा खानेकुरा बार्नुपर्दैन ।

    उपचार गर्न कति खर्च ?

    औषधि निःशुल्क पाइने भएकाले यसका लागि खर्च लाग्दैन । तर लक्षणको आधारमा खकार लगायत जाँच गराउँदा अस्पतालमा केही खचए लाग्न सक्छ । अरु सबै उपचार निःशुल्क हुन्छ ।

    सामान्य खालको क्षयरोगमा ६ महिनासम्म नियमित औषधि खाए निको हुन्छ भने जटिल खालको भए २४ महिनासम्म पनि औषधि खानुपर्ने हुन सक्छ । नियमित औषधि आए क्षयरोग पूर्ण रुपमा निको हुन्छ ।

    क्षयरोगको जोखिम कसलाई ?

    क्षयरोगको जोखिम सबै उमेर समूहलाई हुन्छ । यद्यपि, बालबच्चा, वृद्धवृद्धा र दीर्घरोगी क्षयरोगको बढी जोखिममा हुन्छन् ।

    आराम गर्ने, पोषणयुक्त खाना खाने, मद्यपान र धुम्रपान नगर्ने, हरियो सागपात, फलफूल, माछा-मासु प्रशस्त खाने, पोषिलो तरल खाना खाने गरे क्षयरोग लाग्नबाट बच्न सकिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *