रिस उठेको बेला किन जोडसँग ढोका लगाइन्छ ? विज्ञान यसो भन्छ

के तपाईं पनि रिस उठेको बेला जोडसँग ढोका बन्द गर्नुहुन्छ ? सायद सबैजनाको यो साझा बानी हो । रिस देखाउनका लागि जोडसँग ढोका बजार्नु वा चर्को आवाजमा भाँडा बजाउनु केवल एक दुईजना मानिसको मात्र आनीबानी होइन, यो मानिसको प्राकृतिक प्रतिक्रिया हो ।

विज्ञानलाई मान्ने हो भने यो एक प्रकारको भेन्टिङ इफेक्ट हो, जसबाट रिस कम हुन्छ । तर रिस कम हुनुको अर्को एक कारण पनि छ, जस अनुसार जब हामी कुनै ढोका पार गर्दछौँ अर्को कोठाको इमोसन हल्का हुनजान्छ ।

सायद घरको ढोकाले दुनियाँमा मानिसको सबैभन्दा धेरै रिस झेलेको हुन्छ । बच्चादेखि बुढासम्मले रिस पोख्नका लागि घरको ढोकालाई नै तारो बनाउँछन् ।

ढोका ढ्याम्म लगाएसँगै केही बेरपछि रिस पनि कम हुन थाल्छ । यसको पछाडि ढोकाको ढ्याम्म आवाज वा आफ्नो तत्कालिक शत्रुलाई दु:ख दिएबाट प्राप्त भएको राहत होइन पूर्णरुपमा मनोविज्ञानले काम गरेको हुन्छ ।

विज्ञानका अनुसार जब हामी कुनै कोठा हुँदै ढोका नजिकै पुग्छौँ र त्यसलाई पार गर्दछौं तब हामीले पूराना कुरा बिर्सिन्छौं । यो निकै छोटो समयका लागि हुन्छ, केही सेकेण्डसम्मका लागि । तर यत्ति नै समय हाम्रो रिस कम गर्नका लागि पर्याप्त हुन्छ । मनोविज्ञानबेत्ताहरु यसलाई डोर इफेक्ट वा डोर थ्रेसहोल्ड सिद्धान्त भन्दछन् ।

सन् २००६ मा ग्याबि्रयल ए रेडवेन्स्कीले डोरवे इफेक्टका विषयमा सुरुआती अध्ययन गरेका थिए । त्यसक्रममा झण्डै तीन सय मानिसमा पहिलो प्रयोग भएको थियो, त्यसपछि सो प्रयोग विभिन्न चरणमा चलिरह्यो । उक्त अध्ययनमा के तथ्य पत्ता लाग्यो भने जब मानिसहरु एकबाट अर्को कोठामा आउनका लागि ढोका पार गर्दछन् त्यसबेला केही बेरका लागि पूरानो कोठाको उनीहरुको सम्झना मधूरो हुन्छ । चाहे रिसमा ढोका ढ्याम्म लगाएर अर्को कोठामा छिरिएको होस् वा सुटुक्क छिरिएको होस् । डोरवे इफेक्टकै कारण हामीलाई पूराना कोठाका मनोभावनाहरु केही कमजोर हुन्छन् । रिसको अलावा यो कुरा अन्य भावनाहरुमा पनि लागू हुन्छ ।

सन् २०२१ मा अष्ट्रेलियाको बन्ड विश्वविद्यालयमा पनि डोरवे इफेक्टका विषयमा अध्ययन गरिएको थियो । मनोवैज्ञानिक ओलिभर बोमेनले त्यसमा वास्तविक कोठाका अलावा भर्चुअल कोठा पनि थप गरे । त्यसक्रममा के पत्ता लाग्यो भने यदि मानिस भर्चुअल तरिकाबाटै भएपनि एक ठाउँबाट अर्को ठाउँमा गएमा पूराना चिजहरु भुल्दछ । सोही कारणले गर्दा कुनैपनि ससक्त मनोभावना समेत ठाउँ परिवर्तनसँगै हलुका हुन थाल्दछन् । त्यसैले तनाव वा डिप्रेसनका बिरामीलाई प्रायः हावापानी परिवर्तन गर्ने सल्लाह दिइन्छ ।

ढोका बन्द गर्दा रिस कम भएको अनुभूति हुने अर्को कारण पनि छ । ढोका ढ्याम्म लगाउँदा जुन आवाज निस्किन्छ त्यसले दिमागलाई सन्तुलित बनाउन सहयोग गर्दछ । आवाज सुनेसँगै मानिसको मनमा एकप्रकारको हीनताबोध पैदा हुन्छ र त्यसले मानिसलाई धेरथोर गल्ती आफुबाट पनि भएको महसुस गराउँदछ । त्यहीँ कारण ढोका जोडसँग लगाएसँगै मानिसको रिस केही मात्रामा शान्त हुन्छ । आमरुपमा किशोर किशोरीमा यस्तो प्रवृत्ति बढी देखिन्छ ।

आवाजसँग मनोभावना अर्थात् इमोसनको गहिरो सम्बन्ध छ । खासमा रिस वा दु:खको बेला ठूलो आवाजले चिच्याउनुले धेरै हदसम्म हलुका हुन सहयोग गर्दछ । मनोवैज्ञानिकहरुका अनुसार यदि चरम संवेगका बेला चिच्याउने हो भने त्यसले भावनाहरुलाई नियन्त्रण गर्न सहयोग पुग्दछ । त्यसलाई प्राइमल स्क्रिम थेरापी पनि भनिन्छ ।

६० को दशकमा सबैभन्दा पहिले मनोवैज्ञानिक आर्थर जेनभले यो विषयमा विश्लेषण गरेका थिए । बाल्यकालमा कुनै पीडाबाट गुजि्रएका व्यक्तिहरुमा अध्ययन गर्ने क्रममा उनले स्क्रीमिङ थेरापीको सहायता लिएका थिए र त्यसले उनीहरुलाई फाइदा पुगेको पाइयो । तत् पश्चात् विज्ञहरुले लगातार यस विषयमा अध्ययन गरिरहेका छन् ।

कोभिड महामारीका बेला मानिसहरु घरभित्रै बन्द रहेको बेला वैज्ञानिकहरुले यहीँ थेरापी अपनाउने सल्लाह दिएका थिए । यसो गर्दा हाम्रो सरीरमा इन्डोफिर्न हर्मोन निस्किन्छ, जसले तनाव कम गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *