चिसो बढेसँगै श्वासप्रश्वाससम्बन्धी विभिन्न समस्या देखिन थाल्छन् । त्यसमध्येको एक हो इन्फ्लुएन्जा, जसलाई ‘फ्लु’ पनि भनिन्छ । हावाको माध्यमबाट वा मानिसहरूले संक्रमित सतह छुँदा यो सजिलै सर्छ । इन्फ्लुएन्जा ‘ए र इन्फ्लुएन्जा ‘बी’ ले तुलनात्मक रूपमा बढी संक्रमण फैलाउने गर्छन् । नेपालमा विशेषगरी जेठदेखि भदौ र पुसदेखि चैतसम्म बढी बिरामी देखिन्छन् ।
स्केच : फ्रिपिक डट कम
फ्लु शिशुदेखि वयस्क, अधबैंसे र ज्येष्ठ नागरिक गरी सबै उमेर समूहका मानिसलाई लाग्न सक्छ । फ्लु भएका मानिसले खोक्दा र हाच्छिउँ गर्दा भाइरस सार्न सक्छन् । बिरामीले खोक्दा, हाच्छिउँ गर्दा, बोल्दा आएका छिटा अर्को नजिकका मानिसको नाक वा मुखमा पर्न सक्छ । त्यसैगरी भाइरस भएको कुनै सामान छोएर आफ्नो मुख वा नाक छुँदा पनि मानिसलाई फ्लु लाग्न सक्छ, जस्तै ढोकाको चुकुल, टेबुल, अथवा संक्रमित व्यक्तिको फोहर हात ।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष २ लाख ९० हजारदेखि ६ लाख ५० हजारसम्म मानिसको फ्लुबाट मृत्यु हुने गरेको पाइएको छ । फ्लुले सामान्यदेखि जटिल खालका जोखिम निम्त्याउन सक्छ ।
यसका लक्षण के–के हुन् ?
ज्वरो, खोकी, घाँटी दुख्नु, टाउको दुख्नु, रुघा लाग्ने, नाक बग्ने वा बन्द हुने, जीउ दुख्ने आदि लक्षण हुन सक्छन् । फ्लुले कसैलाई धेरै गलाउन सक्छ भने केहीलाई सबै लक्षण देखा नपर्न सक्छ र त्यति कमजोर पनि पार्दैन । बिरामी पर्न सक्नेमा धेरैजसो ६५ वर्षभन्दा माथिका अथवा स्वास्थ्य अवस्था राम्रो नभएका जस्तै मधुमेह, हृदय रोग, दम अथवा मिर्गौला रोग लागेका वा गर्भवती महिला पर्छन् र ५ वर्षमुनिका केटाकेटी पनि जोखिम समूहभित्र पर्छन् । धेरैजसो मानिसले फ्लुको संकेत देखिएको ५ देखि ७ दिनसम्म फ्लु सार्न सक्छन् । गम्भीर बिरामी अथवा बालबालिकाले फ्लु लामो समयसम्म सार्न सक्छन् ।
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुन पानीले पटक–पटक हात धुने गर्दा पनि फ्लुबाट धेरै हदसम्म बच्न सकिन्छ ।
कस्तो बेला अस्पताल जाने?(बालबालिकाको हकमा)
छिटो–छिटो सास फेरेमा वा सास फेर्न अप्ठ्यारो भएमा
छाला नीलो वा खैरो देखिएमा
लगातार र चिन्ताजनक रूपमा वान्ता गरेमा
फ्लुका लक्षणमा सुधार आए पनि ज्वरो र नराम्रो खोकी लागिराखेमा
नबिउझिने वा कुराकानी नगरेमा
पर्याप्त झोलकुरा नखाएमा
फकाउन नसक्ने गरी झर्को मानेमा
कस्तो बेला अस्पताल जाने?(वयस्कको हकमा)
सास फेर्न गाह्रो भएमा वा छिटो–छिटो सास फेरेमा
छाती वा पेटमा दुखाइ वा दबाब भएमा
एक्कासि रिंगटा लागेमा
लगातार र चिन्ताजनक रूपमा वान्ता गरेमा
फ्लुका लक्षणमा सुधार आए पनि ज्वरो र नराम्रो खोकी लागिरहेमा
फ्लुविरुद्धको खोप के हो?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले फ्लुविरुद्धको खोपले यसबाट हुने जटिलतातिर जाने सम्भावना कम गर्न मद्धत गर्ने बताउँछन् । उनले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक,दीर्घरोगी, गर्भवती महिलालाई सिकिस्त बनाउने सम्भावना अरुभन्दा बढी भएकाले खोप लगाउन आवश्यक हुने बताए । फ्लुविरुद्धको खोप शतप्रतिशत प्रभावकारी नभए पनि यसले जटिलता निम्त्याउन दिँदैन । जस्तै यसले अस्पताल भर्ना हुने दर र मृत्यु हुने दरमा उल्लखेनीय रूपमा कमी ल्याउँछ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले ६ महिना र त्यो भन्दा माथिका सबैलाई यो खोप सिफारिस गरेको छ । यो खोपले फ्लु हुने सम्भावनालाई घटाउँछ । साथै यसले फ्लुबाट हुने गम्भीर बिमारीलाई पनि घटाउनु र अस्पताल भर्ना हुने सम्भावनालाई धेरै हदसम्म घटाउने मद्धत गर्छ । ६ महिनादेखि ८ वर्ष सम्मका बालबालिकालाई फ्लु खोपको दुई डोज आवश्यक रहन्छ ।
पहिलो खोपको मात्रा दिइएको ४ हप्ताको अन्तरालमा अर्को मात्राको खोप दिइन्छ । त्यसपछि उनीहरूलाई वार्षिक एउटा मात्र खोप दिए पुग्छ । ६ महिनामाथिका स्वस्थ्य व्यक्तिहरूले पनि फ्लूको खोप लगाउन सक्छन् । दम, क्यान्सर तथा क्यान्सर उपचार गराइरहेका, सीओपीडी भएका, मुटु रोग, सिस्टिक फाइब्रोसिस, मधुेमेह, मस्तिष्क तथा स्नायु प्रणालीसँग सम्बन्धित समस्या भएका, एचआईभी, मिर्गौला तथा कलेजो रोग भएका, मोटोपन भएका व्यक्तिलाई फ्लुको संक्रमणबाट हुने जटिलतालाई रोक्न धेरै मद्धत गर्छ ।
डा. सुवेदी भन्छन्, ‘लगाउन सक्ने ६ महिनादेखि माथिका सबैले फ्लुविरुद्धको खोप लगाउँदा हुन्छ र जोखिम समूहमा पर्नेले प्राथमिकतामा राख्नुपर्छ । यसले अस्पताल भर्ना हुने दर र मृत्यु हुने दर घटाउन सक्छ । खोप लगाउँदा पनि संक्रमण नहुने भन्न सकिन्न तर जटिलताको सम्भावना एकदम न्यून हुन्छन् ।’ उनले नेपालमा फ्लुको तथ्यांक राख्न सकिए सजिलो हुने बताउँछन् । उनी भन्छन्, ‘अमेरिकामा औसत वार्षिक ३० हजार र संक्रमण बढी भएका वर्षमा ५० देखि ६० हजारजनासम्मको फ्लुबाट मृत्यु हुन्छ । काठमाडौंको एउटा अस्पतालको आईसीयूमा हरेक वर्ष ७ देखि ८ जनाको फ्लूबाट मृत्यु हुने गरेको मेरो अनुभव छ । तथ्यांक नभएकाले यति नै छन् भनेर अनुमान लगाउन गाह्रो छ ।’
के हरेक वर्ष फ्लुविरुद्धको खोप लगाउन आवश्यक छ ?
फ्लु भाइरस धेरै छिटो उत्परिवर्तित हुन्छन् । अघिल्लो वर्ष लगाएको खोपले यो वर्ष सुरक्षा प्रदान नगर्न सक्छ । हरेक वर्ष फ्लुका खोप बन्छन् । खोप लगाउँदा एन्टिबडी बनाउँछ जसले भाइरसबाट सुरक्षा प्रदान गर्छ । तर बिस्तारै एन्टिबडी लेभल घट्दै जान सक्छ । त्यसैले हरेक वर्ष फ्लुको खोप लगाउन जरुरी देखिन्छ ।
क–कसलाई यो खोप लगाउन सिफारिस गरिएको छ ?
२ वर्षमुनिका बालबालिका
५० वर्षमाथिका व्यक्ति
स्वास्थ्यकर्मी
गर्भवती महिला तथा फ्लु सिजनमा गर्भधारण गर्न चाहिने महिला
कमजोर रोगप्रतिरोधी क्षमता भएका व्यक्ति
६ महिनादेखि १८ वर्ष उमेरका व्यक्ति जसले एस्पिरिन र सेलिसेलेटजस्ता औषधि लिइरहेका व्यक्ति
दम, मुटु रोग, मिर्गौला रोग, कलेजो रोग तथा मधुमेह आदि रोग भएका
४० भन्दामाथि बडी मास इन्डेक्स भएका व्यक्ति
खोपको मूल्य कति पर्छ ?
नेपालमा सरकारी स्तरबाट यो खोप उपलब्ध छैन । नेपालमा निजी तवरबाट यो खोप उपलब्ध छ । फ्लुविरुद्धको खोप हाल २८ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्ममा पाइन्छ । विभिन्न औषधि उत्पादक कम्पनीका खोप अहिले बजार उपलब्ध छन् । जसमध्ये सानोफी, फाइजर र एबोट प्रमुख हुन् ।