सावधान ! खाँदै मोबाइल चलाउनु हुन्छ ?

    खाना खाने बेला फोन नचलाऊ । कम्तीमा खानेबेला त मोबाइललाई आराम देऊ ।’यी वाक्य प्रायः घरघरमा सुनिन्छ । तर यस्ता सुझाव र अपिलहरू सधैं खेर जान्छन् । विशेषगरी बालबालिका, किशाेर र युवामा यस्तो बानी विकास भएकाे छ ।

    हातले खाना उठाएर मुखमा लगाइरहेका त हुन्छन्, तर सम्पूर्ण ध्यान मोबाइल र ल्यापटपको स्क्रिनमै केन्द्रित हुन्छ ।गेम खेल्दै, फिल्म हेर्दै वा च्याट गर्दै खाना खाने पुस्ताकाे जमात बढ्दाे छ । अझ बालबालिका त यति हठी स्वभावका बनिसकेका छन् कि, फोनबिना खानै मान्दैनन् ।

    वास्तवमा परिवारका सदस्यबीचको सम्बन्धलाई बलियो बनाउने एउटा माध्यम भनेको परिवारिक माहोलमा हुने खानपानको परम्परा पनि हो । तर अहिलेको आधुनिक जीवनशैलीमा मानिसहरु आफैंमा यति धेरै व्यस्त छन् ।

    बच्चाहरुलाई महत्वपूर्ण संस्कार सिकाउनुपर्ने अभिभावक नै खाना खाने समयमा मोबाइल र ल्यापटपमा स्क्रिन स्क्रोल गरिरहेका हुन्छन् ।यसैको असर अहिलेका अधिकांश बालबालिकामा देखिएकाे छ । एक/दुई वर्षदेखिका बालबालिकाहरु आरामले मोबाइलमा आफ्नो समय बिताइरहेका हुन्छन् ।

    रुँदा फकाउन होस् वा खाना खानलाई भुलाउन । वा अभिभावकको काममा डिस्टर्ब नगरुन् र चकचक नगरी बसुन् भनेर बुवा-आमा, दाइ-दिदीले मोबाइल, ट्याब्लेट ढुक्कैले बच्चालाई छोडिदिन्छन् ।

    यसै पनि बालबालिकालाई उनीहरुको खुराक पुरा गराउनु अभिभावकका लागि संसारकै गाह्रो काम हुन्छ । त्यसमाथि हातमा मोबाइल थमाइदिने स्वभावले यसलाई अझै खराब बनाइदिएको छ ।

    खानपानको समयमा बालबालिकालाई मोबाइल चलाउन दिँदा यसले गम्भीर असर पार्ने स्वास्थ्य चिकित्सक तथा मनोविदहरु बताउँछन् ।स्मार्टफाेन पहुँच भएका परिवारमध्ये ९० प्रतिशत बालबालिकाहरु दुई वर्ष पुग्नुअघि नै स्मार्टफोनमा रमाउने गरेको एउटा अनुसन्धानले देखाएको छ ।

    मस्तिष्क विकास हुने यो प्रारम्भिक उमेरमा यस्तो किसिमको बानी बालबालिकाहरुका लागि निकै घातक हुने वैज्ञानिकहरु बताउँछन् ।आज हामी तपाईंलाई खाना खाने समयमा मोबाइल तथा ल्यापटप चलाउँदा पर्ने असरहरुका बारेमा छाेटाे जानकारी दिँदै छौं ।

    १. खाने बानीमा प्रत्यक्ष असर

    खाने बानीलाई बाहिरका डिस्ट्रयाक्टिङ तत्वहरुले धेरै असर गरिरहेको हुन्छ । यदि तपाईंको बच्चामा पनि धेरै खाने वा थोरै खाने बानी छ, यसको मूल कारण एकपटक खोतल्नुहोस् । कहिलेकाहिँ यो बानी उनीहरुको मोबाइल प्रयोग गर्ने बानीसँग पनि जोडिएको हुनसक्छ ।

    सामान्यतः बालबालिकामा खेल्दै खाने बानी हुन्छ । जब यी बालबालिकाको ध्यान मोबाइलमा मोडिन्छ, तब उनीहरुको सम्पूर्ण मस्तिष्क मोबाइलमै केन्द्रित हुन्छ । कुन बेला पेट अघायो वा पेट अघाएको छैन, थाहा नभए पनि उनीहरु खाइरहन्छन् ।खानामा ध्यान केन्द्रित गर्न नसक्दा आवश्यकताभन्दा धेरै वा कम खाइरहेको छु भन्ने कुरा उनीहरुले थाहा पाउन सक्दैनन् ।

    २. राम्रोसँग चपाउन सकिँदैन

    खाना खाने क्रममा पाचन प्रणालीलाई पनि ध्यानमा राख्नुपर्छ । पाचन प्रणाली बिग्रिएको खण्डमा बच्चा बिरामी पर्न सक्छन् । तर जब बच्चाहरु खाना खाने समयमा मोबाइल खेलाउन थाल्छन्, तब उनीहरु खाना राम्रोसँग चपाउन बिर्सिन्छन् ।यसले पाचन प्रणालीलाई धेरै असर पुर्‍याउने चिकित्सकहरु बताउँछन् । साथसाथै यसले घाँटीमा खाना अड्किने पनि समस्या पैदा गर्न सक्छ ।

    ३. मोबाइल दुर्व्यसनीको खतरा

    बालबालिकालाई खाना खुवाउन वा फकाउनलाई यदि तपाईं पनि मोबाइल र रमाइला भिडियोहरुको सहारा लिनुहुन्छ भने यो बानीलाई आजैबाट त्यागिदिनुहोस् ।खाना खाँदा मोबाइल हेरेर खाना खाने बानी बसिसकेपछि कुनै पनि हालतमा यो छुटाउन धेरै गाह्रो पर्छ ।

    ४. समग्र स्वास्थ्यका लागि हानिकारक

    खाना खाने समयमा मोबाइल प्रयोग गर्ने बानी सबै उमेर समूहका मानिसहरुको स्वास्थ्यका लागि हानिकारक छ । जब भोजन समयलाई तपाईं प्रविधिसँग जुधाउनुहुन्छ, तब यसले स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु देखा पर्छन् ।

    पोषकविदहरुका अनुसार खाना खाने समयमा स्मार्टफोनको प्रयोगले शरीरमा भएकाे क्यालोरीको संख्यालाई असर गर्दछ । खाना खाँदा ध्यान अन्य कुरामा लागे यसले क्यालोरी इन्जेसनलाई १५ प्रतिशतसम्म बढाउँछ ।

    यस्तो बानीले उमेर र लिङ्ग अनुसार क्यालोरिक र लिपिड इन्टेकलाई बढाउँछ ।खाना खाने समयमा मोबाइल प्रयोगले शरीरमा विभिन्न असर गर्दछ । जस्तै शरीरको पोस्चरलाई असर गर्ने, घाँटी र ढाड बाङ्गो हुने ।

    अति खाने हुँदा यसले भोक नलाग्ने तथा डायबेटिजको समस्या पनि उत्पन्न गराउन सक्छ । अल्सर, कम तौल, शरीर समयअनुसार नबढ्ने विभिन्न समस्या उत्पन्न हुन्छन् । यसले अर्फिडजस्तो ‘इटिङ डिसअर्डर’ पनि जन्माउँछ ।मुख र स्क्रिनमा हात डुलाउँदा किटाणु सर्ने खतरा पनि त्यतिकै हुन्छ । यसले शरीरलाई पनि सेल फोनको रेडियसनसँग नजिक ल्याउँछ ।

    ५. पारिवारिक सम्बन्ध कमजोर

    माथि भनिएको जस्तै खानपिनको परम्पराले सधै पारिवारिक जमघटको माहोल सृजना गर्छ । तर यदि तपाईं खाना छोडेर सधै मोबाइलमै झुम्मिनुहुन्छ भने तपाईसँग बसिरहेको व्यक्तिलाई तपाईंको स्वभाव रुखो र अशिष्ट लाग्न सक्छ । साथै यसले परिवारजनबीच भावनात्मक दूरी पनि बढाइदिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *