‘सिद्धान्त र गणितमा आधारित भएकाले वास्तु पनि विज्ञान नै हो’

घर-भवन निर्माण गर्नुअघि वास्तु हेराउने प्रचलन छ । वास्तुद्वारा त्यसको संरचना, दिशा लगायतका कुरा निर्धारण गरिन्छ । के घर-भवन निर्माण गर्दा वास्तुशास्त्र अनुरुप बन्दोबस्ती गर्नुपर्छ ? वास्तु खासमा के हो ? यसको प्रभाव के हुन्छ ?

यसै सन्दर्भमा वास्तुशास्त्री सनम पाठकसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानी :

वास्तु के हो ? यसलाई सरल रूपमा कसरी बुझ्ने ?

वास्तु भन्ने शब्दले नै जनाइरहेको छ कि वस्तु । हरेक चिजको एउटा भाइब्रेसन हुन्छ । त्यो जीवित होस् वा निर्जीव तिनीहरूको आफ्नो-आफ्नो एउटा ऊर्जा हुन्छ । त्यो चिजलाई कसरी पंक्तिबद्ध गरेर राख्छौ त्यो कुरा महत्वपूर्ण हुन्छ । संसारमा भएको हरेक चिजसँग अलग-अलग ऊर्जा हुन्छ । वास्तुले हामीलाई यस्तो ज्ञान दिन्छ जसले हामी राम्रो ऊर्जालाई जीवनसँग मिलाउन सक्छौं ।

प्रायः वास्तुको कुरा गर्दा अमूर्त तर्क गरिन्छ, ग्रह-नक्षत्रको कुरा जोडेर यसको अर्थ लगाइन्छ । एकदमै सामान्य मान्छेले यसलाई कसरी बुझ्ने त ?

सामान्य भाषामा भन्दा हरेक मान्छेसँग एउटा शक्ति वा औंरा (आत्मिक सौन्दर्य) हुन्छ । त्यो औंरालाई अर्को औंरासँग कसरी मिलाउने भन्ने चिज नै वास्तुशास्त्र हो । अहिलेको मोडर्न अवस्थामा चाहिं त्यसलाई आर्किटेक्चर साइन्स भनेर बुझ्छौं हामी । कुनै पनि चिजलाई कसरी मिलाएर राख्ने ताकि त्यसले हाम्रो औंरासँग सकारात्मक कुरा जोडिदियोस् भन्ने नै वास्तु हो ।

वास्तुशास्त्री सनम पाठक
वास्तु विज्ञान हो वा होइन ?

विज्ञान भनेको यस्तो चिज हो, जहाँ एउटा तर्कपूर्ण सोच हुन्छ । जहाँ सिद्धान्त हुन्छ त्यहाँ विज्ञान आउँछ र जहाँ सिद्धान्त हुँदैन त्यहाँ विज्ञान आउँदैन । त्यसैले वास्तुशास्त्र सिद्धान्त र गणितमा आधारित भएको हुनाले यो विज्ञान हो । वास्तुमा हरेक कुराको एउटा सिद्धान्त, नियम र आधार हुन्छ यसै कारणले गर्दा वास्तु विज्ञान हो ।

वास्तु विज्ञानले मूलतः के कुरालाई महत्त्व दिन्छ ?

वास्तुशास्त्र हाम्रो लागि यस आधारमा पनि अर्थपूर्ण छ कि यसमा ब्रह्माण्डमा भएको पञ्चतत्त्व वायु, पृथ्वी, जल, आकाश र अग्नि समावेश छ । हाम्रो शरीर पनि पञ्च तत्त्वले बनेको छ । त्यसैले हामी पनि यो ब्रह्माण्डको एउटा पाटो भएकाले त्यही पञ्च तत्त्वलाई पंक्तिबद्ध गरेर सकारात्मक र नकारात्मक गर्ने कारक नै वास्तु हो । त्यही भएर वास्तु शास्त्रलाई हाम्रो तत्त्व अनुसार चलाउन जान्यौं भने यसले हामीलाई फाइदा गर्छ ।

वास्तवमा कुनै पनि व्यक्तिलाई ग्रहले दिने ऊर्जा वा त्यसले पार्ने असर भनेको ५० प्रतिशत हुन्छ भने ५० प्रतिशत चाहिं हाम्रो कर्म । भाग्य र वास्तुको संयोजनको आधारमा नै हामीले हाम्रो दैनिकी गुजारिरहेका हुन्छौं ।

घर निर्माण गर्दा वा कुनै पनि संरचना बनाउँदा किन वास्तु हेराइन्छ ?

लिच्छवीकालदेखि नै हाम्रो पूर्वीय दर्शनलाई हेर्ने हो भने वास्तुको सिद्धान्त अनुसार नै संरचनाहरु बनाइएको हुन्छ । पुरानो मन्दिर, मस्जिद र चर्च जहाँ प्रार्थना हुन्छ त्यो ठाउँमा जाँदा हामीले एक प्रकारको ऊर्जा महसुस गर्छौं । त्यो वास्तुको ऊर्जाको कारणले हामीले त्यस्तो महसुस गरेका हुन्छौं ।

वास्तु अनुसार घर तथा कुनै पनि संरचना निर्माण गर्दा एक प्रकारको सकारात्मक ऊर्जा प्राप्त हुने भएकाले वास्तु हेराइन्छ ।

वास्तु अनुरूप घर-भवन निर्माण गर्दा के फरक पर्छ ? त्यसले के कस्तो प्रभाव पार्छ ?

तपाईंले बस्ने घर, काम गर्ने कार्यालय जहाँ तपाईं लामो समय बिताउनुहुन्छ । त्यस्तो ठाउँमा यदि हामीले वास्तुशास्त्र अनुसार डिजाइन गरियो भने हामीले सकारात्मक ऊर्जा प्राप्त गर्न सक्छौं । जसरी मन्दिर जाँदा हामीले एउटा छुट्टै प्रकारको सकारात्मक ऊर्जा प्राप्त गर्छौं त्यसरी नै घरमा पनि एक प्रकारको सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

वास्तु अनुसार घर बनाउँदा के के कुरामा ख्याल गरिन्छ ?

आजका दिनमा कुनै पनि घर बनाउन वास्तुको ऊर्जालाई राख्ने विचार गरिन्छ । प्रत्येक मान्छेको जन्म कुण्डलीको जुन अवस्था हुन्छ । त्यसको आधारमा पनि एउटा वास्तु बन्छ । स्थिर वास्तु र चलायमान वास्तु । हरेक मान्छेको ऊर्जासँग मिलाएर बनाउने हो भने त्यसको वास्तुशास्त्र नै फरक हुन्छ । कुनै घरमा पूर्वमा मेन गेट राखिएको छ भने एउटा व्यक्तिलाई त्यो वास्तु सुहाउँछ भने अर्को व्यक्तिलाई नसुहाउन सक्छ ।

त्यसकारण घर बनाउँदा त्यो घरमा बस्ने मान्छे वा घर धनीको वास्तुसँग मिलाएर बनाउनुपर्छ । तर यदि धेरै जनाले प्रयोग गर्ने संरचना मन्दिर, मल आदिमा भने चलायमान वास्तु प्रयोग गर्नुपर्छ ।

घर कुन दिशामा बनाउन उपयुक्त हुन्छ ? घरको मोहडा कता फर्किएको हुनुपर्छ ? यसले घरमा के कस्तो प्रभाव पार्छ ?

जग्गाको दिशा अनुसार नै निर्धारण हुन्छ । वास्तुमा मुख्य प्रयोग हुने भनेको दिशा र पञ्च तत्त्व दुईवटा कुरा हो । हामीले सामान्य रूपमा दिशा हेर्ने हो भने पूर्व, पश्चिम, उत्तर र दक्षिण चार प्रकारका छन् । वास्तुशास्त्रमा भने त्यो चार दिशालाई १६ वटामा बाँडिन्छ । त्यसकारण कुरा एकदमै गहिरो छ । सार्वजनिक रूपमा प्रयोग हुने संरचना बनाउँदैछौं भने दक्षिणको तेस्रो पदलाई लिएर बनाइयो भने सबैको लागि शुभ हुन्छ । तर कुनै व्यक्तिको लागि घर बनाउँदैछौं भने त्यो व्यक्तिको ऊर्जासँग मिलाएर बनाउनुपर्छ ।

भान्सा, बाथरुम, भर्‍याङ, बैठक कोठा, शयन कोठा कुन दिशामा हुनुपर्छ ? किन ?

सामान्यतया वास्तुशास्त्र र ज्योतिषशास्त्रलाई जोड्ने हो भने एष्ट्रो वास्तु बन्छ । एष्ट्रो वास्तुलाई प्रयोग गर्ने हो भने उत्तरपश्चिमको जुन दिशा हुन्छ त्यसबाट अवसर र आशीर्वाद प्राप्त हुन्छ । त्यो अवसर प्राप्त हुने दिशामा यदि हामीले ट्वाइलेट बनायौं भने त्यो दिशाबाट आउने ऊर्जा र अवसरलाई दूषित बनाउँछ । त्यसैले उत्तरपश्चिमको दिशामा ट्वाइलेट बनाउनु हुँदैन ।

उत्तरपूर्वको दिशालाई बृहस्पति ग्रहको हिसाबले मान्छौं । यदि बृहस्पति ग्रह तपाईंको जन्म कुण्डलीमा सकारात्मक स्थानमा छ । जसले राम्रो परिणाम दिन लायक छ भने त्यो ठाउँमा बाथरुम बनाएर ब्लक गर्‍यौं भने त्यो परिणाम प्राप्त नहुन सक्छ ।

उत्तर भनेको पानीको दिशा हो यदि त्यहाँ भान्सा बन्छ भने आगो निभ्ने भयो । यसको मतलब जन्मकुण्डलीमा गएर कुन ग्रहको लाभ प्राप्त गर्नुपर्ने हो त्यो कुरा लाभ नहुन सक्छ । त्यसैले भान्सालाई दक्षिणतर्फ बनाउनु उपयुक्त हुन्छ । सबै घरमा एउटै वास्तु लागु नहुन सक्छ किनकि यो एकदमै गहिरो विषय हो ।

वास्तु विज्ञान अनुसार घर आसपासमा के कस्ता वनस्पति रोप्नु उपयुक्त मानिन्छ ?

वनस्पति मुख्यतया दुई प्रकारको हुन्छ । एउटाले ऊर्जा सोस्छ भने अर्कोले ऊर्जा दिन्छ । त्यसैले घरको वरपर ऊर्जा दिने खालको वनस्पति रोप्नुपर्छ । जस्तो तुलसी यसले ऊर्जा र अक्सिजन दिन्छ । तर एलर्जीलाई सोस्ने पिपल जस्तो वनस्पति भने घरको वरपर रोप्नु उपयुक्त हुँदैन । घरको अगाडि भागमा धेरै अग्लो वा छाया दिने खाले बिरुवा नरोप्नु नै राम्रो हुन्छ । साना बिरुवा जसले अक्सिजन दिन्छ त्यस्तो बिरुवा जस्तै तुलसी, मनी प्लान्ट जस्ता बिरुवा भने रोप्नु एकदमै उपयुक्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *