परापूर्वकालमा एउटा भेडी गोठ थियो । भेडाको सङ्ख्या हजारौँ भएकाले गोठाला पनि थुप्रै थिए । भेडीगोठलाई विभिन्न खर्क (चरन क्षेत्र) मा सार्दै लैजाने क्रममा गोठालाले मन्दिर रहेको क्षेत्रमा पु¥याए । त्यतिबेला त्यहाँ देवी रहेको गोठालाहरुलाई थाहा थिएन । पाथीभराको शिरमा भेडी गोठ लिएर पुगेका गोठाला गोठ बनाएर बास बसे ।
भोलिपल्ट बिहान उठेर हेर्दा गोठालाले एउटा पनि भेडा देखेनन् । साँझ जम्मा भएका भेडा एकाएक हराएपछि गोठाला अचम्ममा परे । उनीहरुले दिनभर भेडा खोजी गरे तर कुनै अत्तोपत्तो पाएनन् । दिनभर जङ्गल घुमेर खोजी गर्दा नभेटेपछि साँझ निरास हुँदै बासस्थानतर्फ फर्किएर सुते । राति सपनामा सबै गोठालामध्येका एकले साक्षात् कालीको रुप देखेछन् ।
सपनामै देवीले तिमीहरु नआत्तिनु, मलाई भेडाको बलि दिनु, हराएका तिम्रा भेडा पाउनेछाँै र तिम्रो मनोकामना पनि पूरा हुनेछ भनिन् । ती गोठाला निन्द्राबाट ब्युझिएर हेर्दा आफ्ना हराएका सबै भेडा देखे । त्यसपछि गोठालाले भेडाको बलि दिएर त्यहाँ पूजाआजा गरी अन्यत्रै गोठ सारे । यो घटनाका बारेमा जताजतै हल्ला फैलिएपछि त्यहाँ मानिसले पूजाआजा गर्न थाले ।
महाकाली, भद्रकाली, सिद्धकाली, स्वेतकाली र रक्तकाली गरी पाँच वटा रुप भएकी देवी भएकाले पञ्चकन्या भगवती देवीको रुपमा मान्ने गरिएको छ ।पाथीभरामा भगवतीको पूजा गरेर चण्डीपाठ गर्ने, हवन गर्ने शास्त्रीय पद्धति र बलि दिएर पूजा गर्ने पद्धति चलिआएको पाइन्छ ।
कुनै समय गाउँमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी नहुँदाको अवस्थामा विरामी पर्दा पाथीभरा पुग्ने भाकल गरे पनि निको भइन्छ भन्ने विश्वास, मान्यता राखेर देवीको पूजाआजा र दर्शन गर्ने मानिस सहजै स्वास्थ्य उपचारको पहुँचमा पुग्दाको वर्तमान अवस्थामा पनि उतिकै पाथीभराप्रति विश्वास र आस्था राख्छन् ।